मेगा बैंकको ग्रोथ अरुको भन्दा डब्बल छः अनुपमा खुञ्जेलीसँगको अन्तर्वार्ता

  २०७७ फागुन २४ गते १३:१७     विकासन्युज

काठमाडौं । मार्च ८, अन्तराष्ट्रिय नारी दिवस, महिलाहरुको विशेष दिन । यसदिन विश्वभर नै महिला शसक्तीकरणका विषयमा वहस केन्द्रीत हुन्छ । महिलालाई अवसर, महिलालाई आरक्षण, महिलाको सुरक्षा लगायत धेरै विषय उठाउँछन्, महिलाबादीहरु ।

तर, सफल महिलाहरुको अनुभव फरक छ । सफलताको लागि आरक्षणभन्दा क्षमता विकास, समान अवसर र निरन्तर मेहेनत जरुरी हुने बताउँछन् सफल महिलाहरु । त्यसमध्ये एक हुनहुन्छ अनुपमा खुञ्जेली ।

मिहेनत र उच्च कार्यसम्पादन नतिजाको आधारमा मेगा बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत बन्नुभएको खुञ्जेली सफल बैंकर्सको रुपमा स्थापित भईसक्नु भएको छ । बार्षिक एक करोड ७० लाख रुपैयाँभन्दा बढी तलब सुविधा लिने खुञ्जेलीले मेगा बैंकलाई बैंक अफ दी एयरबाट सम्मानित गराउनुको साथै आफै पनि बेष्ट वुमन म्यानेजर अवार्ड लिन सफल हुनुभएको छ । यो सफलता कसरी मिल्यो त ? प्रस्तुत छ खुञ्जेलीसँग गरिएको विकास वहस ।

पैसा, पद र प्रतिष्ठा सबै भएको वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा हुनुहुन्छ, बार्षिक १ करोड ७० लाख ३२ हजार तलब लिँदा कस्तो अनुभव हुन्छ ?

अहिले मैले पाउने तलव सुविधा धेरै भयो जस्तो मलाई लाग्दैन । २७ वटा वाणिज्य बैंकका सीईओमध्ये मैले पाउने तलवभन्दा बढी तलव अरु २४÷२५ जनाको छ । म त कम तलव पाउने सीईओमध्ये तेस्रो चौथोमा पर्छु । अन्तराष्ट्रिय बजारसँग पनि तुलना गरेर हेर्दा पनि नेपाली सीईओहरुले पाउने तलव सुविधा कम नै छ ।

अझै कम भयो तलव ?

मैले त्यसो भन्न खोजेको होइन । तुलनात्मक रुपमा हेर्नुपर्छ भनेको मात्र हो । बैंकमा पहिलो पटक जागिर खाँदा मासिक ८ सय रुपैयाँ तलव थियो । त्यति बेला पनि यत्रो पैसा के गरौं जस्तो भएको थियो । अहिले मैले जति तलव पाएको छु, त्यो तुलनात्मक रुपमा अरुको भन्दा धेरै छैन । तलव भनेको मिहेनतको प्रतिफल पनि हो । कस्तो काम गर्छ, संस्था कसरी चलाएको छ ? बैंकको सीईओ छोडेर घरमा बसेको मान्छे जेलमा परेका छन् । मरेपछि पनि मुद्दा लाग्छ ।

उसको इन्ट्रिग्रीटी कस्तो छ ? जिम्मेवारी पनि हेर्नुपर्छ । कति जोखिम लिएको छ त्यो पनि हेनुपर्छ । १४ अर्ब ६५ करोड रुपैयाँ लगानी भएको बैंक, १३० अर्ब रुपैयाँ निक्षेप, १२४ अर्ब कर्जा लगानी भएको, १६४ अर्ब रुपैयाँ वासलात भएको, २ लाख सेयरधनी भएको, १८ सय भन्दा बढी कर्मचारी भएको बैंकलाई सुरक्षित ढंगले चलाउन पनि सजिलो छैन ।

विजनेश गर्नेलाई छोडेर हेर्दा तपाईको कमाई नेपाली महिलामध्ये सबैभन्दा बढी नै होला नि ?

