अनि महानगरसँग मात्रै होइन, कोरोनासँग पनि लुक्दै भाग्नुपर्यो करनले

  २०७७ पुष १३ गते १५:५४     राजिब न्यौपाने

काठमाडौं । एकातिर कमजोर आर्थिक अवस्था, अर्काेतिर स्तरीय उच्च शिक्षाको अभिलाषा । यी दुबै आवश्यकता र चाहना पूरा गर्न एक वर्षअघि बैतडीबाट काठमाडौं छिरेका थिए करन बहादुर कुँवर ।

काठमाडौं आउन सजिलो छ अहिले । केही दशक अघिको जस्तो हप्तौं पैदल हिडेर गाडी भेट्नु पर्दैन । दुरदराजका ग्रामीण बस्तीहरुसम्म सडक संजाल पुगेको छ । गाडी चल्न थालेका छन् । भलै, ती सडकको अवस्था दयनीय र हिउँदमा मात्रै गाडी चल्ने किन नहोस् ।

काठमाडौं आएपछि उनलाई दैनिकी चलाउन गाह्रो भयो । यस्तै समस्याको बीचमा कसैले सुनाइदियो-फुटपाथमा व्यापार गर्ने विकल्प । अनि आजभन्दा एक वर्ष अघिदेखि लागे काठमाडौंको रत्नपार्कमा रहेको आकासे पुलमाथि छालाको पेटी बेच्न ।

‘काठमाडौं त आइयो, खान बस्नको लागि पैसाको आवश्यकता पूरा गर्न सक्ने आर्थिक अवस्था घरपरिवारको थिएन, अनि जागिर खोज्न थालें, जागिर पाइएन, अनि फुटपाथमा पेटी बेच्न लागेको हुँ,’ करनले भने ।

नभन्दै उनको कमाई राम्रो हुन थाल्यो । व्यापारबाट आएको पैसाले कलेजको फी र कोठाभाडा तिर्न पुग्ने हुन थाल्यो ।

‘अलि अलि पैसा त घर पनि पठाउँथें,’ करनले सम्झिए ।

उनको दैनिकी ठिकै चलिरहेको थियो । कक्षा १२ मा पढ्दै थिए । विहान पढ्न जाने, दिउँसोदेखि रत्नपार्कमा छालाको पेटी बेच्ने । रमाइलै थियो उनको दैनिकी ।

यही बीचमा विश्वलाई त्राहिमाम बनाउँदै कोरोना भाइरस महामारी आयो । स्कूल कलेज बन्द भए । कलकारखनामा ताला लगाइयो । सरकारले देशव्यापी लकडाउन घोषणा गर्यो । कोरोना भाइरस संक्रमणको डरले सर्वसाधारण भित्रबाट चुकुल लगाएर कोठामै कोच्चिएर बसे ।

उनको पेशा नै फुटपाथको व्यापार । त्यस्तो त्रासदीको समयमा उनी आफै बाहिर निस्कने आँट गर्न सक्ने अवस्थामा थिएनन् । निस्के पनि प्रहरीले कारबाही गरिहाल्थ्यो । सकडमा मान्छे हिड्दैनथे । व्यापार हुने सम्भावना थिएन । झन् कीर्तिपुर बस्ने करनलाई रत्नपार्क आएर व्यापार गर्न सम्भव छदै थिएन । गाडी पनि कहाँ चलेका थिए र त्यो बेला !

अनि अरु नेपालीले जस्तै, दुःखको बेला फेरि घर सम्झिए करनले ।

कोरोना महामारीको समयमा उनी ७ महिना घर बसे । अलि पछि त अनलाइन कक्षा पनि सुरु भयो । अध्ययनको सँगै उनी घरायसी काम र खेतीपातीमा लागे ।

यही बीचमा कक्षा १२ को परीक्षा भयो । परीक्षा दिए । घरमा ७ महिना बसेपछि उनी फेरि काठमाडौं आएर आफ्नो व्यापार सुरु गरेका छन् । तर, कोरोना महामारी अघिको जस्तो व्यापार अहिले नभएको उनको अनुभव छ ।

‘दिनको ७÷८ सय त कमाई भैहाल्छ नि, महिनामा १५ देखि २० हजार रुपैयाँ बचाउँछु, महानगर आएर बेलाबेलामा हामीलाई लखेट्छ, त्यसरी लखेटेपछि अर्काे ठाउँमा गएर फेरि व्यापार गर्ने हो, यसपाली त महानगरले मात्रै होइन, कोरोनाले पनि लखेट्यो काठमाडौंबाटै, तरपनि डराएर मात्रै हुँदैन, बाँच्नको लागि पनि केही न केही गर्नै पर्यो नि,’ करनले हाँस्दै भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.