दोश्रो बजारमा चन्द्रागिरीको यात्राः ४१३ प्रतिशतले बढ्यो सेयर मूल्य, बजार पुँजीकरण १० अर्बमाथि

  २०७७ फागुन २३ गते १८:१९     विकासन्युज

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेड दोश्रो बजारमा प्रवेश गरेको एक महिना पुरा भएको छ । यो अवधिमा कम्पनीको सेयर मूल्य निरन्तर रुपमा बढिरहेको छ ।

स्थानिय तथा सर्वसाधारणलाई सेयर निष्काशन गरि बाँडफाँड पश्चात कम्पनी गत माघ २३ गते दोश्रो बजारमा प्रवेश गरेको हो । बजारमा प्रवेश गरेकाे पहिलो दिन अर्थात पहिलाे कारोबारमा कम्पनीको सेयर प्रतिकित्ता १६१ रुपैयाँमा कारोबार भएको थियो । जुन नेप्सेले तोकेको अधिकतम रेञ्ज भन्दा १२९ रुपैयाँ कम हो । नेप्सेले कम्पनीलाई न्युनतम प्रतिकित्ता ९६.६९ रुपैयाँ र अधिकतम २९०.०७ रुपैयाँ तोकेको थियो ।

अधिकांश लगानीकर्ताले कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९० रुपैयाँबाट शुरु हुन्छ भन्ने अनुमान लगाएका थिए । तर, बजारमा लगानीकर्ताको अनुमान विपरित भइदियो । र, कम्पनीको सेयर प्रतिकित्ता १६१ रुपैयाँदेखि कारोबार शुरु भयो । सोहि दिन अन्तिम कारोबारसम्ममा कम्पनीको सेयर मूल्य ३ रुपैयाँले बढेर प्रतिकित्ता १६४ रुपैयाँ पुग्यो ।

त्यसपछिको बजारमा कम्पनीको सेयर मूल्य निरन्तर बढ्दै गइरहेको छ । समग्र सेयर बजार घटोस् या बढोस् कम्पनीको सेयर मूल्य भने निरन्तर रुपमा बढ्दै गएको छ । उच्च उतारचढाव देखिएको बजारमा पछिल्लो एक सातामा कम्पनीको सेयरमा निरन्तर सकारात्मक सर्किट लागिरहेको छ ।

आज (फागुन २३ गते) पनि समग्र सेयर बजार २१.५८ घटेको छ । तर कम्पनीको सेयर मूल्य भने बढेर सर्किट लेभलमा कारोबार भएको छ । आइतबार प्रतिकित्ता ६०५ रुपैयाँमा कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य ९.९२ प्रतिशतले बढेर प्रतिकित्ता ६६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । जुन शुरुवाती मूल्यभन्दा ४१३.०४ प्रतिशतले बढी हो ।

किन बढ्दै छ कम्पनीको सेयर मूल्य ?

कम्पनीको सेयर मूल्य लगानीकर्ताले अनुमान लगाएको रेञ्जसम्म नपुगेकोले त्यसको मूल्य निरन्तर बढीरहेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् ।

‘कुनै पनि कम्पनीको आईपीओको दोश्रो बजारमा कारोबार भएपछि सेयर मूल्य यति पुगेपछि प्रफिट बुक गर्छु भन्ने लगानीकर्ताको सोचाईं हुन्छ । र, उक्त लेभलमा पुगेपछि उनीहरु बेच्न शुरु गर्छन् । यता चन्द्रागिरीको केसमा लगानीकर्ताले एक्स्पेक्ट गरेको अनुसार सेयर मूल्य पुग्नै बाँकी छ । त्यसैले जस जसलाई चन्द्रागिरीको आईपीओ परेको छ, उनीहरुले अहिले बेच्न चाहेका छैनन् । र, मूल्य निरन्तर बढीरहेको छ’, अध्यक्ष रौनियारले विकासन्युजसँग भने ।

