२०७७ फागुन २५ गते ९:५४ शिव सत्याल
काठमाडौं । ‘यो नेपाली युवालाई उद्यमी बनाउने कार्यक्रम हो । यो पैसा बाढ्ने कार्यक्रम होइन । अनुदानको कार्यक्रम होइन । रोजगारी दिने कार्यक्रम होइन । यो रोजगारी दिने मान्छे बनाउने कार्यक्रम हो ।’
‘कर्मभूमि समाज’को कार्यालय ललितपुरको हात्तिवनमा भेटिएका कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजु नेपाल यसो भन्दै थिए । यसो भन्दै गर्दा नेपालले अर्काे रोचक प्रसंग पनि सुनाउँन भ्याए ।
‘केही समयअघि हामी कर्मभूमि समाजको कार्यक्रमका लागि पोखरा गएका थियौं । नेपाली काँग्रेसको कास्की जिल्ला सभापति पनि हामीसँगै हुनुहुन्थ्यो । उहाँलाई त्यहीँ एउटा फोन आयो । फोन गर्ने मान्छेले भन्दै थियो– दाजु आज आएका मान्छेले १५ लाखका दरले रकम दिदैछन् रे, मेरो पनि नाम टिपाइदिनुस् है । यस्तो बुझाईका बीचमा हामीले काम गरिरहेका छौं,’ उनले भने ।
यति भनेर नेपाल एउटा दृष्टान्त दिए ।
‘तपाईंले सैलुनमा गएर नेपालीसँग कपाल काटेको कहिले हो भन्ने याद छ ? मैले अनौपचारिक रुपमा पाएको तथ्यांक अनुसार नेपाल आएर कपाल काट्ने भारतीय नागरिकले यहाँ बसेर, खाएर, छोराछोरी पढाएर वार्षिक ४ अर्ब रुपैयाँ बचाएर भारत पठाउँछन् रे । हामी नेपाली काम गर्दैनौं, भारतीयले यसरी कमाइरहेका छन्,’ कार्यकारी निर्देशक नेपाल आफ्नो कम्पनीले किन युवालाई उद्यमी या भनौं रोजगारी दिने मान्छे बनाउँन चाहदैछ भन्ने पृष्ठभूमिमा लान खोज्दै थिए ।
कर्मभूमि समाजले अहिले देशका प्रत्येक वडामा पुगेर उद्यमी बनाउन पहल गरिरहेका छ । यसका लागि कम्पनीले अभियान नै संचालन गरिरहेको छ । कार्यकारी निर्देशक नेपालसहितको टोली देशका प्रमुख शहरदेखि विभिन्न जिल्लाहरुमा ‘गरिखाने अभियान’ लिएर रोड–सो गरिरहेको छ ।
‘यसमा हामीले ४ प्रकारका युवालाई समेट्न खोजिरहेका छौं । एउटा, काम गर्न चाहने तर के काम गर्ने भन्ने थाहा नभएका युवा । दोस्रो, के काम गर्ने भन्ने थाहा भएका तर कसरी काम गर्ने भन्ने थाहा नभएका युवा । तेस्रो, उद्यम व्यवसाय गरिरहेका, के काम गर्ने र कसरी गर्ने भन्ने थाहा भएका तर अहिलेको कोभिड महामारी लगायतका कारणले राम्रोसँग आफ्नो व्यवसाय चलाउन नसकिरहेका युवा । र, चौथो, व्यवसाय राम्रोसँग चलाइरहेका तर त्यसलाई अझ ठूलो बनाउन चाहिरहेका युवालाई हामी समेटिरहेका छौं,’ उनले भने ।
कर्मभूमि समाजले संचालन गरिरहेको ‘गरिखाने अभियान’मा यस्ता युवा ‘ उद्यामी बन्ने सपना लिएर’ आउनु पर्यो । युवाले ल्याएका सपनालाई साकार बनाउन समाजले सहयोग गर्छ ।
गरिखाने अभियानको पृष्ठभूमि
नेपाली काँग्रेसले कोभिड महामारीकै बीचमा रोजगारी, पूर्वाधार तथा लगानीको क्षेत्रमा के गर्नुपर्छ भनेर एउटा समिति बनायो । सो समितिको संयोजक नेपाली काँग्रेसका सांसद तथा नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष विनोद चौधरी थिए ।
सो समितिले सरकारलाई तथा नेपाली काँग्रेसलाई विभिन्न प्रतिवेदनहरु बुझायो । त्यस्ता प्रतिवेदनमाथि नेपाली काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुबीच लामो छलफल र बहस भए । त्यसपछि सुरु भयो– गरिखाने अभियान ।
नेपाली काँग्रेसले सुरु गरेको भएपनि यो अभियान कार्यान्वयनमा लैजान एउटा संयन्त्रको आवश्यकता महसुस गरियो । यही आवश्यकता बोध भएर कर्मभूमि समाज नामक गैरनाफामुलक संस्था स्थापना भएको प्रमुख कार्यकारी अधिकृत नेपाल बताउँछन् ।
चौधरी अध्यक्ष रहेको सो कम्पनीको सदस्यहरुमा उमेश श्रेष्ठ, इन्द्र बानियाँ, अनिल रुगंटा र दिपक खड्का सदस्य छन् । अभियानले पोखरा, विराटनगर, मुग्लिन, हेटौडा,धनकुटा, झापा, संखुवासभाको चैनपुर जस्ता क्षेत्रमा रोड– शो गरिसकेको छ ।
कसरी गर्ने सम्पर्क ?
