सेयर बजारमा बेवारिसे बनेको लगानीकर्तामैत्री एउटा उपकरण

  २०७७ पुष १७ गते १४:४६     शिव सत्याल

काठमाडौं । अहिले नेपाली पुँजी बजारको दोस्रो बजारमा लगानी गर्न मन लाग्यो भने तपाईंसँग दुईटा विकल्प उपलब्ध छन् । पहिलो विकल्प भनेको आफूसँग भएको पैसाले जति आउँछ, त्यति मूल्य बराबरको सेयर किन्ने । दोस्रो विकल्प, आफूसँग भएका सेयर धितो राखेर ऋण लिने र त्यो पैसाले सेयर किन्ने ।

आफूसँग भएको रकम बराबरको सेयर किन्नको लागि कुनै समस्या नै भएन । ब्रोकरलाई पैसा दिएपछि उसले सेयर किनिदिन्छ । अनलाइन मार्फत आफैले सेयर किन्न अर्डर गरेपनि भयो ।

आफूसँग भएको सेयर धितो राखेर ऋण लिने र त्यो पैसाले फेरि सेयर किन्ने हो भने त्यसका केही विशेष व्यवस्थाहरुको पालना गर्नुपर्छ । अहिलेको व्यवस्था अनुसार तपाईले आफूसँग भएको सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्नुहुन्छ । तर, यसरी ऋण लिँदा तपाईंसँग भएको सय रुपैयाँ मूल्य बराबरको सेयरमा ७० रुपैयाँ मात्रै ऋण पाइन्छ ।

सेयर धितो राखेर ऋण लिने प्रक्रियामा त्यो सेयरको मूल्यांकन कति हुने भन्ने जस्ता विषयमा बेग्लै नियमहरु छन् । यी नियम अनुसार बैंक वित्तीय संस्थाले ऋण दिन्छन् । नविर्सनुस् है, सय रुपैयाँ मूल्य कायम भएको सेयर धितो राखेपछि बैंक वित्तीय संस्थाहरुले ७० रुपैयाँ ऋण दिन्छन् ।

यदि, ३० रुपैयाँ लगानी गरेर सय रुपैयाँको सेयर किन्न पाइने हो भने कस्तो सोच्नुहुन्छ ? पक्कै पनि गज्जव हुन्थ्यो भन्ने लाग्ला । हो, तपाईंसँग नभएको ७० रुपैयाँको व्याज भने तिर्न तयार हुनुहुन्छ होला, हुनै पनि पर्यो ।

यहाँसम्म आइपुग्दा के कुरा प्रष्ट भयो भने तपाईंसँग जति पैसा छ, त्यो सबैको सेयर किन्न पाइने रहेछ । आफूसँग भएको सेयर धितो राखेर बैंक वित्तीय संस्थाहरुबाट ऋण लिने हो भने जति मूल्य बराबरको सेयर छ, त्यसको ७० प्रतिशत मात्रै ऋण लिन पाइने रहेछ । आफ्नो ३० प्रतिशत सम्पत्ति प्रयोग गर्न पाइएन है ।

तर, यस्तो मात्रै होइन । नेपाली पुँजी बजारमा अर्काे एउटा यस्तो उपकरण पनि छ, जुन प्रयोग गर्ने हो भने तपाईंसँग भएको भन्दा बढी मूल्य बराबरको सेयर पनि किन्न पाइन्छ ।

यो भनेको मार्जिन कारोबार हो । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले २०७४ सालमा मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन जारी गरेको छ । र, नेपाल स्टक एक्सचेन्जले २०७५ सालमा मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि पनि बनाएको छ । मार्जिन कारोबार सम्बन्धी निर्देशन र कार्यविधि दुबै बनेर कार्यान्वयनमा गइसकेका छन् ।

मार्जिन कारोबार भनेको आफूसँग भएको पुँजीभन्दा बढीको सेयर किन्न पाइने भन्ने हो । अहिलेको व्यवस्था अनुसार तपाईंसँग ५० रुपैयाँ छ भने त्यो पैसा लगेर सेयर ब्रोकरलाई दिएपछि उसले तपाईंलाई सय रुपैयाँ बराबरको सेयर किनिदिन्छ । अर्थात् आफूसँग भएको रकमभन्दा दोब्बर बढीको सेयर किन्न पाइन्छ ।

अझ प्रष्ट होऔं- सेयर धितो कर्जामा सय रुपैयाँको सेयर धितो राख्दा ७० रुपैयाँ ऋण पाइन्थ्यो । यही पैसाले सेयर किन्ने हो । मार्जिन कारोबारमा ५० रुपैयाँ लगेर ब्रोकरलाई दियो भने उसले ५० रुपैयाँ ऋण दिएर सय रुपैयाँको सेयर किनिदिन्छ । सय रुपैयाँको सेयर धितो राखेर ७० रुपैयाँ ऋण लिएर सेयर किन्नुभन्दा ५० रुपैयाँ दिएर सय रुपैयाँको सेयर किन्न पाउनु पक्कै पनि राम्रो कुरा हो ।

