अपि पावरद्वारा सौर्य विद्युत आयोजनाको निमार्ण शुरू, वित्तीय व्यवस्थापनमा बैंक अफ काठमाण्डू

  २०७७ पुष २० गते २२:४०     विकासन्युज

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चन्द्रनिगाहपूर सौर्य विद्युत आयोजनाकाे निर्माण कार्य शुरु गरेको छ । कम्पनीले इनर्जी मिक्सको सिद्धान्त अनुरुप कार्य गरी चौथो आयोजनाको रुपमा ग्रिडमा आवद्ध ४ मेगावाट क्षमताको चन्द्रनिगाहपूर सौर्य विद्युत आयोजना पहिचान गरी निर्माण कार्य शुरु गरेको हाे ।

प्रदेश २, रौतहट जिल्ला, चन्द्रपुर नगरपालिकामा सौर्य ऊर्जा उत्पादन प्यानलहरु कम्पनीले जडान गरी विद्युत उत्पादन गर्ने छ । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको चन्द्रनिगाहपूर सव-स्टेशनको ३३ के.भि. बसबारमा जडान गरी राष्ट्रिय प्रशारण लाईनमा विद्युत प्रवाह गरिनेछ । कम्पनीका अनुसार यस आयोजनाबाट वार्षिक ६९ लाख २५ हजार युनिट विद्युत उत्पादन हुनेछ ।

कम्पनीका अनुसार यो आयोजना निर्माणका लागि जम्मा ३३ करोड लगानी लाग्ने अनुमान गरिएको छ । कुल लागत मध्ये २५ प्रतिशतले हुने रकम ८ करोड २५ लाख रुपैयाँ कम्पनीले आफ्नो स्वपूँजीबाट लगानी गरिने कम्पनीले जनाएको छ । र, बाँकी ७५ प्रतिशतले हुने रकम २४ करोड ७५ लाख रुपैयाँ बैंक अफ काठमाडौंको सहभागितामा बैंक ऋण प्रवाह गर्ने गरी वित्तीय व्यवस्थापन सम्झौता कम्पनीले आज (पुस २० गते)का दिन सम्पन्न गरेको छ ।

आयोजनाको वित्तीय व्यवस्थापन सम्झौतामा कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष सतिस न्यौपानेले हस्ताक्षर गरेका छन् भने बैंक अफ काठमाडौंका तर्फबाट बैंकका चिफ विजनेस अफिसर विमल डागाँले हस्ताक्षर गरेका छन् ।

अपि पावर कम्पनीले आफ्नो लगानी तथा बैक ऋणबाट सुदुर पश्चिम प्रदेश, दार्चुला जिल्लामा वहने नौगड गाढ नदीको पानी उपयोग गरी प्रथम ८.५ मेगावाट क्षेमताको नौगड गाढ जलबिद्युत आयोजना र दाश्रो ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजनाहरु सञ्चालन भई नियमित विद्युत उत्पादन गरी राष्ट्रिय ग्रिडमा बिद्युत प्रवाह गरिरहेको छ । कम्पनी द्वारा सञ्चालनमा रहेका यी दुवै आयोजनाबाट उत्पादित विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणको बलाचँ सवस्टेशनमा जडान गरी अत्तरीया-वलाँच १३२ के.भी. ट्रान्समिसन लाईन मार्फत विद्युत प्रवाह भईरहेको छ ।

सुदुर पश्चिम प्रदेश, दार्चुला जिल्ला, अपि हिमाल र मार्मा गाउँपालिका भई वहने चमेलिया नदीको पानी उपयोग गरी कम्पनीले तेश्रो जलविद्युत आयोजना ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत निर्माणको कार्य द्रुत गतिमा गरिरहेको छ । यस आयोजनाबाट वार्षिक २६ करोड ४१ लख युनिट विद्युत उत्पादन हुनेछ । यस आयोजना निर्माणका लागि जम्मा ७ अर्ब ४० करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । कुल लागत मध्ये ७० प्रतिशतले हुने रकम ५ अर्ब १८ करोड रुपैयाँ हिमालन बैंकको अगुवाईमा बैंक ऋण प्रवाह गर्ने गरी वित्तिय व्यवस्थापन सम्झौता मिति २०७७ साल आश्विन ११ गतेका दिन सम्पन्न गरिएको छ ।

बाँकी ३० प्रतिशतले हुने रकम २ करोड २२ लाख रुपैयाँ कम्पनीले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गरी २ चरणमा रकम संकलन गरी लगानी गर्ने योजना बनाई कम्पनीले काम गरिरहेको छ । जसमध्ये प्रथम चरणको हकप्रद सेयर कम्पनीले गत फागुन ३० गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ शेयर बराबर नयाँ ०.४७६१९०४७६१९ को अनुपातमा प्रतिसेयर एक सय रूपैयाँ अंकित दरको ५६ लाख ७० हजार कित्ता हकप्रद साधारण शेयरको निष्काशन तथा विक्रि खुल्ला गरेकाे थियाे । जसबाट ४३ कराेड २३ लाख ७८ हजार २०० रूपैयाँ स्वपूँजी संकलन गरेकाे कम्पनीले जनाएकाे छ ।

बाँकी १३ लाख ४६ हजार २१० कित्ता सेयर शिलबन्दी बोलकबोल बढाबढ प्रकृयाबाट खुल्ला गरिएकाे थियाे । जसमा जम्मा ४३ लाख ६१ हजार १२४ कित्ताको आवदेन प्राप्त गरिएको छ । जसमध्ये बोलकबोल बढाबढ प्रकृयाबाट १३ लाख ४६ हजार २१० कित्ता सेयर बाँडफाँड अधिकतम मूल्य २३० रुपैयाँका दरले तथा न्यूनतम २०२ रुपैयाँका दरले प्रतिकित्ता बाँडफाँड गरी कम्पनीले जम्मा २८ करोड ६७ लाख रुपैयाँ संकलन गरेको जानकारी गराएकाे छ ।

कम्पनीले यस आयोजनाको निर्माण २४ महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिई कार्य गरिरहेको छ । आयोजनाको विद्युत बिक्रीबाट प्रथम वर्ष १ अर्ब ६२ करोड आय आर्जन हुनेछ र सो आयमा ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले वृद्धि हुँदै जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.