विकास निर्माणको काममा केन्द्रले खासै सहयोग गरेको छैन – नगरपालिका अध्यक्ष शेर्पासँगको कुराकानी

  २०७७ माघ २७ गते २०:१५     विकासन्युज

बागमती प्रदेश अन्तर्गतको सिन्धुपाल्चोक जिल्लामा पर्ने रमणीय नगरपालिका हो ‘बाह्रविसे नगरपालिका’ । यो नगरपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपले फरक विशेषता बोकेको नगरपालिका त हो नै साथै कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि निक्कै चर्चित छ । पूर्वमा दोलखा अनि पश्चिममा सिन्धुपाल्चोककै जुगल गाउँपालिकासँग सीमा जोडिएको यस नगरको उत्तरमा भोटेकोशी गाउँपालिका र दक्षिणमा त्रिपुरासुन्दरी तथा बलेफी गाउँपालिका पर्दछन् । नेपाल र चीनलाई जोड्ने अरनिको राजमार्ग र भोटेकोशी नदी यहाँको पहिचान हो । समुद्र सतहदेखि कम्तीमा ५ सय मिटर अनि बढिमा ४ हजार मिटरसम्मको उचाईमा फैलिएको यो नगरपालिकाको जनसंख्या २६ हजार ५ सय ३५ छ । थामी समुदाय यस नगरको आदिवासी लोपोन्मुख जनजाती अन्तर्गत पर्दछ ।

नगरपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् ? जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि नगरपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा नगरपालिकाले कस्ता भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा केन्द्रीत रहँदै सो नगरपालिकाका अध्यक्ष निमफुन्जो शेर्पासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश ।

नगरपालिकामा कोरोनाले पुर्याएको असर बारे केही बताइदिनुस् न

हाम्रो नगरपालिकामा कोरोनाले ठुलो असर पुर्याएको छ । कोरोनाको बेलामा नागरिक धेरै त्रसित भएका थिए । केही नगारिकलाई कोरोनाको संक्रमण पनि भएको थियो । सो समयमा हामीले नगरपालिका भित्र ८० बेडको क्वारेन्टिन स्थापना गरेका थियौं । व्यवस्थित ५० बेडको आइसोलेसन कक्ष पनि बनाएका थियौं । जम्मा २८ जना मानिसलाई आइसोलेसनमा राख्नुपरेको थियो । कोरोनाले यहाँको शिक्षा क्षेत्र साथै विकास निर्माणका काममा पनि ठुलो असर पुर्यायो । नेपालमा लकडाउन भएको समयमा नगरपालिका भित्रका सबै विद्यालय बन्द भए । हाल भने नगरपालिकामा कोरोनाको प्रभाव घट्दै गएको कारण जनजीवन सामान्य बन्दै गएको छ ।

नगरपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

कृषि विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । कृषि सहकारीसँग साझेदारी पनि गरेका छौं । कृषि गर्ने किसानलाई हामीले अनुदानको व्यवस्था मिलाएका छौं । कृषकको लागि मलको पनि व्यवस्था मिलाएका छौं । नगरपालिका भित्रका नागरिकलाई निःशुल्क रुपमा तरकारीका विउहरु पनि उपलब्ध गराएका छौं । नगरपालिका भित्र कफी, आलु, मकै, काउली लगायत उत्पादन हुने गरेको छ । कृषिलाई नीर्वाहमुखी मात्र होइन कि व्यवसायिक नै बनाउने तर्फ हामी लागि परेका छौं । नगरपालिका भित्र आधुनिक तरकारी खेती विकास गरिरहेका छौं ।

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ?

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय राम्रो रहेको छ । प्रदेशका सामाजिक विकास मन्त्री, उद्योगमन्त्री, पर्यटनमन्त्री लगायतसँग पनि हाम्रो समन्वय भइनै रहेको हुन्छ । समन्वय भएको कारणले नै सोचे आनुसारको बजेट प्रदेश सरकारबाट आउने गरेको छ । विकास निर्माण, खोलकुद, कृषि विकास जस्ता काममा पनि समन्वय गर्दै आएका छौं ।

स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आइपर्छन् नि ?

स्थानीय तहमा काम गरे पछि धेरै चुनौतीहरु आइपर्छन् । बाढि, पहिरोको कारण पनि समस्या आउने गरेको छ । मुख्यतया विकास निर्माणको काममा सामान्य समस्याहरु देखा परिरहेका हुन्छन् ।

केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ?

केन्द्रबाट हामीले सोचे अनुसारको बजेट आउने गरेको छैन । विकास निर्माणको काममा केन्द्रले खासै सहयोग गरेको छैन भन्दा पनि हुन्छ ।

नगरपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के हुन् नि ?