सही छ । त्यसैले त बैंकिङ क्षेत्रप्रति आकर्षण बढेको छ । नयाँ पुस्ता पनि बैंकमा जागिर खान निकै प्रतिस्पर्धा गरिरहेको छ । यहाँ मिहेनत गर्यो भने फल राम्रो पाइन्छ । बैंकिङ क्षेत्रमा महिलाहरुको लागि पनि राम्रो अवसर छ । यो त इस्टार्टिङ मात्र हो, भविष्य झनै राम्रो देख्छु म ।

आफूले आफ्नै बारेमा समीक्षा गर्दा तपाई सफल महिला हो ?

सफलता भनेको एकपछि अर्को हुन्छ । मैले बैंकमा जुनियरदेखि सिनियर पदमा रहेर काम गरें । एउटा प्रमोशनपछि अर्को प्रमोशनको अपेक्षा सबैलाई हुन्छ । म सीईओ भए, तर अरुले भन्दा राम्रो काम कसरी गर्ने ? पद र पैसा मात्र सबै कुरा होइन । हामीले बैकिङ सेवा विस्तारमा धेरै काम गर्नुछ ।

मेगा बैंकमा अनुपमा खुञ्जेलीको योगदान के हो ?

संस्था एउटा व्यक्तिले बनाउने होइन । सबै कर्मचारीको बराबर योगदान छ । लिडरले लिड गर्ने मात्र हो । नतिजा सबैको मिहेनतको परिणाम हो । यो बैंकमा स्थापनादेखि नै म कार्यरत छु । अहिले १८४० जना कर्मचारी छन् । प्रमोटर ३ हजार जनाभन्दा बढी छन् । २ लाखभन्दा बढी सेयरधनी छन् । ५८ जिल्लामा २०४ वटा शाखाबाट बैकिङ सेवा दिइरहेका छौं । ७७ जिल्लामा पुग्ने योजना छ । बैकिङ साक्षरता देशभर पुर्याउने भिजन छ । हलोदेखि हाइड्रोसम्म, सबै नेपालीको बैंक बन्ने, विश्वास जित्दै अघि बढ्दै भन्ने नारा अघि सारेका छौं । म सीईओ हुँदा मेगा बैंक २५औं नम्बरमा थियो २७ वटा वाणिज्य बैंकमा । अहिले हामी निक्षेपमा १४ औं नम्बरमा छौं । कर्जा लगानीमा १० औं नम्बरमा र नाफाको हिसावले ११ औं नम्बरमा छौं ।

तपाई भन्दै हुनुन्छ कि अनिल शाहले छोड्दा भन्दा अहिले बैंक धेरै राम्रो भयो ?

उहाँले हालेको जगमा उभिएर हामी अगाडि बढेको हौं । जग बलियो थियो र त हामी अगाडि बढ्न सकेका छौं । शुरुवातमा गाह्रो हुन्छ । अब पनि अगाडि बढ्न झन् गाह्रो छ । किनकि टप टेनमा धेरै बलिया र पुराना बैंक छन् । अरुभन्दा फरक र बलियो बनाउन अझै प्रयास गर्छौ ।

फेरि तपाईको निजी विषयमा जाऔं । तपाई शिक्षित र राज्यमा पहुँच भएको परिवारमा जन्मेहुर्केको मान्छे । शिक्षा र प्रेरणा त्यहि ढंगले पाउनुभयो । तपाईको जस्तै परिवारमा जन्मेहुर्केका राणा शाहका धेरै छोरीहरु अहिले केवल गृहणी मात्र छन् । तपाई यो ठाउँमा हुनुहुन्छ । पद, पैसा र प्रख्याती पाइरहनु भएको छ । फरक केले पार्दोरहेछ ?

सबैभन्दा ठूलो कुरा आफूले आफूलाई चिन्न सक्नुपर्छ । आफ्ना चाहना अनुसार काम गर्नुपर्छ । मेरो बुबाले मलाई छोरालाई जस्तै व्यवहार गर्नुभयो । विवाह गर्नुपूर्व नै जागिर खान पुगेँ । हामी सबै जना करिअर ओरेन्ट हुनैपर्छ । त्यहाँ मिहेनत गर्नैपर्छ । त्यहाँ सफलता, असफलता भोग्नै पर्छ । लड्दै, पढ्दै, भोग्दै अगाडि बढ्नुपर्छ । अवसरहरु पहिल्याउन सक्नुपर्छ । म स्ट्याण्डर्ड चार्टर्ड बैंक छोडेर नविलमा आए । नविल छोडेर जन्मदैको अवस्थामा मेगा बैंकमा आए । एउटा स्थापित बैंकका मान्छे, अर्को नयाँ बैंक चलाउन जाने कि नजाने ? शुन्यबाट काम थाल्ने जोखिम लिने कि नलिने ? यस्ता कुराहरु आउँछन् करिअर बनाउने बेलामा ।

