बच्चन, खान जस्ता बलिउड सुपरस्टारको कपडा सिलाउने टेलरमा सिकेपछि स्थापित प्रेमको ‘त्रिशक्ति सपना’

  २०७७ माघ १६ गते ९:५६     नरेन्द्र रौले

काठमाडौं । सानो लगानीबाट सुरु गरिएको व्यवसायले कुनै बेला नसोचेको परिणाम दिदो रहेछ । यसमा निरन्तर मिहिनेत, लगाब र धैर्यताको भने खाँचो हुन्छ ।

ललितपुरको हरिसिद्धिका प्रेम कुमार महर्जनकै उदाहरण लिउँ । उनले २२ वर्ष अगाडी १० हजार रुपैयाँमा टेलरिङ व्यवसाय सुरु गरेका थिए । अहिले २५ जना कालिगढ र ५ जना स्टाफ राखेर लाखौंको कारोबार गरिरहेका छन् ।

प्रेमले सुरुमा आफ्नै घरको प्रयोगका लुगा सिलाउँने मेसिनको प्रयोग गरे । व्यवसाय नै गर्छु भन्ने मनमा थिएन । काम गर्दै जाँदा उनको मनमा लुगा कपडाकै व्यवसाय गर्ने सोच पलायो ।

मानिस जन्मेदेखि मृत्युपछिको प्रकृया गर्न पनि कपडा नै आवश्यक पर्छ । यसै कारण उनी कपडा व्यवसायप्रति आकर्षित बने । त्यही रहर र उत्साहले चालेका उनका पाइलाहरु कहिल्यै रोकिएनन् ।

उर्जा र जोशमा कत्ति पनि कमी आएको छैन । २२ वर्षदेखि निरन्तर एउटै व्यवसायमा छन् । यति लामो समयसम्म गरेको संघर्ष र मिहिनेतले आफ्नो बेग्लै ब्राण्ड बनाइसकेका छन्, त्रिशक्ति टेलर्स । जसको नारा नै छ, सिलाईमा शक्ति, त्रिशक्ति ।

१० हजार रुपैयाँको लगानीमा प्रेमले व्यवसाय थालेका थिए । हरिसिद्धिस्थित आफ्नो घरमै सिमित रहेको पसललाई उनले लगनखेलमा विस्तार गरे । गुणस्तर र राम्रो सेवाकै कारण दुई दशकभन्दा लामो समयदेखि ग्राहकले त्रिशक्तिको साथ कहिल्यै छाडेनन् । पुरानो मेसिनबाट थालिएको यो व्यवसायमा सञ्चालक प्रेमले २५ वटा आधुनिक मेसिन थपिसकेका छन् । उनले २५ जना कालिगढ र त्रिशक्तिको शोरुममा ५ जनालाई रोजगारी दिलाएका छन् ।

आफू सञ्चालक भएपनि प्रेमलाई ‘मालिक हूँ’ भन्ने घमण्ड छैन । र, त्यस्तो कहिल्यै सोचेनन् पनि ।

उनी आफै मेसिन चलाउँछन् । आफै कटिङ गर्छन् । आफै लुगा पनि सिलाउँछन् । यसले गर्दा अरुलाई काम सिकाउँन, अह्राउँन सजिलो बनाएको छ । म्यानपावर नभएको बेला, संकटका बेला उनी आफै अघि सर्छन् ।

त्रिशक्ति सञ्चालनमा ल्याउँनु अगाडी टेलरिङ व्यवसायबारे सिक्न र अपग्रेड हुन उनी भारतको मुम्बइ पुगेका थिए । विशेष तालिमपछि दुई वर्ष उनले मुम्बइकै चर्चित टेलरिङ शपमा काम गरे । जहाँ भारतीय चर्चित सेलिब्रिटी अमिताभ बच्चन, सलमान खान, शारुख खानलगायतको पहिरन तयार हुन्थ्यो ।

कमाइ त प्रेमको मासिक १२ हजार भारु मात्र हुन्थ्यो । तर, तत्कालका लागि पैसा सिकाइ र अनुभव महत्वपूर्ण पक्ष थियो ।

पैसा त प्रेमले नेपाल फर्किएपछि कमाए ।

मुम्बईमा बस्दा सिकेको ज्ञान, सीप र अनुभबलाई उनले त्रिशक्ति टेलर्समा सदुपयोग गरे । १० हजारबाट थालेको व्यवसायमा उनले दुई वर्षपछि ऋण लिएर २०, २५ लाख रुपैयाँ लगानी बढाए । सुरु–सुरुमा दैनिक १२, १३ घण्टा खट्न थाले ।

