बक्यौता रकम भुक्तानी गर्न वायुसेवा कम्पनीका सञ्चालकको आलटाल

  २०७७ चैत ५ गते १३:०२     विकासन्युज

काठमाडौं । लामो समयदेखि बन्द भएका वायुसेवा कम्पनीका सञ्चालकले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम भुक्तानीमा आलटाल गर्दै आएका छन् । बन्द भएका ११ वटा कम्पनीका सञ्चालकले लामो समयसम्म बक्यौता रकम भुक्तानी नगरेपछि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले कम्पनीका सञ्चालकको खोजी थालेको हो ।

क्यानले सञ्चालक सम्पर्कमा नआएपछि एक महिनाको समय राखेर सम्पर्कमा आउन सार्वजनिक सूचना प्रकाशन गरेको थियो । उक्त समय फागुन २६ गते सकिएको छ । तोकिएको समयमा केही कम्पनीका सञ्चालकहरु सम्पर्कमा आएपनि रकम भुक्तानी नभएको क्यानले जनाएको छ ।

क्यानका प्रवक्ता राजकुमार क्षेत्री सम्पर्कमा आएका धेरै सञ्चालकहरुले आफू सञ्चालक नभएको लिखित जवाफ दिएको बताउँछन् । ‘हामीले नाम सार्वजनिक गरेकामध्ये अधिकाशं कम्पनीका सञ्चालकहरु सम्पर्कमा आउनु भएको छ । सम्पर्कमा आएकामध्ये नेकोन, शिवानी र कस्मिर एयरका अधिकाशं सञ्चालकले आफ्नो कुनै सम्बन्ध नभएको बताएका छन्’, उनले भने, ‘सञ्चालकको लिखित जवाफका आधारमा कम्पनी रजिष्ट्रार कार्यालयसँग आवश्यक कागजपत्र माग गरेका छौँ, उताबाट आएको जवाफका आधारमा थप अनुसन्धान गछौँ ।’

क्यानले अन्तिम एक पटक बाँकी बक्यौता रकम भुक्तानी गर्न समय थप गर्ने तयारी गरेकोे छ । ‘हामीले एकपटक बक्यौता रकम भुक्तानीका लागि मौका दिने तयारी गरेका छौँ, दोस्रो पटकको सूचनामा समेत सम्पर्कमा आएर रकम भुक्तानी नगरे बाँकी बक्यौता रकम भुक्तानीका लागि कुमारीचोकमा रहेको केन्द्रिय तहसिल कार्यालयलाई जिम्मा दिन्छौँ’, उनले भने ।

नेकोन एयर, शिवानी एयर, अल्पाईन एयर, गोरखा एयर, कर्णाली एयर, माउण्टेन एयर, कस्मिक एयर, सांग्रिला एयर, स्काईलाईन एयरवेज, एयर काष्ठमण्डप र नेपाल एयरवेज रहेका छन् । ११ वटा कम्पनी मध्येमा सबैभन्दा धेरै बक्यौता रकम नेकोन एयरको रहेको छ । उक्त एयरको बक्यौता रकम ४ करोड ७० लाख ६० हजार ७ सय ५५ रहेको छ ।

नेकोन पछि कस्मिक एयरको ३ करोड ४७ लाख ५८ हजार, शिवानी एयरको ५५ लाखा ५१ हजार, गोरखा एयरको २० लाख ३५ हजार रहेका छ । यस्तै, कर्णाली एयरको १७ लाख ४६ हजार, माउण्टेन एयरको १२ लाख ७३ हजार, कस्मिक एयरको ३ करोड ४७ लाख ५८ हजार, साँग्रिलाको १५ लाख ३७ हजार, स्काईलाईन एयरवेजको १५ लाख ५० हजार, एयर काष्टमण्डपको ७ लाख ३८ हजार, नेपाल एयरवेजले ५ लाख ५० हजार रुपैयाँ र अल्पाईनको ७२ हजार बक्यौता रकम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.