अभियानले जहाँजहाँ रोड– शो गरेको छ, त्यहाँ त्यहाँ सम्पर्क व्यक्ति पनि तोक्ने गरेको छ । रोड– शो नगरेको स्थानका युवाले यो अभियानमा सहभागी हुन चाहेमा कम्पनीको वेबसाइटमा गएर त्यहाँ माग गरिए अनुसारको विवरण भर्ने र त्यसरी विवरण भरेपछि कम्पनीले नै सम्पर्क गरेर सम्बन्धित युवालाई सहजीकरण गरिदिने प्रमुख कार्यकारी अधिकृत नेपालले जानकारी दिए ।
व्याकअफिसमा विशेषज्ञ
कम्पनीले आफ्नो कार्यालयमा विभिन्न क्षेत्रका विज्ञ सहभागी टीम बनाएको छ । यस्तै, विभिन्न बैंक वित्तीय संस्थाहरुसँग सम्झौता पनि गरेको छ । सो सम्झौता अनुसार युवाले प्रस्ताव गरेको उद्यम व्यवसायको सम्भावना लगायतका विषयमा कर्मभूमि समाजले आवश्यक सहयोग र काम गरिदिने, त्यसपछि आवश्यक पर्ने कर्जाको लागि कर्मभूमि समाजले नै सम्झौता भएका बैंक वित्तीय संस्थाहरुमा कर्जाको लागि सहजीकरण गरिदिन्छ ।
कर्मभूमि समाजमा आउने युवाको परियोजना बनाइदिनको लागि सीए फर्महरुसँग पनि सम्झौता भएको छ ।
‘कुनै उद्यम व्यवासाय गरिरहेको वा गर्न चाहने युवाले कर्मभूमि समाजसँग मिलेर काम गर्न चाहन्छ भने उसले मेरो नाम यो हो, म यस्तो काम गर्न चाहन्छु, मेरो व्यवसायिक संस्था यो हो, मेरो काम गर्नको लागि यो यो पूर्वाधार छ भनेर हामीलाई भन्नुपर्यो, बाँकी काम हामी गराउँछौं, कर्जाको व्यवस्था पनि बैंक वित्तीय संस्थाबाट हामीले नै मिलाइदिन्छौं,’ नेपालले भने ।
समाजले अहिलेसम्म सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल बंगलादेश बैंकसँग औपचारिक रुपमा सम्झौता नै गरिसकेको छ । बाँकी ५ वटा बैंकले जति कर्जा चाहिए पनि दिन्छौं भनेर बचन दिएका नेपालको भनाइ छ ।
कस्तो व्यवसाय गर्न पाइन्छ ?