अरु पेशाकर्मीहरु सानो संस्था वा ब्राण्ड छोडेर ठूलोमा जान्छन् । तपाई ठूलो छोडेर सानोमा जानुभयो । स्ट्याण्डर्ड चार्टर्ड नम्बरवान ब्राण्ड छोडेर नविल आउनुभयो । नविल नम्बर वान ब्राण्ड भएपछि फेरि मेगामा आउनुभयो । अरुको भन्दा उल्टो बाटो रोज्नुको कारण के थियो ?

सुरक्षित क्षेत्र छोडेर जोखिमपूर्ण क्षेत्रमा काम थाल्नुपर्छ भनेर हामीले पढेका पनि हौं । अवसरको लागि जोखिम लिनै पर्छ । नम्बरवान ब्राण्ड नछोडि बसेको भए म आज सीईओ बन्ने पनि थिइनँ होला । फर्केर हेर्दा, मैले जे निर्णय लिएको थिए, त्यो सही थियो ।

तपाईले जुन बाटो रोज्नुभयो, अरुले पनि त्यसै गरे भने हुन्छ वा तपाईलाई भाग्यको साथ थियो ?

‘लक’ त चाहिन्छ । सफलताको लागि अवसर, कडा परिश्रम त चाहिन्छ नै, साथै ‘लक’ पनि चाहिन्छ । ‘लक फ्याक्टर अल्सो भेरी इम्पोर्टेन्ट’ ।

तपाई भाग्यले यो ठाउँमा आउनु भयो कि मिहेनतले ?

भाग्य छ भन्दैमा डाेकोमा दुध दोहेर हुँदैन । महिनत गर्नैपर्छ । जतिबेला म असिस्टेन्ट लेवलमा थिए, त्यतिबेला मेरो सहकर्मीहरु धेरै थिए । हामी धेरै जना थियौं । सबैले समान मौका पाएका हौ । एउटै वातावरण थियो । अफिसर लेवलमा पनि त्यहि बातावरण थियो । काम गर्ने शैली त उस्तै हो । जो अरुभन्दा बढी मिहेनत गर्छ, सबैको विश्वास जितेर काम गर्छ, उसैले नयाँ अवसर पाउँछ ।

जे काम गर्नुहुन्छ, खुशीका साथ गर्नुहोस । मैले बैंकिङ जब गरेको ३० वर्ष भयो । विहान उठेर अफिस जाने भनेपछि अहिले पनि रमाईलो लाग्छ । प्रशन्न मुद्रामा अफिसमा आईपुग्छ । म जेमा रमाईरहेको छु, त्यसमा अरुलाई खुशी नमिल्न सक्छ । बैंकमा जागिर खाने मेरो सोच पनि थिएन । खाता खोल्न जादा भ्याकेन्सी खुलेको रहेछ । त्यसपछि बैंकमा जागिर खाइयो । जागिर खाँदै जाँदा मास्टर डिग्री गर्न गर्न सकिएन । त्यहाँ पनि ठेस खाइयो । प्रमोशन खान मास्टर डिग्री चाहिन्छ भनेपछि ४० वर्षको उमेरमा मास्टर डिग्री लिइयो । छोरीको एसएलसीसँगै मैले मास्टर डिग्री गरेको ।

महिला आरक्षणबाद, संरक्षणबादप्रति तपाईको धारणा के हो ?

महिला र पुरुष भनेर छुट्याउनै मिल्दैन जस्तो लाग्छ मलाई । तर अन्तराष्ट्रिय रुपमा नै के भनिन्छ भने लैंगिक विभेद अन्त्य गर्न अझै १०८ वर्ष लाग्छ रे । मलाई वुमन सीईओभन्दा मन पर्दैन । मलाई सीईओ मात्रभन्दा खुशी लाग्छ । किनकि म प्रतिस्पर्धा गर्न सक्छु र अरुभन्दा म कमजोर छैन । म सानैदेखि दाइभाइसँग साइकल खेल्न जान्थे । डण्डिवियो खेल्न जान्थे । बन्दुक लिएर शिकार खेल्न जान्थे, खुशीका साथ । त्यो माहौलमा हुर्केकोले होला मलाई महिला र पुरुषमा विवेद जरुरी छैन ।

महिला अधिकार कर्मीले भन्छन्–‘नारी पुरुषबाट हेपिए, दविए, असर दिईएन ।’ के तपाईको जीवनमा यस्तो भोगाई भयो ?