‘मनैदेखि गरिएको काममा कहिल्यै उर्जाको कमी हुँदैन, मलाई कहिल्यै थकान र दिक्क लागेन,’ उनले सुनाए ।

शालिन स्वभाब, मीठो बोली र मन्द मुस्कान दिईरहनु उनको विशेषता नै हो । ग्राहकलाई घरकै सदस्य जस्तो व्यवहार गर्न उनी कुनै कन्जुस्याँई गर्दैनन् । ग्राहकहरुलाई खुसी बनाउने हो भने फर्केर आउछन् भन्ने उनको बुझाई छ ।

अब त अनुभवले उनी यति खारिईसकेका छन् कि कसैको फोटो हेरेकै भरमा कपडाको नाप लिन्छन् । व्यस्तताले त्रिशक्तिको शोरुममा आउन नभ्याउनेहरुलाई फोटोकै आधारमा उनले नाप लिएर कपडा तयार पार्छन् । यसो गर्दा पनि साइजमा कत्ति फरकै नपर्ने अनुभब उनी सुनाउँछन् ।

त्रिशक्तिले सुट पाइन्ट, लङकोट, ओभर कोट, स्कुलका ड्रेस, पाइलट र एयर होस्टेसका ड्रेस सिलाउने गर्छ । रेमण्ड, जिग्ज्याम लगायत विभिन्न विदेशी लुगाका ब्राण्डहरु यहाँ उपलब्ध छन् । सबै बर्गका ग्राहकहरू लक्षित गरेर सेवा दिने गरेको प्रेम बताउँछन् । छिटै नै काठमाडौं उपत्यकाभित्र शाखा बिस्तार गर्ने उनको योजना छ ।

बजारमा नयाँ–नयाँ फेशन आइरहन्छ । नयाँ–नयाँ डिजाइन पनि उत्तिकै आइरहन्छन् । दुई दशक यसै पेशामा बिताएका प्रेमलाई अझै सिकौं–सिकौं लागिरहन्छ । पढाई जस्तै यो सिक्ने यो क्रम कहिल्यै नसकिने लाग्छ उनलाई ।

कोभिड–१९ को महामारीपछि तीन महिना व्यवसाय बन्द हँुदा उनको व्यवसायमा केही समस्या भयो । आत्मविश्वास बलियो बनाउँदै प्रेम अगाडी बढे । लकडाउन खुलेपछि भने व्यवसायले रफ्तार लिन थाल्यो ।

‘मासिक कमाई कति छ ?’ उनलाई सोधियो ।

‘३० जना स्टाफहरु पालिएको छ, ४ जनाको परिवार खुसीले बाँचिरहेका छौं,’ उनले हास्दै भने ।

यो क्षेत्रमा प्रशस्त सम्भावना भएको प्रेमको अनुभव छ । उनी युवाहरुलाई टेलरिङ व्यवसायमा लाग्न प्रेरित गरिरहन्छन् । मिहिनेत गर्ने हो र निरन्तरता दिने हो भने सफलता मिल्नेमा शंका छैन भन्ने लाग्छ उनलाई ।

प्रेम गीत, संगीत, घुमफिरमा उनी रुचि राख्छन् । घुमेकामध्ये इलाम उनलाई सबैभन्दा मन परेको जिल्ला हो । फुर्सदमा फेसबुक, युट्युबमा समय बिताउँछन् ।

राजनीतिमा खासै रूची नराख्ने प्रेम विस्तारै यतातिर आकर्षित हुँदैछन् । हाल नेपाल कपडा सिलाई तथा व्यवसायी महासंघका सह–कोषाध्यक्ष छन् उनी नेपाल कपडा सिलाई तथा व्यवसायी संघ ललितपुरका अध्यक्ष हुन् । देशभर ७० जिल्लामा संघको संजाल विस्तार भइसकेको छ । बाँकी जिल्लामा पनि अब संगठन विस्तार गर्न लागेको उनी सुनाउँछन् ।

थुप्रै जिल्ला घुमिसकेका उनले युवाहरूसँग प्रत्यक्ष संवाद गरेका छन् । नेपाल कपडा सिलाइतथा व्यवसायी महासंघले भने देशका बिभिन्न स्थानमा टेलरिङ व्यवसायबारे तालिम प्रदान गरिरहेको छ । युवाहरुलाई विदेश जानभन्दा स्वदेशमै पसिना बगाउन उनी सल्लाह दिन्छन् । महासंघले पनि यहि कुरालाई ध्यानमा राखेर ब्यापक रुपमा तालिम दिइरहेको छ ।

‘युवाहरु विदेसिन नपरोस्, देशको मेरुदण्ड भनेकै युवा त हुन्,’ प्रेमले आफ्नो निष्कर्ष सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.