होटल क्षेत्रमा १८ अर्बको नोक्सान, टिक्नै गाह्राे

  २०७७ पुष १० गते १०:३५     विकासन्युज

काठमाडौं । विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपाली होटल क्षेत्रमा ठूलो नोक्सान भएको छ । कोरोना भाइरसको कारण उत्पन्न लकडाउन र त्यसपछि विभिन्न समयमा भएको निषेधाज्ञाले नेपालको होटल क्षेत्रमा ठूलो क्षति पुगेको हो ।

होटल एसोसिएस अफ नेपाल (हान) का अनुसार कोरोना भाइरसका कारण होटल व्यवसाय करिब ठप्प भएको छ । अन्य देशजस्तै नेपालमा पनि विदेशी पर्यटक आउनै छाडेकोको कारण नेपालका होटलहरु ठप्प भएका हुन् ।

पर्यटकहरु नेपाल आउने प्रमुख सिजनमै विदेशीको आवागमन घटेपछि सबैभन्दा ठूलो मारमा होटल व्यवसायी परेका हुन् । हानका अनुसार अहिले नेपालको होटल व्यवसाय क्षेत्र २०७२ को भूकम्पलगत्तै भन्दा कमजोर अवस्थामा पुगेको छ ।

‘हानका महासचिव साजन शाक्ले पर्यटक आउने सिजनमै पर्यटकहरु नआएपछि नेपाली होटलहरु ठप्प भएको बताए । हाम्रो मुख्य कमाउने सिजन नै यही हो, यही सिजनमा पर्यटकहरु नआएपछि हामीलाई समस्या मात्र होइन करोडौं रुपैयाँ नोक्सान भइरहेको छ,’ शाक्यले भने ।

कोरोना भाइरसका कारण चैतदेखि बन्द भएका कतिपय होटलहरु हालसम्म सञ्चालनमा नआएको उनको भनाई छ । उनका अनुसार होटल व्यवसाय क्षेत्रले मासिक २ अर्ब रुपैयाँ नोक्सान व्यहोर्दै आएको छ । ‘चैतदेखि होटल व्यवसाय ठप्प नै छ, ग्राहकहरु नआउँदा अनावश्यक सञ्चालन खर्च बढ्दै गएको छ, होटल क्षेत्रमा मासिक २ अर्ब रुपैयाँ नोक्सान भइहरेको छ,’ उनले भने ।

चैतदेखि नोक्सानमा रहेका होटलहरुलाई मासिक २ अर्ब नोक्सान हुँदा हालसम्म १८ अर्ब रुपैयाँ नोक्सान भएको उनको भनाई छ ।
विदेशी पाहुनाबाहेक स्तरीय होटलले अन्य आम्दानीका स्रोत प्रयोग गरेर पनि होटल सञ्चालन गरिरहेका हुन्छन् । तारे होटलहरुमा सभा, समारोह वा अन्य कार्यक्रम हुँदा होटलका हलबाट उनीहरूको नियमित आम्दानी हुन्छ ।

काठमाडौं, पोखरा, चितवन र लुम्बिनीमा सात वटा होटल भएको काठमाडौं गेष्ट हाउस ग्रुपका प्रबन्ध निर्देशक सुनिल शाक्यले पनि यो वर्ष होटलमा आउने पाहुनाको संख्या ३० प्रतिशतसम्म बढ्ने आश गरेका थिए ।

अहिले उनी पर्यटक होइन, रद्द भएका बुकिङको हिसाब गरिरहेका छन्। शाक्यको एउटै होटलमा ७१३ ओटा बुकिङ रद्द भएको छ।
‘लुम्बिनीमा रहेको हाम्रो बुद्धमाया होटलको मात्र ७१३ क्यान्सिलेसन भयो। रुपैयाँमा हेर्ने हो भने यसको भ्यालू २ करोड बढी हुन्छ। पोखरादेखि काठमाडौंसम्मका हाम्रा सातै होटलमा यस्तै ट्रेन्ड छ,’ शाक्यले भने।

विश्वभरि नै त्रास फैलिएको अवस्थामा स्वभाविक मार आफ्नो व्यापारमा परेकाले यसबाट विचलित हुनुभन्दा अहिले सबैले सतर्कतामै केन्द्रित हुनु पर्ने उनको भनाइ छ । अहिलेकै ट्रेन्ड जारी रहे होटलको बुकिङ शुन्यमा झर्ने व्यवासयीको आँकलन छ।

‘भूकम्पको बेला कति विदेशी राहत दिन नेपाल आउँथे, कति अध्ययन अनुसन्धानका लागि भनेर आउँथे। त्यही भएर भूकम्पपछि पनि होटलहरूले व्यापार पाइरहेका थिए, तर अहिलेको अवस्थामा त्यस्तो छैन, होटलहरुको अनावशय रुपमा नोक्सान मात्र भइरहेको छ,’ उनले भने ।

उनका अनुसार होटल क्षेत्रमा अहिले १ खर्ब बढीको ऋण छ भने होटल क्षेत्रमा खर्बौं रुपैयाँको लगानी रहेको छ । नेपालका पर्यटकस्तरीय होटलको संख्या ३ हजार ३ सय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.