मेरो परिवारमा विभेद भएन । मैले काम गरेका संस्थामा पनि लैंकिग विभेद भएन । कामलाई रिवार्ड गरियो । तर, समाजमा विभेद त छ । नेपालका मात्र होइन, विदेशमा पनि छ । विभेदहरुको मुकाविला गर्दै अगाडि बढेको हुँ । सोचाईमा परिवर्तन जरुरी छ ।

तपाई सीईओ भएको बैंकमा पुरुषहरुले लैंगिक विभेदको महसुश गरेका छन् कि ?

म कामलाई पुजा गर्छु । हामी कामलाई रिवार्ड गर्छौं । न मैले विगतमा विभेद सहेँ, न अहिले विभेद गर्छु । यो बैंकको टप १० पोष्टमा ५० प्रतिशत महिला छन् र ५० प्रतिशत पुरुष छन् । शुरुमा यो बैंकमा ६४ प्रतिशत महिला थिए । विभिन्न बैंकहरु मर्ज भएपछि महिला ४४ प्रतिशत भएका छन् ।

उच्च व्यवस्थापनमा ५० प्रतिशत महिला भएको सुन्दर पक्ष भन्नु र सुन्न त आनन्द आउला । अन्तिममा सेयरधनीले हेर्ने त नतिजा हो । कस्तो छ नतिजा ?

बैंकको वार्षिक साधारणसभामा आएर सेयरधनीले बोल्नुहुन्छ । वर्षमा एक पटक बोल्नुहुन्छ । मेरो लागि त्यो धेरै महत्वपूर्ण छ । उहाँहरुले बैंकको प्रगतिको बारेमा बोलिरहनु भएको छ र अझ राम्रो कसरी गर्न सक्छ भनेर बोलिदिनु भएको छ । त्यो मेरो लागि महत्वपूर्ण कुरा हो । विगत ५ वर्षको ग्रोथलाई विश्लेषण गर्नुभयो भने मेगा बैंक एक नम्बरमा छ सिएजीआर (कम्पाउन्डेड एभरेज ग्रोथ रेट) मा, निक्षेप, कर्जा, नाफाको ग्रोथ बैकिङ क्षेत्रको औषतभन्दा दोब्बर बढी छ । डबल ग्रोथ थिएन भने २५ नम्बरबाट १० नम्बरमा आउन पनि सक्दैन थियो । मार्केट ग्रोथभन्दा डब्बल ग्रोथ मेगाको छ भने सेयरधनी बेखुशी हुने कुरै भएन । उहाँहरुलाई रिर्टन चाहिन्छ । हामीले १३.४५ प्रतिशत दियौं । शुरुदेखि हामीले बोनसदर बढाउँदै लगेको छौं । अहिले त मार्केटको एभरेज रिर्टन नै १३ प्रतिशत मात्र छ । हामीले ५ वर्षको रणनीति बनाएको थियौं । चौथो वर्षमा छौं । सबै इन्डिकेटरहरु पूरा हुँदैछ ।

बैंकको अवको बाटो के हो ?

फेरि ५ वर्षे रणनीति बनाउँदै छौं । त्यसको तयारीमा छौं । हामी फरक तरिकाले काम गर्दैछौं । अहिले डिजिटल बैंकिङमा जोड दिएका छौं । वर्क फर्म होम हामीले सिक्यौं । अब बैंकिङ फर्म होम गर्दैछौं । भिडियो मार्फत ग्राहकलाई घरबाटै बैंकिङ कारोबार सिकाउँदै छौं । टिक बैंकिङ ल्याएका छौं । च्याट बोर्ड चलाएका छौं । क्युआर कोडको प्रयोगमा जोड दिएका छौं । क्यासलेड बैंकिङ, डिजिटल वल्डतिर जान्छौं । हामीले मेगा क्यापिटल खोल्यौं । इन्स्योरेन्स कम्पनीमा लगानी गरेका छौं । सब्सिडायरी कम्पनीहरु विस्तार गर्दैछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.