क्यान इन्फोटेकः मेला व्यवस्थापन गर्न ५ करोड लाग्ने, भृकुटी मण्डपको भाडा मात्रै ३० लाख

  २०७७ चैत २ गते १८:०७     विकासन्युज

काठमाडौं । यस वर्षको कम्प्युटर एशोसियन नेपाल (क्यान) इन्फोटेकआउने बैशाख २८ गतेबाट शुरु हुँदैछ । क्यान इन्फोटेक मेला सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी दिने थलो हो । सूचना तथा प्रविधिमा चासो राख्नेलाई यो मेलाले नयाँ विषयको जानकारी दिन्छ ।

यस वर्ष क्यानले केही नयाँ सुरुवात गरेको छ । यसै सेमेस्टरबाट सूचना तथा प्रविधी विषयमा स्नातक तहमा विशेष छात्रवृत्ति स्किम शुरु हुँदैछ । क्यानले सिफारिस गरेका तीन जनाले राजधानीको सफ्टवेरिका कलेजमा पूर्णछात्रबृत्ति पाउँनेछन् ।

यस्तै हरेक प्रदेशबाट १० जना गरेर जम्मा ७० जनाले आंशिकछात्रबृत्ति पाउँनेछन् । छात्रबृत्ति छनौटका लागि आफ्नै प्रावधान छन् । ‘स्थानियबासी, वडाका प्रतिनिधी, बुद्धिजिबी, समाजमा बुझेर छनौट गर्छौं’क्यानका उपाध्यक्ष खुसल रेग्मीले भने ।

क्यान मेलामा सफ्टवेरिका कलेजले इन्नोभेसन हाउस राख्दैछ । त्यसका लागि चाहिने सर–सामानहरू किन्न मानिस भारत पठाइसकेको सफ्टवेरिका कलेजका क्याम्पस प्रमुख प्रमोद पौडेले बताए । इन्नोभेसन हाउसमा ड्रोन, रोबोटिक्स जस्ता सामानहरु राखिनेछ। विद्यार्थीहरूले विभिन्न इन्नोभेसनका काम गरेर देखाउनेछन् ।

क्यान इन्फोटेक २०२१ ले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता बुझ्ने, बजार सर्बेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने मौका प्रदान गर्छ ।

यस पटकको क्यान इन्फोटेक २०२१ मा विभिन्न खण्ड रहनेछन् । ब्राण्डिङ, आइसिटी, एक्सेसरिज, गेम पार्लर, प्रोडक्ट लञ्चिङ, रोबोटिक्स, इमर्जिङ, टेक्नोलोजि, इ-वेष्ट म्यानेजमेन्ट, वाइफाइ तथा इन्टरनेट, लर्निङ सेन्टर, सूचना तथा सञ्चार प्रविधि सम्बन्धि रोजगार केन्द्र रहनेछन् ।

प्रर्दशनीकर्ताले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युसन, मोबाइल फोन तथा सोल्युसन, इलेक्ट्रिकल तथा इलोक्ट्रोनिक्स, सेक्युरिटी सोल्युसन, सोलार पावर सिस्टम, इन्भर्टर, युपीएस, ल्यापटपतथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, वैकिङ सोल्युसन, सीसीटीभि र हार्ड डिस्क जस्ता उत्पादनहरू प्रदर्शनि र विक्रीमा राखिनेछन् ।

यस्तै आर्टिफिसियल ईन्टिजेन्स सम्बन्धि जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल पनि प्रर्दशनिमा रहनेछन् । यस पटकको क्यान इन्फोटेकमा प्रवेश टिकटलाई पेपरलेस बनाउने लक्ष्य राखिएको छ । सर्वसाधारणका लागि प्रवेश शुल्क १ सय रुपैयाँ र विद्यार्थीका लागि ५० रूपैयाँ तोकिएको छ । सरकारी तथा सामुदायिक शिक्षण संस्थाहरूलाई पत्रका आधारमा निःशुल्क प्रवेश दिइनेछ ।

क्यान इन्फोटेक २०२१ मा सहभागि हुने चाहनेहरूले २०७७ चैत ८ गतेदेखि प्रर्दशनिकर्ताका निम्ति अनलाइन बुकिङ समेत खुला हुनेछ ।
गएको वर्ष झण्डै साढे ३ लाखले मेला अवलोकन गरेका थिए । यस वर्ष पनि त्यति नै संख्याले मेला अवलोकन गर्ने अपेक्षा लिएको क्यानका महासचिव नारायण थापा बताउँछन् ।

यो वर्ष कोरोना महामारीको कारणले गर्दा क्यान मेला पछि सरेको छ । कोरोना महामारीपछि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको विकास र विस्तारमा प्रगति भएको बताउँछन् क्यान महासंघका अध्यक्ष नवराज कुँवर । कुवँरका अनुसार मेला व्यवस्थापन गर्नको लागि ५ करोड रुपैयाँ लगानी लाग्ने भएको छ । ६ दिनसम्म भृकुटी मण्डपमा हुने प्रदर्शनी कार्यक्रमको भाडा भने ३० लाख रुपैयाँ तिर्नु पर्ने उनको भनाई छ ।

कोभिड १९ पछि ब्रोडब्याण्ड इन्टरनेट कनेक्सन बढेको छ । डिजिटल पेमेण्टहरुको ग्राहक आधार २० देखि ४० प्रतिशसम्मले बढेको कुवँर बताउँछन् । ‘यसले सुशासनमा मद्दत पुगेको छ,’ कवँर भन्छन्, ‘विद्युतीय सुसाशनका लागि प्रविधिको पहुँच त्यसको पहिलो शर्त हो भने प्रयोगमा सहजता दोस्रो खुड्किलो हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.