बैंकिङ क्षेत्र बलियो र आकर्षक बन्दै गएको छ- कुमार लम्साल

  २०७७ चैत ७ गते २२:०९     विकासन्युज

कुमार लम्साल, प्रमुख कार्यकारी अधिकृत, नेशनल बैकिङ इन्स्टिच्युट

नेपालको बैंकिङ क्षेत्रका लागि तालिम, बैंकिङ कोर्ष सञ्चालन, नलेज कन्सल्टिङ, अनुसन्धान लगायत भूमिकामा नेशनल बैकिङ इन्स्टिच्युट अगाडि बढ्दैछ । नेपाल राष्ट्र बैंक र अधिकांश वाणिज्य बैंकको लगानी रहेको यो संस्थाको गतिविधि र यस भित्रको अभ्यास अन्य क्षेत्रको लागि पनि अनुकरणयोग्य छ । बैंकिङ क्षेत्रका अगुवाहरुसँग अन्तरक्रिया गर्ने, बैंकिङ क्षेत्रका गतिविधिलाई भित्रबाट हेर्ने, बुझ्ने र मार्गदर्शन गर्ने यस संस्थाको व्यवस्थापकीय नेतृत्व हाल कुमार लम्सालले गरिरहनु भएको छ । सानिमा, जनता र प्रभु बैंकमा प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी समेत समाल्नु भएका कुमार लम्शालसँग बैंक सञ्चालनको पनि झण्डै तीन दशकको अनुभव छ । प्रस्तुत छ नेशनल बैकिङ इन्स्टिच्युटका नयाँ प्रयास र बैकिङ क्षेत्रको विकास अवस्थाबारे केन्द्रीत विकास वहस ।


पछिल्लो समय नेशनल बैंकिङ इन्स्टिच्युटले के कस्ता कार्य गरिरहेको छ ?

नेशनल बैंकिङ इन्स्टिच्युट बैंकरहरुलाई तालिम दिने संस्था हो । नेपाल राष्ट्र बैंक, नेपाल बैंकर्स एसोसिएसनको सहभागितामा विगत १२ वर्ष अगाडि स्थापना भएको संस्था हो । हामीले बैंकरलाई तालिममार्फत ज्ञान प्रदान गर्ने, विभिन्न कोर्षको निर्माण गर्ने, जनशक्ति विकास र सर्टिफाइड गर्ने काम गर्छौं ।

विदेशका बैंकहरुमा लागू भएका कोर्षहरु बाहिरकै संस्थाहरुसँग सहकार्य गरेर हामीले ती कोर्षहरुलाई पनि नेपालमा लागू गर्ने गरिरहेका छौं । ती कोर्ष उपलब्ध गराउने, त्यहाँका अनुभवीहरुलाई नेपाल बोलाएर नेपालमा तालिमको आयोजना गर्ने काम हामीले गरिरहेका छौं । सम्बन्धित व्यक्तिलाई नेपाल ल्याएर होस् वा सहभागीहरुलाई विदेश पठाएर पनि तालिम प्रदान गर्ने काम गर्छौं । कसरी बैंकरलाई राम्रो ज्ञान प्रदान गर्न सकिन्छ त्यही किसिमले ‘ट्रेनिङ’ प्रदान गर्छौं ।

त्यससँगै ‘रिसर्च’ गर्ने भन्ने पनि हाम्रो ध्येय छ । त्यसलाई हामीले लागू गर्न सकेका छैनौं । अर्को, ‘एकेडमी प्रोग्राम’ छ । एकेडमी प्रोग्रामको काम शुरु गरिसकेका छौं । हामीले कोर्षहरु पढाउने काम गर्छौं । धेरैले पढ्न पनि शुरु गरिसकेका छन् । चौथो भनेको ‘नलेज कन्सल्टिङ’ हो । बैंकलाई कुनै किसिमको नयाँ प्रडक्टको बारेमा जान्नु पर्यो अर्थात अन्तर्राष्ट्रिय बैंक र नेपाली बैंकबीच के कस्तो ग्याप छ ? कुन विषयमा हामी चुकिरहेका छौं ? यस्ता किसिमका विषयमा हामीले अध्ययन गरेर त्यो ग्याप ब्रिज गर्ने काम हामी गर्छौं । डकुमेन्ट तयारी गरिदिने, पोलिसीहरु हेरेर त्यसमा के कुरा अपडेट गर्नु पर्नेछ भन्ने लगायतका विषयहरु हामी हेरिदिन्छौं । हामी रिसोर्स पुल गर्न सक्छौं ।

तपाईको पृष्ठभूमी कोर बैंकिङ नै हो । कोर बैंकिङ छोडेर ट्रेनिङ इन्स्टिच्यूटमा आउँदा कस्तो अनुभूति गरिरहनु भएको छ ?

