एसएमईजलाई ऋण सहजीकरण गर्न महासंघ र डेभलपमेण्ट बैंकर्स एशोसिएसनबीच सहमति

  २०७७ चैत २२ गते १८:२०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल बीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसएमईजहरू) को वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र उपाध्यक्ष अन्जन श्रेष्ठ, एशोसिएसनका प्रथम उपाध्यक्ष प्रध्युम्मन पोखरेलको समुपस्थितिमा भएको समझदारीपत्रमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष गोविन्द प्रसाद ढकालले आज एक कार्यक्रमबीच काठमाडौंमा हस्ताक्षर गरेका हुन् ।

दुवै संस्थाबीच भएको समझदारी अनुसार एशोसिएसनका सदस्य विकास बैंकहरूलाई लघु, घरेलु साना तथा मझौला उद्योगहरूको माग अनुसार सरल एवं सहज रूपमा कर्जा प्रवाह गर्न सहजीकरण गर्ने, व्यवसायीहरूलाई कर्जा शिक्षा, बचत र लगानीका फाइदा, कर्जा प्रक्रिया, कर तथा बजार व्यवस्थापन सम्बन्धी जानकारी दिन कार्यक्रम संचालन गर्ने, उत्पादनमुलक व्यवसाय र रोजगारी सिर्जना गर्ने व्यवसायको प्रवद्र्धनका लागि सहयोग पुग्ने किसिमका कार्यक्रम संचालन गर्ने, उपयुक्त वित्तीय सेवाहरूको छनौट र प्रयोग गर्न सक्ने क्षमता विकास गराउने र भविष्यमा आउन सक्ने जोखिमहरूका लागि तयारी वा योजना बनाउन सक्ने ज्ञान र सीप प्रदान गर्ने, कृषि कर्जा, महिला उद्यमी कर्जा, लघु, घरेलु, साना तथा मझौला उद्योगहरूलाई प्रवाह गरिने कर्जालाई प्राथमिकतामा राखी प्रविधि मैत्री बनाउने र त्यसका लागि उचित तालिमको व्यवस्था मिलाइने छ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै महासंघका उपाध्यक्ष श्रेष्ठले एसएमईजले विशेष गरी ऋणको सहज पहुँचमा भोग्दै आएको समस्यालाई यो प्रयासले संवोधन गर्ने विश्वास व्यक्त गरे । मुलुकभित्रको कुल रोजगारीमा करिब ९५ प्रतिशत योगदान एसएमईजकै भएकाले यो समझदारीले एसमएमईजहरू फस्टाउन विशेष सहयोग पुग्ने बताए ।

महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीवी बस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहतको महशुस गर्ने र यो सहकार्य मुलुकभित्र एसएमईजको विकासमा कोशेढुंगा हुने विश्वास प्रकट गरे ।

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष गोविन्द प्रसाद ढकालले लघु, घरेलु साना तथा मझौला व्यवसायको प्रबद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतका सेवा प्रवाहमा सहजीकरण गराउने उद्देश्यले डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र महासंघ बीचको सहकार्यलाई परिणाममुखी बनाउने प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.