त्यस्तै, बजार पुँजीकरण १० अर्ब २० करोड रुपैयाँ नाघेको छ । नेप्सेमा कम्पनीको एक करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर सूचीकृत भएको कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।

दाेश्राे बजारमा कम्पनीकाे ‘हाेटल्स एण्ड पर्यटन’ समूह अन्तर्गत काराेबार भइरहेकाे छ । आइतबार उक्त समूह ५०.१५ अंकले बढेर २२८४.८३  बिन्दुमा पुगेकाे छ । जुन पछिल्लाे काराेबारकाे तुलनामा २.२४ प्रतिशतले बढेकाे छ ।

यस्ता छन् कम्पनीको योजना

कम्पनीले लगानीकर्तालाई लक्षित गरेर केवुलकारमा २५ प्रतिशतसम्म छुट दिइरहेको छ । कम्पनीले हालै निष्काशन गरेको आईपीओमा आवेदन दिने (आईपीओ परेका नपरेका) सबै आवेदकलाई लक्षित गरि माघ ५ गतेदेखि उक्त योजना सार्वजनिक गरी सञ्चालनमा ल्याएको हो । र, यो योजना एक वर्षसम्म अर्थात २०७८ माघ ५ गतेसम्म लागू हुनेछ ।

हाल सञ्चालन भइरहेको यो योजनामा लगानीकर्ताको आकर्षण बढ्दै गएको चन्द्रागिरीका महाप्रबन्धक अभिषेक सिंह बताउँछन् ।

‘यो योजना अन्तर्गत दिनमा ५० देखि १०० जनाले चन्द्रागिरीको अवलोकन गर्न आउनुहुन्छ । शनिबार भने अलि बढी अर्थात २ सयदेखि ३ सय जना अवलोकन गर्ने गरेका छन् ।’

त्यस्तै, कम्पनीको मूख्य लक्ष्य भनेको आन्तरिक पर्यटकलाई बढाउनु रहेको सिंह बताउँछन् । पहिलाको तुलनामा अहिले आन्तरिक पर्यटकको आगमन बढ्दै गएको उनको भनाई छ ।

‘पहिला शनिबारको दिन एक हजारदेखि १२ सयले अवलोकन गर्नुहुन्थ्यो भने अहिले ३/४ हजारले गर्नुहुन्छ । यसलाई अझै बढाउने लक्ष्य रहेको छ’, सिंहले भने ।

साथै, कम्पनीले आउँदै गरेको शिवरात्रीलाई लक्षित गरेर नयाँ स्किम ल्याउने तयारी गरिरहेको महाप्रबन्धक सिंह बताउँछन् ।

परियोजनाको रिसोर्ट/होटल पूर्ण रुपमा संचालन भईसकेको छ । त्यसको औपचारिक उद्घाटन/शुभारम्भ २०७८ वैशाख मसान्त सम्ममा गर्ने कम्पनीको लक्ष्य रहेको छ । त्यसको लागि कम्पनीले परियोजना सम्पन्न गर्न आफ्नो काम कारवाहीलाई तीव्र रुपमा अगाडि बढाई रहेको छ ।

सहायक कम्पनीहरुको हकमा मल्टी पोखरा डेभलपमेन्ट प्रा.लि. को नाममा रहेको जग्गामा चन्द्रागिरी हिल्स लिमिटेडको बटम स्टेशन संरचना बनाउन उपभोग गरिएको र भावी दिनमा उक्त कम्पनीलाई चन्द्रागिरी हिल्स लिमिटेडमा नै गाभ्ने रणनीति लिएको छ । चन्द्रागिरी हिल्स प्याराग्लाईडिङ्ग लि.को हकमा निकट भविश्यमा नै कम्पनीको उद्देश्य अनुरुप प्याराग्लाईडिङ्गको सम्भाब्यता अध्ययन गरी सेवा सञ्चालन गर्ने रणनीति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.