नागरिकले सहज तरिकाले खोप लगाउन पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन

  २०७७ चैत २४ गते १८:२४     विकासन्युज

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले नागरिकले सहज र सरल तरिकाले कोभिड-१९ विरुद्धको खोप लगाउन पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबारको बैठकमा कोभिड-१९ को सम्बन्धमा सरकारको तयारी र खोप सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीसँग छलफल गरेपछि खोप अभियानलाई सहज र सरल बनाउन निर्देशन दिएको हो ।

समिति सभापति जयपुरी घर्तीले खोपको विषयमा अहिले सम्म सरकारले राम्रो काम गरिरहेको भएपनि सबै नागरिकले खोप पाउने सुनिस्चितता गर्ने गरी थप कार्य गर्न निर्देशन दिए । कोभिड-१९ संक्रमण भएका बिरामीले अस्पतालमा सहजै आईसीयू र अक्सिजन पाउने सुनिस्चितता गर्न समेत समितिले निर्देशन दिएको छ । यस्तै कोभिडको दोस्रो लहर आउने देखिएकाले अहिलेदेखि नै आइसोलेसन र क्वारेन्टाइनको निर्माण गर्न र त्यसको व्यवस्थापनमा गम्भिर बन्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।

अस्पतालहरुमा दक्ष जनशक्ति व्यवस्थापन गर्ने कुरामा विशेष जोड दिएर अगाडी बढन पनि समितिले निर्देशन दिएको छ । यस्तै कोभिड र ननकोभिडका बिरामीहरुको उपचार गर्ने विषयमा अहिलेदेखि नै योजना बनाउन र त्यसलाई कार्यान्वयन गर्ने गरी अस्पतालहरु तोक्न पनि भनेको छ । यसबाहेक पीसीआर परीक्षणको रिपोर्ट समयमै उपलब्ध गराउने तर्फ गम्भिर बन्न समेत सरकारलाई निर्देशन दिएको छ ।

कोभिड लागेका बिरामी र ननकोभिडका बिरामीलाई बोक्ने एम्बुलेन्स छुट्याएर कार्यान्वयन गर्न पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । यसबाहेक दोस्रो चरणको कोभिडबाट बच्न जनचेतनाका कार्यक्रमहरु लागू गर्न र सरकारी निकायहरुबीच आवश्यक समन्वय बढाई व्यवस्थित गर्न पनि निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.