युवालाई स्वरोजगार बनाउन संघर्ष गर्छुः रविन श्रेष्ठसँगको कुराकानी

  २०७७ मंसिर १२ गते १३:४४     विकासन्युज

नेपाली जुत्ता उद्योगका एक चर्चित अनुहारका रुपमा चिनिन्छन् रविन कुमार श्रेष्ठ । चर्चित नेपाली फुटवेयर ब्राण्ड ’कोशेली’ का संचालक सकेत रहेका श्रेष्ठ नेपाल फुटवेयर उत्पादक संघका पूर्व अध्यक्ष समेत हुन् । नेपाललाई जुत्तामा आत्मनिर्भर बनाउने अभियानका एक भरपर्दा व्यक्तिका रुपमा चिनिने उनै श्रेष्ठले सोही संघबाट नेपाल उद्योग वाणिज्य महासंघमा वस्तुगततर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । यसभन्दा अघि पनि कार्यकारिणी सदस्यका रुपमा काम गरिसकेका श्रेष्ठसँग हामीले उनका चुनावी एजेण्डा र महासंघको निर्वाचनको विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ उक्त कुराकानी ।

नेपाल उद्योगा वाणिज्य महासंघमा वस्तुगतबाट तपाईले सदस्यमा उम्मेदवारी दिनु भएको छ । तपाईका चुनावी एजेण्डाहरु के–के हुन् ?

हामी सबैको व्यवसायिक हित हुने एजेण्डा हुन्छ । हाम्रो कुनै निजी एजेण्डा हुँदैन तर हामी सबै उम्मेदारहरुको साझा एजेण्डा भनेको निजी क्षेत्रलाई कसरी नेपाल सरकारसँग समन्वय गरेर अगाडि बढ्ने भन्ने नै हो । अर्को, हामीले अहिलेको परिस्थितीमा दक्ष जनशक्तिको सिर्जना कसरी गर्ने भन्ने हो । अहिले नेपालमा भारतका कामदारहरु काम गरिरहेका छन् । यस कारण पनि हाम्रो ठूलो रकम भारत गइरहेको छ । विदेशबाट रेमिट्यान्स भित्र्याउने भन्दा पनि नेपालबाट बाहिर गइरहेको रकम यतै रोक्ने हाम्रो उद्धेश्य हो ।

यसलाई कसरी रोक्ने, देशमै रोजगारी सिर्जना गरेर वेरोजगार युवालाई रोजगार प्रदान गरेर स्वरोजगार बनाउने हाम्रो एजेण्डा हो । भारतीय कामदारलाई कसरी रिप्लेस गर्नेर हाम्रो वेरोजगार युवाहरुलाई स्वरोजगार कसरी बनाउने भन्ने तर्फ मेरो सम्पूर्ण ध्यान जानेछ ।

तपाइँहरुले चुनावी प्रचारप्रसार बढाइरहनु भएको छ । समस्यामा परेका व्यवसायीहरुलाई राहत चाहिएको समयमा तपाईँहरु भोट माग्दै हिँडिरहनु भएको छ । उहाँहरु के कस्तो प्रतिक्रिया दिनुहुन्छ ?

हाम्रो चैतमा हुनु पर्ने निर्वाचन मंसिरमा आएको छ । यस कारणले पनि हामीले राम्रो सँग काम गर्न पाएको अवस्था छैन । यस्तो अवस्थामा हामीले झन बढी क्षति व्यहोर्नु पर्ने हुन्छ । यसलाई चाँडो भन्दा चाँडो सकेर अगाडि बढ्यो भने काम हुन्छ जस्तो मलाई लाग्छ । त्यसैले महासंघमा आउने नयाँ कार्यसमिति ल्याएर चाँडो काम गर्नु नै अहिलेको परिस्थितीसँग जुध्नु हो जस्तो मलाई लाग्छ ।

तपाइँले विभिन्न ठाउँमा चुनावी प्रचारप्रसारमा जाँदा वस्तुगततर्फका समस्या के कस्ता देख्नु भएको छ । ती समस्याहरु समाधन गर्नको लागि तपाईँको भूमिका के हुन्छ ?

वस्तुगततर्फका समस्या र सम्पूर्ण उद्योगी व्यवसायीका समस्या एउटै हुन् । यसमा केही एसोसिएट पनि पर्छ । जिल्लानगरको खाद्यान्न, ट्रेडजन्य पनि वस्तुगतमै पर्छ । त्यसैले वस्तुगत भनेको एफएनसीसीआईको ब्रेन जस्तो हो । त्यसैले धेरै समस्याहरुको समाधान पनि वस्तुगत संगठनहरुले गर्नु पर्ने देखिन्छ । जिल्लामा विभिन्न प्रकारका समस्याहरु आउँछन् । वस्तुगत नितान्त उद्योगीहरुकोमा मात्र सिमित हुन्छ । वस्तुगतहरुका समस्याहरुले नितान्त उद्योग वाणिज्य महासंघका सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई जोड्ने भएको हुनाले यी समस्याहरुको समाधान सबै मिलेर गर्नुपर्छ । अहिले देखिएका समस्याहरु समाधान गर्न मेरो सम्पूर्ण ध्यान जानेछ ।

कोरोना भाइरसको विषम परिस्थितीमा महासंघको भावी नेतृत्व अर्थात वरिष्ठ उपाध्यक्ष सहमतिबाट पनि चयन गर्न सकिन्थ्यो नि उद्योगी व्यवसायीलाई निर्वाचननै प्यारो किन लाग्यो ?

