पुँजी वृद्धिको लहर ल्याउँदै बीमा कम्पनीहरु

  २०७७ चैत २२ गते १०:२४     मञ्जरी पौडेल

काठमाडौं । यही चैत ९ गते शिखर इन्स्योरेन्सको वार्षिक साधारणसभाले कम्पनीको पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्यो । सभाले गत वर्षको नाफाबाट २७.७६ प्रतिशत बोनस सेयर जारी गर्ने र त्यसपछिको पुँजीमा ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने सञ्चालक समितिको निर्णय पारित गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँ छ । बोनस र हकप्रदपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २७ करोड रुपैयाँभन्दा बढी हुन्छ । कम्पनीको सोही साधारणसभाले अधिकृत पुँजी ४ अर्ब रुपैयाँ बनाउने निर्णय गरेको छ । त्यो भनेको कम्पनी ४ अर्ब रुपैयाँ पुँजी पुर्याउने बाटोमा अगाडि बढ्यो ।

गत शुक्रबार मात्र आईएमई जनरल इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने निर्णय गर्यो । कम्पनीले बोनस सेयर वितरण गरेपछि ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । १०० कित्ता बराबर ४० कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावलाई कम्पनीले आगामी साधारणसभामा लैजाँदैछ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ८ करोड रुपैयाँ छ । बोनस सेयर निष्काशन गर्दा १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ हुनेछ । त्यसपछि ४० प्रतिशत हकप्रद सेयर जारी गर्दा कम्पनीको चुक्ता पुँजी १ अर्ब ६२ करोड रुपैयाँ हुनेछ ।

त्यस्तै, गत साता मात्र अजोड इन्स्योरेन्स कम्पनीले पनि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय लियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ । हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ हुनेछ ।

उल्लेखित निर्णयले संकेत गर्दैछ कि बीमा कम्पनीहरुमा पुँजी वृद्धिको लहर आउँदैछ । दुई वर्षअघिसम्म बीमा कम्पनीहरुले नियामकले तोकेको पुँजी पुर्याउन सकेनन् भनेर आलोचना हुने गरेको थियो । बीमा समितिले तोकेको न्युनतम पुँजी निर्जीवन बीमा कम्पनीको लागि १ अर्ब रुपैयाँ र जीवन बीमा कम्पनीको लागि २ अर्ब रुपैयाँ पुँजी पुर्याउन बीमकहरुलाई हम्मेहम्मे परेको थियो । तर अहिले नियाकमले तोकेको न्यूनतम पुँजीको सीमाभन्दा माथि जान बीमा कम्पनीहरु स्वतस्फूर्त लागेका छन् ।

बीमा समितिले जोखिममा आधारित सम्पत्ति र दायित्व अनुपात अर्थात सल्भेन्सी मार्जिन तोकेकोले व्यवसाय वृद्धिको लयमा रहेका कम्पनीहरु पुँजी वृद्धिमा जुटेका अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री बताउँछन् ।

‘बीमा समितिले ल्याएको जोखिममा आधारित पुँजीको व्यवस्थालाई पालना गरेर अगाडि बढ्नुपर्नेछ । साथै हामी कम्पनीलाई बलियो बनाउँदै लैजाने, मर्जतिर ध्यान नदिने सोचका साथ पुँजी वृद्धि गर्न गइरहेका छौैं’, उनले भने ।

व्यवसाय वृद्धिका साथै कम्पनीको केन्द्रीय कार्यालयको लागि जमिन किन्ने, भवन बनाउने कार्य अगाडि बढाउन पनि कम्पनीको पुुँजी वृद्धि आवश्यक भएको आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत यूगेश भक्त बादे श्रेष्ठले बताए । कम्पनीको शाखा विस्तार तथा व्यवसाय विस्तारको लागि पनि पुँजी वृद्धि अनिवार्य भएको उनले बताए ।

गत पुस मसान्तसम्मकाे तथ्याङ्क

पुँजी वृद्धिमा कम्पनीहरु जोशिलो भएर अगाडि बढेपनि उनीहरुको व्यवसाय विस्तार भने राम्रो छैन । नेप्सेमा सूचिकृत १८ वटा बीमा कम्पनीहरुको सेयर पुँजी र विभिन्न कोषको रकमसहित कोर क्यापिटल ४० अर्ब ५६ करोड रुपैयाँ भैसकेको छ । गत आर्थिक वर्षमा २० वटा कम्पनीहरुले कुल वार्षिक बीमा शुल्क जम्मा २६ अर्ब रुपैयाँ आर्जन गरेको छन् । कोर क्यापिटलको ७० प्रतिशतभन्दा कम व्यवसाय हुँदा बीमा कम्पनीहरु स्वच्छ प्रतिस्पर्धाका बीच दिगो हुन नसक्ने जानकारहरु बताउँछन् ।

जीवन बीमा कम्पनीहरु पनि उही लाइनमा

जीवन बीमा कम्पनीहरुमा पनि पुँजीवृद्धिको लहर चल्दैछ । बीमा समितिले चुक्ता पुँजी २ अर्ब तोकेकोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ छ । हालै कम्पनीले ३१ प्रतिशत बोनस सेयर जारी गरी पुँजी वृद्धि कार्यलाई जारी राखेको छ ।

गत पुस मसान्तसम्मकाे तथ्याङ्क

नेशनल लाइफले पनि चुक्ता पुँजी ३ अर्ब ८ करोड बनाईसकेको छ । यी दुई बीमा कम्पनीको पुँजी वृद्धिले अन्य बीमा कम्पनीहरुलाई पनि पुँजी वृद्धि गर्न दबाव परेको देखिन्छ । साथै, सेयर बजारमा पनि बीमा कम्पनीहरुको सेयर मूल्यमा आएको उच्च वृद्धिको प्रभावले लगानीकर्ताहरु पुँजी वृद्धिमा प्रोत्साहित भएको जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.