निजी क्षेत्रसँग सहकार्य गर्न इच्छुक मात्रै होइन, आतुर छुः अर्थमन्त्री पौडेल

  २०७७ मंसिर १५ गते १०:११     विकासन्युज

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रसँग सहकार्य गर्न आतुर रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वलाई बधाई दिदै उनले सहकार्यका लागि आफू इच्छुक मात्रै होइन, आतुर रहेको बताएका हुन् ।

नेपाल आर्थिक पत्रकार संघ (सेजन) को २३औं वार्षिकोत्सवका अवसरमा आयोजित एक विषेश कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । कोभिडका कारण अर्थतन्त्रमा परेको असर न्यूनिकरणका लागि सरकार अग्रभागमा रहने र सँगसँगै निजी क्षेत्र पनि त्यत्तिकै सक्रिय रुपमा लाग्नुपर्ने अर्थमन्त्री पौडेलले बताए । उनले लगानी, उत्पादन र रोजगारीमा केन्द्रीत भएर अर्थतन्त्रलाई अगाडि बढाउने बताएका हुन् ।

‘निजी क्षेत्रका संस्थाहरु नेउवा महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर जस्ता संस्थाहरुसँग म घनिष्ट सम्बन्ध बनाएर अघि बढ्न चाहन्छु, आर्थिक पत्रकारिताको माध्यमबाट आएका सुझाव र अवधारणलाई स्वीकार गरेर अघि बढ्ने उनले बताए ।

कोभिडका कारण अर्थतन्त्रमा परेका असर न्यूनिकरण गरी आर्थिक पुनरुत्थानका लागि ल्याएको सरकारले ल्याएको कार्यक्रम पर्याप्त नभएको स्वीकार गर्दै उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी बढीभन्दा बढी लाभ लिने कसरी सकिन्छ भनेर सुझाव दिन पनि आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र गम्भीर असरको अवस्थामा रहेकोले आर्थिक असर कम गर्नको लागि सरकार तथा निजी क्षेत्रले संयुक्त पहल गर्नुपर्ने बताए ।

उनले कोभिडका कारण उद्योग व्यवसायमा परेको असर न्यूनिकरण गरी आर्थिक पुनरुत्थानका लागि महासंघले रणनीतिक योजना बनाएकोले त्यसको कार्यान्वयनका लागि सरकारसँग आग्रह पनि गरे । अध्यक्ष गोल्छाले महासंले रणनीतिक योजना बनाएको र सो योजना छिट्टै सार्वजनिक गरिने बताए ।

नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष शतिश मोरले कोभिडको प्रतिकुल अवस्थामा पनि रेमिटान्स आप्रवाह राम्रै रहेकोले आर्थिक गतिविधि चलायमान बनाउन सरकारले विशेष पहल गर्नुपर्ने बताए ।

‘कोभिडको कारण समग्र अर्थतन्त्र गम्भीर समस्यामा परेको छ, समस्यामा परेपनि चिन्ता गरेर बसेर मात्रै हुदैन, अब मनोबल उच्च बनाएर लगानी बृद्धि गर्ने तथा आर्थिक गतिविधि बढाउन केन्द्रीत हुनुपर्नेछ,’ अध्यक्ष मोरले भने ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले नेपालको डुइङ विजनेस कष्ट बढिरहेकोले त्यसको न्यूनिकरणका लागि सरकार तथा संचार क्षेत्रले विशेष पहल गर्नुपर्ने बताए ।

ज्ञवाली र थपलियालाई सेजन अवार्ड

सेजनको २३औं वार्षिकोत्सव (सेजन डे) को उपलक्ष्यामा प्रदान गरिदै आएको सेजन अवार्ड यसवर्ष आर्थिक पत्रकार बालकृष्ण ज्ञवाली र सोभित थपलियालाई प्रदान गरिएको छ ।

त्यस्तै सेजन सम्मानबाट पत्रकार लक्ष्मण हुमागाई, एकराज पाठक, लोकबहादुर चापागाई र प्रशन्न चित्रकार सम्मानित भएका छन् । जीवन बस्नेत र लक्ष्मी सापकोटालाई फेलोसिप प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.