दुई हिमाल आरोहणको अनुमति, आरोहीको भिसामा सहजीकरण

  २०७७ चैत ३ गते १४:५३     विकासन्युज

काठमाडौं । गत वर्ष कोरोनाका कारण रोकिएको बसन्त यामको हिमाल आरोहण यस वर्ष शुरु भएको छ । हिमाल आरोहणको अनुमति पाएको पर्यटन विभागले आरोहणको मुख्य सिजनका रुपमा मानिने बसन्त ऋतुका लागि दुई हिमाल आरोहणको अनुमति जारी गरिसकेको छ ।

विभागले यस सिजनका लागि गोरखा जिल्लामा पर्ने ८ हजार १६३ मिटर उचाईमा रहेको मनास्लु र सोलुखुम्बुमा पर्ने ७ हजार ८६४ मिटर उचाईमा रहेको नुप्से हिमाल आरोहणका लागि ५ आरोहीलाई आरोहण अनुमति दिईएको जनाएको छ ।

विभाग अन्तरगतको पर्वतारोहण शाखाका अनुसार मनास्लु आरोहणका लागि एक जना र नुप्से आरोहणका लागि एक समूहका ४ आरोहीलाई आरोहण अनुमति दिईएको छ ।

दुई हिमाल आरोहणको अनुमति जारी गरेको विभागले सगरमाथा लगायत अन्य हिमाल आरोहणको अनुमति जारी प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । सगरमाथा आरोहणका लागि बहराइका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोली आएसगैँ अन्य आरोहीहरु आउने अपेक्षा गरिएको विभागका अधिकारीहरु बताउँछन् ।

आरोहीको भिसामा सहजीकरण

विभागले हिमाल आरोहणका लागि आउने विदेशी आरोहीलाई भिषामा सहजीकरण गर्ने गरेको पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्य बताउँछिन् । उनका अनुसार आरोहणकै लागि अहिले विभागमा ५० भन्दा बढी अनअराइभल भिसाका लागि विभिन्न मुलुकका आरोहीले निवेदन दिएका छन् ।

नेपाली दुतावास नभएका देशका आरोहीहरुले भिसा सहजीकरणका लागि विभागमा निवेदन दिने गरेका छन् । कोरोनाका कारण देखाउँदै सरकारले विदेशी पर्यटकलाई नेपाल प्रवेशमा विभिन्न प्रावधान राखेका कारण पर्यटकीय गतिविधि पूरानै रुपमा सञ्चालन हुन सकेका छैनन् । पर्यटन व्यवसायीहरुले हिमाल आरोहणको सिजन सुरु भएको भन्दै क्वारेन्टिन बस्नुपर्ने लगायतका प्रावधानहरु खुकुलो बनाउँन आग्रह गर्दै आएका छन् ।

व्यवसायीको आग्रह अनुसार सरकारले विदेशी पर्यटक आगमनलाई सहज तुल्याउन क्वारेन्टिन व्यवस्था खुकुलो बनाउने र पिसिआर नेगेटिभ यात्रुलाई सहज रुपमा भ्रमण व्यवस्था गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले सहजीकरण गर्ने जनाएको छ । मन्त्रालयले विदेशी पर्यटकका लागि नेपाल प्रवेशमा अनअराइभल भिसाको व्यवस्था गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखितरुपमै पठाएको जनाएको छ ।

सरकारले चार अंग्रेजी सिजनलाई तीन भागमा विभाजन गरेर हिमाल आरोहणको शुल्क लिदै आएको छ । जसमा स्प्रिन्ङ सिजनमा (बसन्त ऋतु) सगरमाथा आरोहणका लागि प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर, अटममा त्यस्को ५० प्रतिशत अर्थात ५ हजार ५ सय र विन्टर र समरमा अटम सिनको आधा अर्थात २७ सय ५० डलर तोकिएको छ ।

आरोहीले विन्टर र समर सिजनमा सगरमाथा आरोहणका लागि २७ सय ५० अमेरिकी डलर राजश्व बुझाउनु पर्ने हुन्छ । सरकारले गत वर्षबाट बाह्रै महिना हिमाल आरोहणका लागि खुला गरेको थियो । तर कोरोना महामारीका कारण बन्द भएको हिमाल आरोहण विस्तारै सुरु हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.