तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदै

  २०७७ पुष २८ गते १२:४१     विकासन्युज

मकवानपुर । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौंडाबाट सङ्घीय राजधानी काठमाडौं जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताएका छन् । हेटौंडा-वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाई मन्दिर परिसरमा रहेको १०४ वर्ष पुरानो २०० मिटर सुरुङ मार्ग निरीक्षणका क्रममा उनले सो जानकारी दिएका हुन् ।

मन्त्री फुयाँलले काठमाडौंको बूढानीलकण्ड र गोकर्णेश्वर-बालुवाताल तथा मकवानपुरको भीमफेदी-कुलेखानी पोष्टबहादुर बोगटी सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजित गरिसकेको बताए ।

उनले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले तीनै सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्ने क्रममा कानूनी प्रक्रिया पूरा गरिरहेको र केही दिनभित्रै सूचना प्रकाशित गरिने जानकारी दिए । मन्त्री फुयाँलले प्रदेशका जनतामा विकासप्रतिको भरोसा दिलाउन इञ्जिनीयर प्राविधिकलाई इमान्दारीका साथ काम गर्न निर्देशन दिए ।

उनले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयद्वारा केही दिनअघि पदपूर्तिको लागि दिइएको प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएका २२ इन्जिनीयरलाई स्वागत गरे । मन्त्री फुयाँलले हेटौंडा उपमहानगरपालिका-१५ स्थित राणाकालमा निर्मित १०४ वर्षीय पुरानो सुरुङ मार्गको स्थलगत अवलोकन गरेका थिए । यसै आर्थिक वर्षभित्र उक्त पुराना सुरुङमार्गलाई सञ्चालन गर्न सम्भाव्यता प्राविधिक सर्वेक्षण भइरहेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.