समृद्धिको लक्ष्य साकार बनाउन व्यावसायिक क्षेत्रको विशेष भूमिका हुनुपर्छ: राष्ट्रपति भण्डारी

  २०७७ चैत २ गते १८:५३     विकासन्युज

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक विकासबाट समृद्धि हासिल हुने भएकाले समृद्धिको लक्ष्य साकार बनाउन व्यावसायिक क्षेत्रको विशेष भूमिका हुनपर्ने बताएका छन् ।

राष्ट्रपति कार्यालय, महाराजगञ्जमा सोमबार नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिकोत्सवको विशेष समारोहलाई सम्बोधन गर्दे राष्ट्रपति भण्डारीले स्थापना कालदेखिनै चेम्बरले उद्योग तथा वाणिज्य क्षेत्रको विकासमा योगदान गरेको र त्यसले देशको आर्थिक विकासमा महत्वपूर्ण आधार निर्माण भएको बताएका हुन् ।

उनले नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पुराउन र नेपाली व्यवसायीको व्यवसायीक क्षमता बृद्धि गर्न पनि चेम्बर सफल भएको बताए । औद्योगिक उत्पादन बढाई मुलुकलाई आत्मनिर्भर तुल्याउँदै व्यापार घाटा न्यून गर्ने संकल्प मुलुकले गरेको सन्दर्भमा चेम्बरको भूमिका अझ महत्वपूर्ण भएको राष्ट्रपतिले बताए ।

“चेम्बरजस्ता संस्थाबाट देशको आर्थिक विकास एवं व्यापार व्यवसाय विस्तार गर्न महत्वपूर्ण आधार निर्माण भएको छ । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विभिन्न प्रर्दशनीहरूको आयोजना गर्नुका साथै प्रवद्र्धनात्मक गतिविधिद्वारा नेपाली उद्योगीहरूको व्यावसायिक क्षमता बृद्धि गर्न पनि चेम्बर सफल भएको छ ।”, उनले भने ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महामारी, बाढी, पहिरो, कोभिड-१९ जस्ता प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई राहत तथा पुनःस्थापना गर्ने कार्यमा चेम्बरले निर्वाह गरेको भूमिकाको पनि राष्ट्रपतिले प्रशंसा गरे ।

कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले समृद्ध नेपाल निर्माण गर्ने सरकारको लक्ष्य प्राप्तिका लागि सरकारले निजी क्षेत्रसँग घनिष्ठ सम्बन्ध राख्न चाहेको बताए । उनले सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र आपसमा अन्तरसम्बन्धित र एक अर्काको परिपुरक भएकाले यीनीहरुबीच घनिष्ट सहकार्य हुदाँमात्रै देशमा समृद्धि सम्भव हुने उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले भने, “तपाईंहरूका समस्या सुन्न र ती समस्या समाधान गर्नमा सरकारको ध्यान छ । हामीले हाम्रो देशको अर्थतन्त्रलाई तीन महत्वपुर्ण पिलरमा आबद्ध भएको मान्दछौं । सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र मिलेर मात्र यो लक्ष्य पूरा गर्न सकिन्छ । आउने दिनमा पनि तपाईँहरूसँग जिवन्त सहकार्यका लागि सरकार आह्वान गर्दछ ।”

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालको निजी क्षेत्र सरकारले अघि सारेको “समृद्ध नेपाल सुखी नेपाली” महाअभियानको सारथी भएको बताए ।

“सरकार र निजी क्षेत्र समृद्धिका निम्ति एक रथका दुई पांग्रा हुन्”, अध्यक्ष श्रेष्ठले भने, “हामी उच्चतम सहकार्यको संस्कृति निर्माण गर्न चाहन्छौं ।”, उनले भने ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल चेम्बर अफ कमर्सको ७० वर्षे इतिहास झल्कने स्मृति ग्रन्थ विमोचन गरेका थिए । स्मृति ग्रन्थमा नेपाल चेम्बर अफ कमर्सको विकासक्रम, नेपालको व्यावसायिक इतिहास, पूर्व अध्यक्षहरूको परिचय, चेम्बरका ऐतिहासिक तस्बिर लगायत सामग्री छन् ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सले ७० वर्षको अवधिमा अध्यक्ष भई संस्थाको नेतृत्व गरेका पूर्वअध्यक्षलाई सम्मान गरिएको थियो । निधन भएका अध्यक्षका परिवार तथा सन्तानले सम्मान ग्रहण गरेका थिए । संस्थापक अध्यक्षहरू स्व. लोकनाथ जोशी, स्व. जुद्धबहादुर श्रेष्ठ, स्व. बिहारीलाल खेतान, स्व. गोबद्र्धनलाल मास्के, स्व. रतिराम अग्रवाल, स्व. जनकदास श्रेष्ठ, स्व. बालकृष्ण श्रेष्ठ, स्व. इन्द्रभक्त श्रेष्ठ, स्व. राजबहादुर चिपालु, स्व. बनवारीलाल मित्तल, स्व. ईश्वरलाल श्रेष्ठका परिवारले सम्मान ग्रहण गरेका थिए । यस्तै, पूर्व अध्यक्षहरू महेश कुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार, निवर्तमान अध्यक्ष सुरेशकुमार बस्नेत र हालका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई राष्ट्रपति भण्डारीले सम्मानपत्र प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.