पढाउने कुरा मेरो इच्छा र रुची नै हो । म बैंकिङमै हुँदा पनि समय मिल्यो भने पढाउँने काम गर्थें । सन् २००४ देखि २००७ सम्म मैले एमबीएलाई बैंकिङको कोर्ष नै पढाउने काम पनि गरेँ । मेरो एक्सपर्टीज ट्रेड फाइनान्स र क्रेडिट सम्बन्धी हो । त्यसभन्दा अगाडि पनि मलाई राष्ट्र बैंक र विभिन्न बैंकहरुले बोलाउँथे । म तालिम दिन्थेँ । यो संस्थामा कार्यकारी प्रमुख हुनुभन्दा अगाडि पनि दुई वर्ष पढाएर मात्रै बिताएँ ।

अहिले कति क्लास लिनु हुन्छ ?

भ्याइँदैन तर मौका पर्दा पढाइरहेको हुन्छु । समय मिल्यो र त्यस्तो किसिमको डिमाण्ड आयो भने मैले पढाइरहेको हुन्छु ।

अचेल तपाईंकाेमा विद्यार्थी को हुन्छन् ?

विद्यार्थी कोर्ष अनुसार हुन्छन् । डेपुटी सीईओसम्मका बैंकरलाई पढाउँछु ।

विश्वविद्यालयका विद्यार्थीहरुलाई पढाउने कक्षा र बैंकका डेपुटी सीईओहरुलाई पढाउने कक्षा कत्तिको फरक पाउनुहुन्छ ?

त्यो त अवश्य नै फरक भैहाल्छ नि । फर्म्याट नै फरक हुन्छ । डेपुटीहरुसँग व्यहारिकता बढी हुन्छ । मैलेभन्दा बढी उहाँहरुले बढी जानेको पनि हुन सक्छ । मलाई पनि सिकाई हुन्छ । सिनियर लेबलमा पुगेका बैंकर्सलाई पढाउने भन्दा पनि बढी छलफल हुन्छ । ज्ञान आदान प्रदान हुन्छ । अब आफूले पढाउँदा त उनीहरु पनि विद्यार्थीहरु नै हुन् । उनीहरुले मबाट केही अपेक्षा गरेका हुन्छन् । सिक्न त दुवै विश्वविद्यालयका विद्यार्थी र डीसीईओहरुको कक्षा दुबैबाट पाइन्छ । तर, त्यसमा लिमिट हुन्छ । आफूसँग इच्छा शक्ति हुनु पर्यो अहिले त सिकाईका धेरै विकल्प र माध्यमहरु छन् ।

तपाईंले यस संस्थाको नेतृत्व लिइसकेपछि संस्थाको संस्थागत संरचनादेखि अन्य पक्षहरुको वृद्धि विकासमा के परिवर्तन भयो ?

धेरै परिवर्तन भयो त म भन्दिन । तर, केही परिवर्तन भने पक्कै आएको छ । नलेज कन्सल्टिङ डकुमेन्टमै सीमित थियो । काम शुरु भएको थिएन । म आएपछि त्यो काम शुरु भयो । बैंकलाई चाहिने टुलको प्रयोग गरेर हामीले त्यसको दायरा बढायौं । रिक्स म्यानेजमेन्टको विषयमा पहिले त्यति धेरै थिएन । त्यसलाई महत्वका साथ अगाडि बढाएको छौं । बीचमा लकडाउनको कारण धेरै काम गर्न सकिएन । घरबाटै काम पनि गरियो ।

यो बीचमा पनि धेरै परिवर्तन भएको त म भन्न सक्दिन । तर, ट्रयाक (ट्रेनिङ, रिसर्च, एकेडमी प्रोग्राम र नलेज कन्सल्टिङ) लाई व्यवस्थित बनाउनको लागि धेरै काम गरेका छौं । रिसर्चको काम शुरु गर्दैछौं । एकेडमीमा केही पाठहरु थप्ने, इ-पुस्तकालय बनाउने प्रक्रिया शुरु भइसकेको छ । कोर्ष थप्ने काम पनि गरिरहेका छौं । सफ्टवेर विकासमा पनि काम गरिरहेका छौं ।

यस संस्थाको भावी योजना के छन् ?