सहमति भन्ने विषय प्रजातान्त्रिक रुपमा राम्रो होइन । हामीले प्रजातान्त्रिक प्रणाली अपनाउने हो भने चुनाव नै हुनु पर्छ । अर्को कूरा के हो भने हामी कुनै राजनतिक दल जस्तो होइन । भोलि एउटाले जित्यो भने यसको सरकार उसको सरकार होइन कि सम्पूर्ण व्यवसायिको नेतृत्व हुन्छ । आर्थिक गतिविधिलाई कसरी चलायमान बनाउने भन्ने हाम्रो एउटै एजेण्डा हो । उद्धेश्य एउटै हो । टीका लगाउने पतिष्पर्धाले मानिसमा जोश जाँगर आउँदैन । जो व्यक्ति प्रतिष्पर्धाबाट माथि आउँछ उसमा जोश जाँगरसँगै केही गर्ने आँट पनि आउँछ । मैले मत लिएर जितेको छु भन्ने र उनीहरुका समस्या समाधान गर्नुपर्छ भन्ने मनसाय हुन्छ ।

तपाइँले चन्द्र ढकाल पक्षबाट वस्तुगत सदस्यका रुपमा उम्मेदवारी दिनु भएको छ । ढकालमा के सवल पक्ष छ जसले तपाइँलाई उहाँकै प्यानलबाट उम्मेदवारी दिने उर्जा मिल्यो र किशोर प्रधानमा के कमजोरी छ र उहाँलाई रोज्नु भएन ?

चुनावमा एउटा पक्षको साथ लिएपछि सबैले आफ्नो पक्ष दरिलो ठान्छन् । हाम्रो समूह दरिलो छ । चन्द्र ढकालमा प्रोफेष्नालिज्म छ । जो महासंघमा नभई नहुने गुण हो । हाम्रो टीममा समावेशी छ । यसले गर्दा टीमवर्कको भावना आउँछ । अर्को पक्षको कमजोरी भन्न म चाहन्नँ ।

तपाईका अन्य प्रतिष्पर्धीहरु पनि हुनुहुन्छ । तपाईँ अन्यभन्दा के फरक ? तपाईँलाई मतदाताले मतदान किन गर्ने ?

अहिले वस्तुगततर्फ २८ जनाले उम्मेदारी दिएका छौं । हामीमध्ये १४ जना मात्र निर्वाचित हुने हो । सबैले आ–आफ्नै एजेण्डा लिएर आउँछन् । हामी सबैको एजेण्डाहरु छन् । एक कार्यकाल मैले महांसघमा काम गरिसकेको छु । यो भन्दा माथि चढ्नको लागि दुई कार्यकाल सदस्यका रुपमा बस्नै पर्छ । जुन विधानमा स्पष्ट लेखिएको छ । मलाई मूल्याकंन गर्ने भनेको मतदाताले हो । मैले महासंघको सदस्य भएर भिजिटिङ कार्ड बनाएर व्यक्तिगत काम मात्र गरेको छैन । हामीले कति काम गरेका छौं भन्ने कूरा छर्लङ्गै छ । कार्यसमितिको बैठकमा नआउने पटक पटक चनाव लड्ने, कुनै समितिमा जिम्मेवारी दिएपनि त्यसको जिम्मेवारी वहन नगर्नेहरु पनि छन् । तर, हामीले त्यो टे«ण्डलाई फलोअप गरेका छैनौं । बाहालवाला अध्यक्षले तीन वर्षको कार्यकाल मूल्याकंन गर्दा मेरो नाम पनि लिनु भएको थियो । यसले मैले काम गरेको रहेछु भन्ने पुष्टि हुन्छ । त्यो त देखिने कूरा नै हो । हामीले आर्थिक मुद्दामा कसरी काम गर्ने भन्ने हो ।

विजयी हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

चुनावमा उठ्ने मान्छे विजयी हुन्छु भनेर नै उम्मेदवारी दिने हो । अहिले सम्म मैले कुनै खड्किने काम गरेको छैन । हाम्रा मतदाता सबै जाने बुझेका छन् । सबैले सबै कूरा थाहा पाएका छन् । सबै मतदाता नेतृत्व लेवलमा पुगेर काम गरिसकेका व्यक्ति हुनुहुन्छ । कसलाई भोट हाल्ने भन्ने कूरा उहाँलाई थाहा छ । हामी १४ जना छौं १४ जनामा त कसो नपरिएला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.