पुसको १५ दिनमा बैंकहरुको व्यवसायः निक्षेप ३९ अर्ब र कर्जा ३८ अर्बले बढ्यो

  २०७७ पुष २२ गते १०:०९     विकासन्युज

काठमाडौं । पुस महिना लागेपछि बैंकहरुका कर्जा र निक्षेपको बृद्धिदर करिब समान देखिएको छ । पुस ३ गतेदेखि १७ गतेसम्ममा कर्जा ३८ अर्ब र निक्षेप ३९ अर्ब रुपैयाँले बढेको छ ।

वाणिज्य बैंकहरुको संस्था नेपाल बैंकर्स एसोसिएसनले दिएको जानकारी अनुसार पुस ३ गतेसम्ममा वाणिज्य बैंकहरुमा कुल निक्षेप ३७ खर्ब १७ अर्ब रुपैयाँ थियो । पुस १७ गते यस्तो निक्षेप बढेर ३७ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ । यो १५ दिनको अवधिमा बैंकहरुमा निक्षेप ३९ अर्ब रुपैयाँले बढेको हो ।

यस्तै, सो अवधिमा कर्जा भने ३८ अर्ब रुपैयाँले बढेको छ । पुस ३ गते बैंकहरुले ३१ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । पुस १७ गतेसम्ममा पुग्दा वाणिज्य बैंकहरुले प्रवाह गरेको कर्जा बढेर ३१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ ।

अधिक तरलता १६६ अर्ब

बैंकहरुका निक्षेप संकलनको तुलनामा कर्जाको माग कम हुँदा अधिक तरलता जम्मा भएको छ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलले दिएको जानकारी अनुसार बैंकिङ क्षेत्रमा अहिले १ खर्ब ६६ अर्ब ६४ करोड रुपैयाँ अधिक तरलता छ । तरलता प्रशोचनको लागि नेपाल राष्ट्र बैंकले पटक पटक बोलकबोल विधिबाट निक्षेप तानिरहेको छ । एक साता अघि बैंकिङ क्षेत्रमा २ खर्ब ३ अर्ब रुपैयाँ अधिक तरलता थियो ।

अन्तर बैंक व्याजदर ०.२ प्रतिशत

बैंकिङ क्षेत्रमा आवश्यकताभन्दा बढी रकम जम्मा भएपनि बैंकहरुले एकापसमा लिने अल्पकालिन कर्जाको व्याजदर ०.२ प्रतिशतभन्दा कम भएको छ । राष्ट्र बैंकका अनुसार अहिले अन्तर बैंक कर्जाको व्याजदर ०.१९ प्रतिशत छ ।

अधिक तरलतामा व्याज देऊः बैंकर

बैंकहरुले आफूलाई चाहिनेभन्दा बढी जम्मा भएको रकम नेपाल राष्ट्र बैंकमा लगेर जम्मा गर्ने गर्छन् । बैंकहरुले यसरी राखेको रकम नै अधिक तरलता हो ।

यसरी जम्मा गरेर राखिएको रकमको निश्चित प्रतिशत व्याज दिन बैंकहरुले नेपाल राष्ट्र बैंकसँग माग गरेका छन् । आफूले निक्षेपको व्याज दिनै पर्ने तर अधिक तरलताको रुपमा जम्मा भएको रकम निव्र्याजी रुपमा राष्ट्र बैंकमा लगेर थुपार्नु पर्दा समस्या भएको उनीहरुको भनाई छ । तर, राष्ट्र बैंकले यस्तो रकममा व्याज दिन नसकिने बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.