एशियन लाइफको म्यादी जीवन बीमा सार्वजनिक, एकैदिन जारी गर्यो ५ हजार बढी बीमालेख

  २०७७ माघ २९ गते १७:३९     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ‘एशियन सुरक्षा प्लस (म्यादी) जीवन बीमा’ सार्वजनिक गरेको छ । थोरै बीमाशुल्कमा आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले कम्पनीले ‘मेरो सुरक्षा कवच’ नाराको साथ उक्त जीवन बीमा योजना प्रस्तुत गरेको हो ।

आज(माघ २९ गते) कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठलगायत संचालक समिति सदस्यहरुको उपस्थितिमा उक्त बीमा योजना सार्वजनिक गरिएको हो ।

यस बीमा योजना अन्तर्गत १६ वर्षदेखि ६४ वर्ष उमेरसम्मको व्यक्तिले न्यूनतम २५ हजार रुपैयाँदेखि अधिकतम आफ्नो आय श्रोतको आधारमा बीमाङ्क रकम चयन गर्न सक्नेछन् । न्यूनतम १ वर्षदेखि अधिकतम १५ वर्षसम्मको लागी जारी हुने यस बीमा योजना अन्तर्गत बीमाशुल्क भुक्तानीको लागी एकल, नियमित र सीमित भुक्तानीमध्ये कुनै एउटा विकल्प रोज्न सकिनेछ । यसले गर्दा बीमाशुल्क भुक्तानीमा बीमितलाई सहजता हुनेछ ।

यस योजना अन्तर्गत बीमा अवधिभित्र बीमितको निधन भएमा बीमांक रकम भुक्तानी दिइनेछ । बीमा अवधिभित्र बीमित जीवितै रहेको अवस्थामा कुनै पनि रकम प्रदान गरिने छैन ।

यस योजनामा विभिन्न ऐच्छिक सुविधा लिन सकिने व्यवस्था समेत रहेको छ । जसमध्ये दाह संस्कार खर्च, दुर्घटना मृत्यु लाभ(एडीबी) र दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग/अशक्त सुविधा बीमाशुल्क छुट सुविधा रहेका छन् ।

एशियन सुरक्षा प्लस (म्यादी) जीवन बीमा योजना सार्वजनिक गरेकै दिन अर्थात एकैदिनमा कम्पनीले ५ हजार ३०१ वटा म्यादी बीमालेखहरु जारी गरेको छ । उक्त योजना अन्तर्गत देशभर रहेका ४० वटा शाखा कार्यालयहरुबाट सो मात्राको बीमालेखहरु जारी गरिएको हो ।

५ अर्ब रुपैयाँ अधिकृत पुँजी र २ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको २०७७ पुस मसान्तसम्म जीवन बीमा कोष २४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । साथै, कम्पनीले पुस मसान्तसम्ममा ३ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.