नगरपालिकामा खासै ठुला योजनाहरु त छैनन् पनि । तर पनि १ सय २ मेगावटको हाइड्रो सञ्चालनमा छ । १७ अर्ब रुपैयाँ बराबरको बजेटमा यो हाइड्रो सञ्चालन भएको हो । धेरैजसो सडकहरु विकास निर्माणकै क्रममा रहेका छन् । ५० देखि ६० लाख रुपैयाँ बराबरको सडक निर्माण गर्ने योजना छ । आँखा अस्पतालको पनि निर्माण सम्पन्न भइसकेको छ ।

नगरपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् ?

नगरपालिकामा अहिलेसम्म भएका विकास निर्माणका कामहरु प्रभावकारी नै भएका छन् भन्नुपर्छ । हामीले आशा गरे अनुसारकै विकास निर्माणका काम भइरहेको हुनाले हामी खुसी नै छौं ।

तपाईं निर्वाचित हुनुभन्दा अगाडिको तुलनामा निर्वाचित भइसकेपछि नगरपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ?

धेरै परिर्वतन आइसकेको छ भन्दा फरक पर्दैन । जनताले समस्या पोख्ने ठाँउ पाएका थिएनन् । बजेट आकार पनि सानो थियो । स्वास्थ्य, सडकको राम्रो पहँुच थिएन । विद्यार्थीले गुणस्तरीय शिक्षा पाउन सकेका थिएनन् । तर, म निर्वाचित भएर आईसके पछि नगरपालिका भित्रका खान नपाएका मानिसलाई खान दिएका छौं । साथमा ओढ्ने पनि नभएकालाई घरघरमै पुगेर ब्ल्याङ्केटको व्यवस्था गरेका छौं । गुणस्तरीय शिक्षातर्फ ध्यान दिएका छौं । नगरपालिका भित्रका सबै वडा कार्यालयहरुको भवन निर्माण भइसकेको छ । सबै वडामा स्वास्थ्य सेवाको राम्रो पहँुच रहेको छ । सडक निर्माण, खानेपानी लगायतका क्षेत्रमा काम भइरहेको छ ।

तपाईं निर्वाचित भएको ३ बर्ष पुरा हुँदा नगरपालिका भित्र सम्झिन लायक काम के–के छन् जस्तो लाग्छ ?

त्यस्तो त धेरै कामहरु रहेका छन् । खेलकुद विकासको लागि खेल मैदान निर्माण गरेका छौं । खानेपानीको राम्रो व्यावस्था मिलाएका छौं । सडक नपुगेको ठाउँमा सडक पुर्याएका छौं । स्वास्थ्य चौकी सबै वडामा सञ्चालन गरेका छौं । नगरपालिका भवनको निर्माण भएको छ । सडक क्रमिक रुपमा कालोपत्रे भइरहेको छ ।

नगरपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

नगरपालिकाका धेरैजसो युवाजमात कृषि पेशामा आवद्ध रहेको छ । हामीले केही युवाहरुलाई भने विकास निर्माणको काममा लगाएर रोजगारी दिने गरेका छौं । हामीले ठाउँ अवस्था अनुसार बाख्रा पालन गर्न अथवा खेती गर्न हौसला दिने गरेका छौं ।

तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ?

पालिकामा सबै भन्दा ठुलो उद्योगको रुपमा इट्टा कारखाना रहेको छ । कागज उत्पादन पनि हुने गरेको छ । कटिंग ढुङगा उत्पादन हुने गरेको छ । तेलको उत्पादन हुने गरेको छ । घर मौरीपालन पनि हुने गरेको छ । कृषकले कुखुरा पाल्ने, भैँसी पाल्ने लगायतका गतिविधी गर्दै आएका छन् ।

तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ?

‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने म कृषिलाई नै जोड दिन्छु ।

तपाईंले नेतृत्व गरेको स्थानीय तहलाई अरुभन्दा फरक र नमुना बनाउन कस्ता योजना अघि सार्नुभएको छ ?

हामीले स्थानीय तहलाई अरुभन्दा फरक र नमुना बनाउन पर्यटन, उत्पादन, उद्योग, रोजगारीको सिर्जना लगायतका योजनालाई अघि सारेका छौं ।

तपाईंले गरेको कार्यप्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ?

म त एकदम सन्तुष्ट छु । त्यसैगरी, मैले गरेका कार्यप्रति म मात्र नभएर आम नगरिकहरु पनि सन्तुष्ट नै हुनुहुन्छ जस्तो लाग्छ ।

तपाईंको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना रहेको छ ?

सुन्दर, एकिकृत बस्ती, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा मेरो पालिकालाई अब्बल बनाउने मेरो योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.