ग्लोबल आइएमई बैंकले कमायो एक अर्ब बढी नाफा, प्रतिसेयर नेटवर्थ १५८.५९ रूपैयाँ

  २०७७ कार्तिक २७ गते ८:४३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ५ करोड रुपैयाँ बराबरको खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे ४० प्रतिशत बढी हो । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा ७५ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुबैमा वृद्धि भएको छ । गत असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी बढेर २ अर्ब ५९ करोड र सञ्चालन मुनाफा बढेर १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

बैंकको चुक्ता पुँजी १८ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको जगेडा कोषको रकम बढेर ९ अर्ब २६ करोड रुपैयाँ सञ्चित रहेको छ । जुन गत आवको सोहि अवधिमा ८ अर्ब ४१ करोड रुपैयाँ सञ्चित थियो ।

बैंकको निक्षेप संकलन र कर्जा लगानी बढेर क्रमशः २ खर्ब २४ अर्ब रुपैयाँ र १ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ । जुन गत आवको पहिलो तीन महिनामा क्रमशः २ खर्ब १२ अर्ब रुपैयाँ र १ खर्ब ८९ अर्ब रुपैयाँ कायम रहेको थियो ।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २२.३२ रुपैयाँ रहेको छ । जुन गत आवको असोज मसान्तको तुलनामा ६.५५ रुपैयाँले घटी हो । गत आर्थिक वर्षको असोज मसान्तमा बैंकको प्रतिसेयर आम्दानी २८.८७ रुपैयाँ रहेको थियो । त्यसैगरी, बैंकको प्रतिसेयर नेटवर्थ १५८.५९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.१९ गुणा रहेको छ ।

त्यस्तै, बैंकको निष्क्रिय कर्जा अनुपात बढेर १.८३ प्रतिशत पुगेको छ । आधार दर घटेर ७.२५ प्रतिशत र स्प्रेडदर बढेर ५.०३ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.