जस्तो व्यवसाय गर्न पनि यो अभियानले सहयोग गर्छ । आफ्नो क्षेत्रमा कुनै व्यापारिक काम गर्ने वा उद्यादनशील उद्योग प्रतिष्ठान संचालन गर्न चाहने युवा यो अभियानमा जोडिन सक्छन् । यो अभियानको सहयोग प्राप्त गर्नको लागि कुनै राजनीतिक दलको सदस्य भएको वा नभएकोले फरक पर्दैन ।
‘उद्यमी बन्छु भन्ने सपना हुनुपर्यो, युवा हुनुपर्यो, अन्य कुनै मापदण्ड वा योग्यता चाहिएन,’ नेपालले थपे ।
यो अभियानले सानो ठूलो जस्तो पनि उद्यम व्यवसाय गर्न सहयोग गर्छ । तर, कम्तिमा ५० लाख रुपैयाँसम्मको काम गर्नुस् भनेर आफूहरुले सल्लाह दिने गरेको नेपालले जानकारी दिए ।
‘एउटा भाइले पोखरामा कफिसप गर्दाेरहेछ । उसले नेपालभर चेनमा ५० वटा कफिसप खोल्न चाहेको रहेछ । चाहिने मान्छे उसैले खोज्छ । हामी उसले खोल्न चाहेको ५० वटै कफिसपको लागि कर्जा उपलब्ध गराइदिन्छौं,’ नेपालले भने ।
उनले अर्काे एउटा उदारण पनि थपे ।
‘लतिपुरको भैसेपाटीबाट ३ किलोमिटर दुरीको चुनिखेल भन्ने ठाउँमा एउटा बैनीको राम्रोसँग चलिरहेको ब्यूटिपार्लर रहेछ, उनी भन्दैथिइन्– तीनवटा सटर लिएर एउटा पुरुषको, एउटा महिलाको ब्यूटिपार्लर खोल्छु र अर्काे एउटा सटरमा सामान विक्री गर्न चाहन्छु । मैले उनलाई भनेँ– ठिक छ, तिमी यो काम पनि गर, सँगै तिमी जस्तै अरु १० जना बैनीहरु खोज, उनीहरुलाई तामिल देऊ, सामन तिमीले सप्लाई गर र त्यसभन्दा दक्षिणतिर अरु १० वटा तिम्रा जस्तै ब्यूटिपार्लर खोल्न लगाउँ । उनी यो काम गर्न तयार भइन् । हामी सहयोग गर्छाैं,’ नेपालले थपे ।
एक ठाउँमा एक प्रकारको उद्यम व्यवसाय गरेका व्यक्तिले प्राप्त गरेको अनुभव र ज्ञान तथा उसले उत्पादन गरेका बस्तु अर्काे ठाउँको उद्यम व्यवसाय गर्ने युवाको लागि आवश्यक हुनसक्छ । कर्मभूमि समाजले यसमा पनि सहयोग र सहजीकरण गरिरहेको छ । उद्यमी बन्नेका लागि प्रस्ताव गर्ने युवालाई सरकारले तोके अनुसारको सहुलितपूर्ण कर्जा पाउने अवस्था भए समाजले त्यसमा पनि सहयोग गर्छ । र, यसरी गर्ने सहयोगका लागि समाजले कुनै शुल्क लिदैन ।
किन गर्दैछ सहयोग ?
कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेपाल यो अभियानले कसैलाई पनि रोजगारी नदिने, पैसा नदिने र अनुदान प्रदान नगर्ने पटक पटक दोहोर्याउँछन् । कम्पनीले नेपाली युवालाई उद्यमी बन्न सहयोग गर्ने उनको भनाइ छ ।
सहयोग गर्ने भन्नले प्रस्तावित परियोजनाको प्रतिवेदन बनाइदिने, कर्जाको लागि बैंकसँग समन्वय गरिदिने, परियोजनाको प्रकृति अनुसार आवश्यक पर्ने व्यक्ति, संस्था वा निकायसँग सम्पर्क गराएर आवश्यक समन्वय गरिदिने लगायतका काम गर्छ । र, यस्तो काम गरे वापत संस्थाले कुनै शुल्क लिदैन ।
कर्मभूमि समाजले किन यसरी सहयोग गर्दैछ त ?
‘हामी कतिन्जेल पछौटेपनमा बस्ने ? कति अर्काको मुख ताक्ने ? युवाले जागिर नै खोज्नुपर्ने वाध्यातामा कतिन्जेल बसिरहनुपर्ने परिस्थितिको सामना गर्नुपर्ने ? यस्ता यावत् समस्याबाट मुक्ति पाउने भनेको उद्यम व्यवसायको प्रबद्र्धन र विकास गरेर नै हो, त्यसका लागि हामीले देशव्यापी रुपमा अभियान संचालन गर्न खोजेका हौं, अहिलेसम्मको परिणमले हामीलाई असाध्यै धेरै सकारात्मक परिणाम दिएर उर्जा थपेको छ, देशका हरेक कुनाकाप्चाका नेपाली युवा अब उद्यमी बन्दैछन्,’ नेपालले भने ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.