हामीले केही कोर्षहरु बनाउनु छ । एउटा कोर्ष बनाउन ६ महिनादेखि एक वर्षसम्म समय लाग्छ । ब्रान्च म्यानेजर कोर्ष, कर्जाको कोर्ष, रिस्क म्योनजमेन्ट लगायतका कोर्षहरु निर्माण गर्ने काम गर्नेछौं । नलेज कन्सल्टिङको दायरा पनि बढाउँछौं ।

अर्को महत्वपूर्ण कुरा भनेको काठमाडौंका बैंकरले धेरै तालिम पाउँछन् तर दुर्गमका बैंकरले केही पाउँदैनन् । अहिले त हरेक पालिकामा बैंक पुगेका छन् । त्यहाँका बैंकर तालिमको पहुँचमा हुँदैनन् । अब हामीले ती पालिकामा गएर तालिम प्रदान गर्ने योजना बनाएका छौं । न्युनतम पनि १५ जना भेला हुन सक्ने ठाउँमा तालिम दिने योजना छ । हाम्रो यो पहिले नै योजना थियो तर बीचमै कोरोना आयो । अब बैंकर एसोसिएसनसँग समन्वय गरेर उनीहरुलाई तालिम दिन सक्यो भने राम्रो हुन्छ भन्ने मेरो बुझाई हो ।

भर्च्युअल माध्यमबाट ट्रेनिङ गर्यो भने खर्च मात्र होइन धेरै सहज पनि हुन्छ भन्ने विषय पनि आइरहेका छन्, तपाईंहरूले त्यसतर्फ कत्तिको गृहकार्य गर्नुभएको छ ?

हामीले पनि अनलाइन क्लासहरु गरि नै रहेका छौं । असारसम्म केही काम रोकियो । तर, त्यसपछि हामीले भर्च्युअल क्लासहरु शुरु गर्यौं । अहिले पनि निरन्तर रुपमा गर्दै आएका छौं ।

मार्केटले के मागिरहेको छ ?

मार्केटले ज्ञान मागिरहेको छ । अहिले एमबीएसँग कुरा गर्दा पनि प्रदेशमा तालिम चाहियो भनिरहनु हुन्छ । उहाँहरु प्रदेश भन्नुहुन्छ म पालिकामा सोचिरहेको छु । सर्टीफिकेसन काेर्ष चाहिरहेका छन् । वित्तीय साक्षरताका लागि पनि विभिन्न क्षेत्रबाट कुरा आइरहेको हुन्छ । रिक्स म्यानेजमेन्टको कुरा छ ।

वर्तमान बैंकिङ क्षेत्रको कुरा गरौं, अहिले तपाईंलाई च्यालेञ्ज गर्ने जनशक्ति आइरहेको छ वा काम चलाउ ?

नयाँ-नयाँ पढाई र सिकाई छ । नयाँ जोश जाँगर भएकाहरुमा अवश्य नै च्यालेन्ज गर्न सक्ने खालको क्षमता छ । अहिले पहिलेको जस्तो अवस्था पनि छैन । नयाँ सिकाईका माध्यमहरु पनि छन् । त्यसैले जनशक्ति राम्रो नै आइरहेको छ ।

तपाईंको बुझाईंमा बैंकिङ क्षेत्रमा रिक्स बढ्दो मात्रामा छ वा घट्दो क्रममा छ ?

मैले बाहिरबाट हेर्ने हो । बाहिरबाट हेर्दा रिक्स पक्कै पनि बढेको छ । रिक्स बढ्नुमा २/३ वटा कारणहरु छन् । पुँजीको साइज बढ्दै गएपछि रिक्स अवश्य पनि बढ्छ । रिक्स बढ्दैमा बैंकहरु आतिनु पर्ने अवस्था भने छैन । जे गर्छु भनेर र जुन कामका लागि बैंक खुलेका हुन् त्यो गर्नु नै पर्छ । बैंकको उद्देश्य भनेको रिक्स लिएर पैसा कमाउने हो । रिक्स मात्रै हेरेर हुँदैन । आज कुनै ठाउँमा शाखा खुल्यो भने त्यस ठाउँमा फ्रड हुने सम्भावना पनि बढ्छ । ग्रो हुँदै गर्दा रिक्स बढ्नु पनि सामान्य नै हो । यो स्वभाविक हो । तर, त्यसलाई कसरी व्यवस्थापन गर्ने र कसरी सन्तुलित गर्ने भन्ने विषय मुख्य हो ।

तपाईंले पुँजीको साइजसँगै रिक्स पनि बढ्छ भन्नुभयो । तर, अहिले बैंकिङ क्षेत्रमा मर्जरले प्राथमिकता पाइरहेको छ, सानो पुँजी भएका बैंक मर्ज भएर ठूला भइरहेका छन्, त्यसो भए अब तिनीहरुमा रिक्स बढ्ने भयो ?

