कृषि क्षेत्रको विकासका लागि उल्लेख्य काम गरेका छौंः गाउँपालिका अध्यक्ष पाण्डेसँगको कुराकानी

  २०७७ माघ १८ गते २०:५३     विकासन्युज

‘भिमसेनथापा गाउँपालिका’ गण्डकी प्रदेश अन्तर्गतको गोरखा जिल्लामा पर्ने एउटा रमणीय गाउँपालिका हो । कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा निक्कै चर्चित यो गाउँपालिकाले ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक गरी भिन्नभिन्न विशेषता बोकेको पाइन्छ । सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियारी एवं राष्ट्रिय बिभुति भिमसेन थापाको नामबाट यस गाँउपालिकाको नामाकारण गरिएको हो । भौगोलिक विविधता, पाखा, पखेरा, जंगल, खोल्सा, खोल्सी, खोंच र बेँसी तथा अन्य प्राकृतिक सम्पदाले भरिएको यो गाउँपालिकाको क्षेत्रफल १ सय १ दशमलव ३५ वर्ग किलोमिटर रहेको छ । यो गाउँपालिकाको जनसंख्या २२ हजार ३ सय ३ रहेको छ भने यहाँ ८ ओटा वडा रहेका छन् ।

गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के-के हुन्, पछिल्लो समय गाउँपालिकामा के–कस्ता परिवर्तन आएका छन्, युवालाई रोजगारीको अवसर सृजना गर्न गाँउपालिकाले कस्तो भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा केन्द्रित हुँदै सो गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः प्रस्तुुत छ उक्त कुराकानीको अंश ।

गाउँपालिकामा कोरोनाका कारण परेको असर बारे केही बताइदिनुहोस् न

आज नागरिकहरु कोरोनाका कारण त्रसित हुने वातावरण त छैन तर लकडाउनको समयमा पालिकाले नसोचेको क्षती भने वेहोर्नु पर्यो । गाउँपालिकामा हुन लागेका विकास निर्माणका काममा नराम्रो असर त पुग्यो नै साथसाथै शिक्षा क्षेत्रमा पनि असर पुग्न गयो । कोरोनाको समयमा एकपल्टमै ५० जनासम्मलाई क्वारेन्टिनमा राख्नुपर्ने अवस्था आएको थियो । विदेश बाट आएकाहरुलाई हामीले १४ दिनसम्म क्वारेन्टिनमा राखेका थियौं । हामीले गाउँपालिका भित्र रहेका विद्यालयलाई क्वारेन्टिनको रुपमा पनि सञ्चालन गरेका थियौं ।

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ?

हाम्रो खासै ठुलो समन्वय भएको त छैन । प्रदेश सरकार बाट केहि बजेट आउने गरेको छ । प्रदेश सरकार बाट आएको बजेटलाई हामीले विभिन्न क्षेत्रमा विनियोजन गरेका छौं । प्रदेश सरकारले विकास निर्माणको काममा योजना हाल्दा हामीसँग त्यति परामर्श नगरेको हो कि भन्ने हामीले महशुस गरेका छौं । हामीले र प्रदेश सरकारले एउटै ठाउँमा बजेट हाल्ने गरेकोले कहिलेकाहिँ समस्या पनि देखा पर्ने गरेको छ ।

स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् नि ?

विकास निर्माणको सवालमा हेर्दा जनताको चाहना तथा आवश्यकता अनुसार हामीले योजनाहरु दिन सकेका छैनौं । कारण हो सिमीत बजेट । नेपाल सरकार र प्रदेश सरकारले पठाएको बजेट सिमित हुन्छ । त्यसैले हामीले ठुला योजनातर्फ काम गर्नै सक्दैनौं । हरेक टोलमा रहेका साना-साना योजनालाई पनि बजेट छुट्याउनु पर्ने हुन्छ । जे होस, समस्या आए पनि त्यसको समाधान गर्दै हामी अगाडि बढिरहेका छौं ।

केन्द्र सरकार बाट कत्तिको सहयोग मिलेको छ ?

केन्द्र सरकारले जनसंख्या तथा भुगोलको आधारमा हाम्रो गाँउपालिकालाई एकमुष्ट बजेट पठाउने गरेको छ । त्यहि पैसाले हामीले विकास निर्माणको काम गर्ने गरेका छौं । संघीय सरकारले देशभरी बाँडफाँड गर्ने पैसा हामीले पनि पाउने गरेका छौं । संघिय सरकार नै स्थानीय सरकारको स्रोत पनि हो । संघिय सरकार बाट आएको बजेटले नै हामीले गाँउपालिकाको विकास निर्माणका कामहरु गर्ने गरेका छौं ।

तपाईंको गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के हुन् ?