मार्जिन कारोबार सेयर लगानीकर्ताको लागि खासै आकर्षणको कुरा होइन । यो त सेयर कारोबारीहरुका लागि हो । लगानीकर्ता भनेको लामो समयका लागि सेयर किनेर बस्नेहरु हुन् । लामो समय भनेको कति समय हो भन्ने प्रश्न पनि आउँला । हाम्रो सन्दर्भमा एक वर्षभन्दा बढी समयको लागि सेयर किन्नेहरुलाई लगानीकर्ता मान्ने चलन छ । कारोबारी भनेको आफूले किनेको सेयरमा केही फाइदा पाउने वित्तिकै बेचिहाल्ने र फेरि फाइदा हुने जस्तो लागेको कम्पनीको सेयर किनिहाल्ने व्यक्तिहरु हुन् ।

मार्जिन कारोबारको प्रयोग किन भएन भनेर चर्चा गर्न लागेको, कता अल्मलिए जस्तो पो भएछ ।

मार्जिन कारोबार सम्बन्धी कानुनी व्यवस्था भइसकेको छ । पुँजी बजार सम्बन्धी सरोकारवालाहरु, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, ब्रोकर, लगानीकर्ता जसलाई सोधे पनि मार्जिन कारोबार अहिले अभ्यासमा छ भन्छन् । ब्रोकरसँग अहिलेसम्म कति जनाले यस्तो सुविधा लिए भनेर सोध्यो भने कसैले पनि लिएका छैनन् भन्छन् ।

त्यसो भए समस्या कहाँ छ त ?

यसको समस्या भनेको नै मार्जिन कारोबार खासगरी भन्ने हो भने मार्जिन कर्जा कार्यान्वयन गर्न कसैले पनि चासो नदेखाएर हो । भन्नको लागि र देखाउनको लागि नयाँ उपकरणको रुपमा मार्जिन कारोबार थपिए पनि कार्यान्वयको लागि सरोकारवाला कसैले पनि चासो देखाएका छैनन् ।

सबैभन्दा ठूलो समस्या त यसबारेको बुझाईमै छ । बैंक तथा वित्तीय संस्थामा सेयर धितो राखेर लिइने कर्जा र यो मार्जिन कर्जा उस्तै हो भन्ने बुझाई पनि यसको कार्यान्वयनको बाधक हो ।

अहिलेसम्म सेयर धितो राखेर बैंक वित्तीय संस्थाबाट लिइने सेयरधितो कर्जा जे प्रयोजनमा पनि प्रयोग गर्न पाइन्छ । तर, मार्जिन कर्जा भनेको सेयर किन्ने प्रयोजनको लागि मात्रै हो । यस्तो कर्जा बैंक वित्तीय संस्थाले दिँदैनन् । सेयर ब्रोकरसँग दिने कर्जा हो ।

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधिले मार्जिन कर्जा सुविधा अन्तर्गत लिइएको रकम कुनै एउटा कम्पनीको सेयर किन्न १० प्रतिशत मात्रै लगानी गर्न पाइन्छ भनेको छ । अर्थात तपाईले कुनै ब्रोकरसँग १ लाख रुपैयाँ मार्जिन ऋण लिन चाहनु भयो भने एउटा कुनै कम्पनीको १० हजार रुपैयाँको मात्रै सेयर किन्न पाउनु हुन्छ । कम्तिमा पनि १० वटा कम्पनीको सेयर किन्नै पर्ने वाध्यतामा तपाईं फस्नु हुन्छ । तपाईंले बढीमा ९ वटा मात्रै कम्पनीमा मूल्य बढ्ने सम्भावना देख्नुभयो भने पनि अहिलेको प्रावधान अनुसार मार्जिन कर्जा उपयोग गर्नु उपयुक्त नै हुन्न । यति साँघुरो मापदण्ड बनाइएको छ ।

यसको अर्काे समस्या भनेको ब्रोकरको पुँजी क्षमता हो । अहिले धितोपत्र बोर्डले सेयर ब्रोकरको चुक्ता पुँजी कम्तिमा २ करोड रुपैयाँ हुनुपर्छ भनेको छ । २ करोड रुपैयाँ चुक्ता पुँजी भएका ब्रोकरले मार्जिन कर्जा दिन सक्ने अवस्था पनि छैन ।

मार्जिन सुविधा अनुसार ब्रोकरले ऋण दिएका सेयरलाई धितोको रुपमा ब्रोकरले प्रयोग गरेर बैंक वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था हुनुपर्छ भनिरहेका छन् । यसो भए पुँजीको व्यवस्था गर्न सहज हुने र मार्जिन कारोबार बढ्न सक्ने आँकलन ब्रोकरको छ ।

मार्जिन कारोबारको लागि बनाइएको मापदण्ड अनुसार अहिले सुचिकृत भएकामध्ये धेरै कम्पनी योग्य हुदैनन् । यसका मापदण्ड निकै कसिला छन् । यसमा पनि केही सहजीकरण आवश्यक छ ।

मार्जिन ऋणका लागि लगानीकर्ताले चासो नदेखाएका छैनन् । ब्रोकरले वास्ता गरेनन् । नेप्से तथा धितोपत्र बोर्ड उपकरण ल्याएका छौं भनेर भन्छन् तर प्रभावकारी कार्यान्वयनको पहल गर्दैनन् । यो प्रडक्ट प्रभावकारी कार्यान्वयन गर्ने हो भने नेपाली पुँजी बजार थप तरल बनेर कारोबारलाई प्रोत्साहित भने गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.