बैंकिङ क्षेत्रका लागि सबैभन्दा डर लाग्दो विषय भनेको अस्वस्थ प्रतिस्पर्धा नै हो । अस्वस्थ प्रतिस्पर्धा भयो भने त्यसले हानी हुने भनेको कर्जामा हो । प्राइसिङमा कम्प्रमाइज हुन्छ । नराम्रा विषयहरुले प्रशय पाउँछ । त्यसले रिक्स बढाउँछ । तर मर्जले अस्वस्थ प्रतिस्पर्धालाई हटाउँछ । संस्था कम भएपछि अस्वस्थ प्रतिस्पर्धा विस्तारै हटेर जान्छ । अर्को, पुँजी वृद्धिले रिक्सलाई बोक्न सक्ने क्षमता वहन पनि गर्न सकिन्छ । पहिले एउटा बैंकले दुई र अर्को बैंकले ३ रिक्स लिइरहेका थिए भने मर्जरपछि साढे दुई वा दुई रिक्स मात्र हुने भयो । रिक्सको दृष्टिकोणबाट हेर्दा मर्जर ठीक हो । तर, रिक्समा सबै कुरा पुँजीले मात्रै दर्शाउँदैन ।

विश्व बजारसँग नेपाली बैंकिङ क्षेत्रलाई तुलना गर्दा हामी कुन अवस्थामा छौं ?

मेरो विचारमा बैंकिङ क्षेत्रको विकासमा धेरै पछाडि पनि छैनौं र धेरे राम्रो काम पनि गरिरहेका छैनौं । प्रविधिमा हामी केही पछाडि छौं । विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने किसिमको प्रविधि हामीसँग छैन । त्यसमा विस्तारै विकास भइरहेको छ । कर्जामा पनि विस्तारै वृद्धि भइहरेको छ । व्यालेन्ससिटमा अहिले रिक्सको पाटो पनि सच्चिएर आएको छ । अहिले जुन खालको बजार छ धेरै चिन्ता लिनु पर्ने अवस्था पनि छैन ।

बैंकिङ क्षेत्रमा १०/२० पदमा भ्याकेन्सी खुल्यो भने पनि हजारौंको आवेदन पर्न थालेको छ । यसले बैकिङमा युवा पुस्ताको आकर्षित भएको पनि देखिन्छ । तर आवद्ध भईसकेको कर्मचारीमा निराशा पनि बढ्दो छ भनिन्छ । तपाईंले कस्तो पाउनुहुन्छ ?

अहिले नेपालमा ठूलो मात्रामा भ्याकेन्सी खोल्ने एउटा लोकसेवा र अर्को बैंकिङ क्षेत्रमा मात्र हो । यसलाई रोजगारी नभएको भनेर बुझ्ने कि आकर्षण भनेर बुझ्ने । जुन लेवलको आवश्यकता बैंकिङमा छ, जुन किसिमले ब्रान्चहरु पनि बढ्दै गएका छन्, त्यस हिसावले पनि बढी भ्याकेन्सी बढ्दै गएको छ । बैंकिङ क्षेत्रले ठूलो संख्यामा रोजगारी सिर्जना गरेको छ । यस क्षेत्रले दिने सेवा सुविधा पनि राम्रो छ । तसर्थ युवाहरु यो क्षेत्रमा आकर्षित नै हुने गरेका छन् ।

इन्ट्री लेवलमा जुन किसिमको क्रेज हुन्छ त्यो क्रेज भित्र गइसकेपछि पनि जीवित रहन्छ वा तनावमै बित्छ ?

तनाव पक्कै पनि छ । बैंकिङमा विकल्प छैन । त्यही भएर पनि मानिस तनावमै रमाइरहेका हुन्छन् ।

युवा पुस्तालाई तपाईंको सुझाव के हो ?

राम्रोसँग पढ्नुस् । जागिर खानुस् । बैंकिङको जागिर राम्रो छ । सुरक्षित पनि छ । वृद्धि विकासको अवसर पनि हुन्छ । माथिसम्म पुग्ने अवसर पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.