बैंकको सस्तो सेयर खोज्दै हुनुहुन्छ ? यी हुन् ३ सयभन्दा कम मूल्यमा पाइने ९ वाणिज्य बैंक

  २०७७ पुष २७ गते १६:४८     विकासन्युज

काठमाडौं । बढी प्रतिफल दिने कम्पनीको सस्तो मूल्यमा सेयर किन्ने चाहना सबैलाई हुने गर्छ । तर, राम्रा कम्पनीको सेयर सस्तो मूल्यमा भने पाइदैन ।

अल्पकालिन लगानीकर्ताले कम्पनीले दिने प्रतिफललाई ध्यानमा राखेर सेयर किन्ने गरेका हुँदैनन् । अल्पकालिन लगानीकर्ताको ध्यान भने बजारमा तत्काल आउने उतारचढावप्रति बढी हुने गर्छ । तर, आफूले सेयर किनिसकेपछि सो कम्पनीको मूल्य घट्यो भने सेयर होल्ड गर्नुपर्ने बाध्यता आउन सक्छ । सेयर होल्ड गर्दा भने कम्पनीले प्रदान गर्ने प्रतिफल प्रमुख विषय बन्न सक्छ ।

नेपालका वाणिज्य बैंकहरुको औसत प्रतिफल १० प्रतिशतभन्दा बढी नै छ । अर्थात एक कित्ता सेयर हुनेले वार्षिक १० प्रतिशतभन्दा बढी प्रतिफल पाउन सक्ने अवस्था छ । लागतका आधारमा पाउने प्रतिफललाई मात्रै ध्यान दिने हो भने कतिपय अवस्थामा सस्तो मूल्यमा पाइने सेयरले बढी मूल्यमा पाइने कम्पनीको भन्दा बढी प्रतिफल पनि दिन सक्छ ।

हामीले यहाँ ३ सय रुपैयाँभन्दा सस्तो मूल्यमा दोस्रो बजारमा सेयर पाइने वाणिज्य बैंक र उनीहरुले प्रदान गरेको प्रतिफलका बारेमा जानकारी दिँदैछौं ।

अहिले दोस्रो बजारमा ९ वटा वाणिज्य बैंकको सेयर मूल्य प्रतिकित्ता ३ सय रुपैयाँभन्दा कम छ । प्रतिकित्ता ३ सय रुपैयाँभन्दा सस्तो मूल्यमा दोस्रो बजारमा सेयर पाइने बैंकहरुमा बैंक अफ काठमाण्डू, सेन्चुरी, सिभिल, कुमारी, लक्ष्मी, माछापुच्छ्रे, मेगा, नेपाल बंगलादेश (एनबी) र सनराइज हुन् ।

आज (२७ पुस) नेपाल स्टक एक्सचेन्जमा बैंक अफ काठमाण्डूको सेयर प्रतिकित्ता २ सय ८८ रुपैयाँमा कारोबार बन्द भयो । सो बैंकले गत वर्षको नाफाबाट प्रतिकित्ता ३ रुपैयाँ नगद र १३ प्रतिशत बोनस सेयर गरी १६ प्रतिशत प्रतिफल दिएको छ । यद्यपि, बैंक अफ काठमाण्डूको साधारणसभा सकिएको छ र यस्तो प्रतिफल यो वर्ष सेयर किन्नेले पाउँदैनन् ।

सेन्चुरी कमर्सियल बैंकको सेयर आज प्रतिकित्ता २ सय २० रुपैयाँमा कारोबार बन्द भएको छ । सेन्चुरीले २ वर्षको साधारणसभा गर्न बाँकी छ । उसले अघिल्लो वर्षको नाफाबाट २.२५ प्रतिशत नगद र ५.२५ प्रतिशत बोनस सेयर गरी ७.५ प्रतिशत प्रतिफल दिदैछ । यस्तै, गत वर्षको नाफाबाट ४.७५ प्रतिशत नगद र २ प्रतिशत बोनस सेयर गरी ६.७५ प्रतिशत प्रतिफल दिदैछ । सेन्चुरीको साधारणसभा भइसकेको भने छैन ।

सिभिल बैंकको सेयर मूल्य प्रतिकित्ता २ सय ३ रुपैयाँ छ । सिभिलले वार्षिक साधारणसभा तय गरिसकेको छैन भने उसले प्रदान गर्ने प्रतिफल पनि घोषणा भएको छैन ।

कुमारी बैंकको सेयर मूल्य आज प्रतिकित्ता २ सय ८७ रुपैयाँमा कारोबार बन्द भएको छ । उसले गत वर्षको नाफाबाट सेयरधनीलाई ३.५ प्रतिशत नगद र १०.८५ प्रतिशत बोनस सेयर दिएको छ । कुमारीले गत वर्षको साधारणसभा गरिसकेकोले अहिले सेयर किन्नेले यस्तो प्रतिफल भने पाउने छैनन् ।

लक्ष्मी बैंकको सेयर आज दोस्रो बजारमा प्रतिकित्ता २ सय ७५ रुपैयाँका कारोबार बन्द भएको छ । लक्ष्मीले २.५ प्रतिशत नगद र ९ प्रतिशत बोनस सेयर गरी ११.५ प्रतिशत प्रतिफल प्रदान गर्दैछ । लक्ष्मीको गत वर्षको साधारणसभा भइसकेको छैन ।

माछापुच्छ्रे बैंकको सेयर मूल्य प्रतिकित्ता २ सय ७५ मा कारोबार बन्द भएको छ । उसले गत वर्षको नाफाबाट ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस सेयर प्रदान गरेको छ । माछापुच्छ्रे बैंकले पनि गत वर्षको साधारणसभा गरिसकेको छ ।

मेगा बैंकको सेयर मूल्य प्रतिकित्ता २ सय ८७ रुपैयाँमा कारोबार बन्द भएको छ । मेगाले गत वर्षको नाफाबाट ३.०५ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी १३ प्रतिशतभन्दा बढी प्रतिफल प्रदान गर्दैछ । मेगाले गत वर्षको साधारणसभा गरिसकेको छैन ।

एनबी बैंकको सेयर आज प्रतिकित्ता २ सय ८० रुपैयाँमा कारोबार बन्द भएको छ । एनबीले गत वर्षको नाफाबाट २.४२ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर गरी ८.४२ प्रतिशत प्रतिफल दिएको छ । एनबीले गत वर्षको साधारणसभा गरिसकेको छ ।

आज सनराइज बैंकको सेयर मूल्य प्रतिकित्ता २ सय ७० रुपैयाँमा कारोबार बन्द भएको छ । उसले गत वर्षको नाफाबाट सेयरधनीलाई प्रतिकित्ता २.४८ प्रतिशत नगद र ५.८ प्रतिशत बोनस सेयर प्रदान गरेको छ । सनराइजले पनि गत वर्षको साधारणसभा गरिसकेको छ ।

यद्यपि, सेयर बजारमा लगानी गर्नु जोखिमपूर्ण हुन्छ । कुनै पनि कम्पनीको सेयर किन्ने वा बेच्ने निर्णय लगानीकर्ताले आफै बिचार गरेर गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.