इन्टरनेट सेवा विस्तारको तयारीमा सीजी कम्युनिकेशन

  २०७७ चैत १७ गते १०:४६     विकासन्युज

काठमाडौं । मोबाइल सेवा प्रदान गर्ने लाइसेन्स खारेज भएपनि चौधरी ग्रुप अन्तरगतको सीजी कम्युनिकेशनले इन्टरनेट सेवा विस्तारको तयारी थालेकोे छ ।

मोबिलिटी सेवाको अनुमतिपत्र खारेज भएको उक्त कम्पनीले फाइबर मार्फत इन्टरनेट सेवा सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार निर्माणको कार्य अगाडि बढाएको छ । अहिले सिजी कम्युनिकेसन बनेको तत्कालिन एसटीएम कम्पनीलाई मन्त्रिपरिषदबाटै निर्णय गरेर प्रदान गरिएको युनिफाइड लाइसेन्स खारेज भएपनि सिजीले इन्टरनेट सेवा प्रदान गर्न पाउने लाइसेन्सका आधारमा सो कार्य अघि बढाएको नेपाल दूरसंचार प्राधिकरण स्रोत बताउँछ ।

कम्पनीले इन्टरनेट सेवा सञ्चालनका लागि काठमाडौंमा आवश्यक पूर्वाधार तयारी अवस्थामा राखेको जानकारी आएको प्राधिकरणले जनाएको छ । कम्पनीको युनिफाइड लाइसेन्स खारेज भएपनि सीजीसँग इन्टरनेट सेवा प्रदायकको लाइसेन्स थियो ।

‘सोही लाइसेन्सको प्रयोग गरी फाइबर मार्फत सेवा प्रदान गर्न लागेको हामीलाई जानकारी आएको छ, लाइसेन्स पाएको हुँदा प्राधिकरणमा जानकारी गराउँनै पर्छ भन्ने वाध्यता छैन्, आधिकारीक रुपमा जानकारी नआएपनि मौखिक रुपमा विस्तारको तयारी भएको जानकारी आएको छ,’ स्रोतले भन्यो ।

प्राधिकरण स्रोतका अनुसार सीजीले फाइबर इन्टरनेट सञ्चालनमा ल्याउने तयारी स्वरुप प्वाइन्ट टु प्वाइन्ट फाइबर कनेक्सन, अप्टिकल लाइन, राउटर लगायतका आवश्यक उपकरण खरिद प्रक्रिया अगाडी बढाएको छ ।

दूरसञ्चार सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज भएको सीजी पब्लिक कम्पनीको रुपमा दर्ता भएको छ । कम्पनीले केही समय अगाडी मात्र कम्पनी रजिष्ट्रारको कार्यालयबाट पब्लिक कम्पनीको अनुमति लिइसकेको छ ।

ग्रामीण क्षेत्रका ३४ जिल्लामा सिमित मोबाइल सेवा संचालन गर्ने अनुमति पाएर २०६० सालमा एसटीएम टेलिकम स्थापना भएको थियो । सो कम्पनीलाई पुस्पकमल दाहाल नेतृत्वको सरकारले २०७४ जेठ तेस्रो साता युनिफाइड लाइसेन्स दिएको थियो । तर, दूरसंचार प्राधिकरणले २०७६ साल माघ १९ गतेदेखि लागू हुने गरी एसटीएमको युनिफाइड लाइसेन्स खारेज गरिदिएको थियो । सोही कम्पनी अहिले सिजी कम्युनिकेसन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.