हाम्रो गाउँपालिकामा ठुला योजानाहरु खासै धेरै छैनन् । गाउँपालिका कार्यालय भवनको निर्माण भइरहेको छ । नेपाल सरकारको विधानअनुसार भवन निर्माण गर्न १० करोड रुपैयाँ लाग्छ भनेपनि हामी भने त्यसलाई घटाएर ८ करोड रुपैयाँ सम्ममै पनि तयार गर्ने प्रयासमा छौं । हामीले ७ करोड रुपैयाँ बराबरको टेन्डर पनि निकालेका छौं । शाखा कार्यालय निर्माणका लागि हामीले २ करोड रुपैयाँ बराबरको डिपिआर गर्न लागेका छौं । हामीले ८ ओटा वडालाई समेट्ने गरी ८ मिटर चौडाइको चक्रपथको कल्पना गरेका छौं । यसको डिपिआर पनि तयार भईसकेको छ । योभन्दा वाहेक गाउँपालिकामा ४ वटा खानेपानीको ठुला योजनाहरु पनि रहेका छन् । ८ सय घरधुरीसम्मलाई पुग्ने गरी खानेपानी योजना सम्पन्न हुन लागेको छ । हामीले नै सुरु गरेको १ सय धारा, अर्काे १ सय ७० धारा र त्यसैगरी ४ सय धारा खानेपानी तर्फ १ करोड रुपैयाँ भन्दा माथिका योजनाहरु पनि बनाएका छौं । यसतर्फ पनि काम भइरहेको छ ।

गाउँपालिकामा विकास निर्माणका कामहरु कत्तिको प्रभावकारी भएका छन् ?

धेरै नै प्रभावकारी छन् । विकासको काम प्रभावकारी भएकै कारणले गर्दा यहाँका नागरिक पनि हामीसँग खुसी छन् । हामीले पनि उनिहरुको आवश्यकतालाई सम्वोधन गर्ने खालका योजना गाउँसभा बाट पास गरेका छौं ।

तपाईं निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाँउपालिकामा कस्ता खाले परिर्वतन देखा परेका छन् त ?

म निर्वाचित भएर आइसकेपछि गाँउपालिकामा धेरै परिवर्तन आएको छ । पहिला सडक तथा खानेपानीको अवस्था राम्रो थिएन । हामी निर्वाचित भएर आएपछि ती सबै क्षेत्रमा परिवर्तन र विकास भएको छ । हामी प्रत्येक घरमा धारा र प्रत्येक धारामा पानी दिनका लागि कम्मर कसिरहेका छौं । विद्युत प्राधिकरणसँगको समन्वयमा गाउँपालिकामा रहेका काठका पोल हटाएर फलामका पोल गाडेका छौं । सडक निर्माणको कामहरु पनि भईनै रहेको छ । ‘एक वडा एक पक्की बाटो’ भन्ने अभियानै चलाएका छौं । रातीको समयमा सहज हिँडडुलका लागि भनेर सडक बत्तिको पनि व्यवस्था गरेका छौं । यिनै तथ्यहरुले पनि म निर्वाचित हुनु अघि र पछिका परिवर्तनलाई दर्शाउँछन् जस्तो लाग्छ ।

आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ?

भिमसेन थापा नेपालकै पहिलो प्रधानमन्त्री हुन् । उनको जन्म हाम्रै ठाँउमा भएको हो र उनकै नाम बाट हाम्रो गाउँपालिकाको नाम पनि राखिएको हो । यो ऐतिहासिक भूमीमा हामीले पर्यटन क्षेत्रको प्रचारप्रसार गरिरहेका छौं । तर प्रचार गरेजस्तो परिणाम भने आएको छैन । यहाँ हामीले पर्यटकिय मार्ग बनाउने योजना बनाएका छौं । धार्मिकस्थल पनि गाँउपालिकामा धेरै रहेका छन् र यिनीहरुको पनि हामीले प्रचारप्रसार गरिरहेका छौं । बुढिगण्डकी जलविद्युत आयोजना पनि बन्ने क्रममै रहेको छ । गाउँपालिकामा भिमसेनथापाको सालिक राख्नको लागि हामीले सालिक बनाई सकेका छौं । अनुकुल ठाँउमा पार्क, भ्युटावर लगायत बनाउने योजना पनि गाउँपालिकाले बनाएको छ । हामीले पर्यटनको पूर्वधारको पनि विकास गरेका छौं ।

गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

यसतर्फ धेरै काम भएको छ । यहाँका धेरै मानिसहरु खेतीकिसानी गर्छन् । सकभर जमीनलाई बाँझो नराख्न हामीले आग्रह गरेका छौं । त्यसैगरी किसानलाई सहुलियत दिने योजना पनि अगाडि सारेका छौं । हामीले फलफुल, तरकारीको पकेट क्षेत्र छुट्याएका छौं । पकेट क्षेत्रमा पनि किसानलाई व्यावसायिक बनाउने र अनुदान समेत दिने व्यावस्था मिलाएका छौं । हामीले गाउँपालिकामा रहेका किसानहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेका छौं । कोदो खेती धेरै मात्रामा गर्ने किसानलाई पुरष्कारको पनि व्यवस्था मिलाएका छौं । किटनासक औषधी पनि हामीले वितरण गरेका छौं । किसानलाई मलको पनि व्यवस्था मिलाएका छौं । कोदो कुट्ने मेशिन किसानहरुलाई उपलब्ध गराएका छौं । कृषि विकासको लागि भनेर वार्षिक रुपमा लगभग ५० लाख रुपैयाँ बराबरको बजेट छुट्याउँदै आइरहेका छौं । आलु र मकैको विउमा हामीले ५० प्रतिशत अनुदान पनि दिएका छौं ।

गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

गाँउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम रहेको छ । हामीले युवाहरुलाई विकास निर्माणको काममा लगाएर रोजगारी दिने गरेका छौं । गाउँपालिकामा धेरै युवाहरु कृषिमा पनि लागेका छन् । हामीले ठाउँ तथा अवस्था अनुसार उनीहरुलाई बाख्रा पालन अथवा खेतीतर्फ अग्रसर गराएका छौं । यहाँ उद्योगधन्दाको विकास गर्न सकिएको छैन । यदि उद्योेगको विकास गर्न सकिन्थ्यो भने यहाँका युवाहरुलाई पर्याप्त मात्रामा रोजगारी पनि दिन सकिने थियो ।

तपाईंको गाउँपालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ?

हाम्रो गाउँपालिकामा ठुलो उद्योग रहेको छैन । किसानहरुले खेती गर्छन् । बुढिगण्डकी जलविद्युत आयोजना बनिरहेको छ । तर कहिले बाट यसको काम सञ्चालन हुन्छ भन्ने चाहिँ अझै टुङ्गो छैन ।

तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्यो भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ?

हामी विशेष गरेर खाद्य वस्तुको उत्पादनमा जोड दिने थियौं । हामीले कोल्ड स्टोर बनाउने योजना बनाएका छौं । किसानले उत्पादन गरेको आलु तथा विभिन्न तरकारीहरु भण्डारण गर्नका लागि ठुलो खालको कोल्ड स्टोर बनाउने योजना छ । जे होस्, गाउँपालिकाका जनतालाई आवश्यकीय दैनिक उपभोग्य वस्तुको उत्पादनमा हामी जोड दिन्छौं ।

तपाईंले आजसम्म गरेको कार्य प्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ?

आफूले गर्छु भनी योजना बनाएका कतिपय काम गर्न बाँकी नै छन् । तरपनि आजका दिनसम्म आफूले गरेको कार्य प्रति म एकदम सन्तुष्टनै छु । पहिलेको हेरी अहिलेको अवस्थामा यहाँ निक्कै परिवर्तन आइसकेको छ । अब चाहेर पनि गर्न नसकेका कामहरु भने आगामी वर्षको बजेट बाट भएपनि पुरा चाहिँ गर्ने विचार छ ।

तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

यहाँका नागरिकले भोलिका दिनमा पनि मलाई खराब काम नगर्ने र एकदमै इमान्दार प्रतिनिधीको रुपमा सम्झिरहुन् भन्ने चाहेको छु । त्यसका लागि जनताको चाहना र आवश्यकता कम्मर कसेरै पूरा गर्ने लक्ष्य बनाएको छु । घरघरमा सडक पुर्याउने योजना छ । गाँउपालिकमा रहेका हरेक स्वास्थ्य चौकीलाई व्यवस्थित रुपमा सञ्चालन गराउने योजना पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.