सुकेको व्यवसाय र मौलाएको निर्वाचन

  २०७७ कार्तिक २६ गते १८:४०     सम्पादकीय

काठमाडाैं । भनिरहनु पर्दैन, उद्योग व्यापार सुकेर निम्सरो भएको छ । नाफाको कुरै छोडौं, लगानी डुब्ने त्रासमा व्यवसायीहरु छन् । व्यवसायीको नजरमा कर कार्यालयमा बाहेक सरकारको उपस्थिति कही कतै छैन । बालुवाटार, खुमलटारको झगडामा सिंहदरवार चिलको छायाँमा परेको सर्प जस्तै पल्याकपुलक भएको छ ।

तर टेकुमा चहलपहल बढेको छ । शुक्रराज ट्रपिकल हस्पिटलमा कोडिभको उपचार गर्न जाने विरामीलाई ओभरट्याक गर्दै नेपाल उद्योग वाणिज्य महासंघको कार्यालयमा भीड्नेहरुको खेतीपाती भने मौलाएको छ । उनीहरुको गला फक्रेको मालाले सजिएको छ । मास्क र फेससिल्डले छोपेका अनुहार र गलाभरी उनिएका मालासहितको सामूहिक फोटोले सामाजिक सञ्जालमा राम्रै स्थान पाएको छ ।

कुन उम्मेदवारलाई कसकाे समर्थन, कुन सम्मेदवारले के सपना बाँढे, कसले कहाँ के भाषाण गरे ? समाचार र भिडियाेले नयाँ मिडियामा राम्राे स्थान पाएकाे छ । व्यापार नचलेकाे, श्रमिकले तलव नपाएकाे, घरवेटीले भाडा उठाउन नसकेकाे, लगानीकर्ता व्यवसाय बन्द गर्न वाध्य भएका विषयले प्रर्याप्त महत्व पाएका छैनन् ।

कोडिभ महामारीले उद्योगी व्यवसायीलाई नछोएको होइन । वरिष्ठ उपाध्यक्षमा उम्मेदवार चन्द्रप्रसाद ढकाललाई कोभिड संक्रमण भएपछि अस्पताल भर्ना गरी उपचार आवश्यक भयो । एशोसिएट समूहका उपाध्यक्ष सौरभ ज्योति कोभिड संक्रमणका कारण मनोनयन दर्ता हुने कार्यक्रममा पनि उपस्थित हुने सकेनन् । कार्यसमिति सदस्य उम्मेदवार अरुणराज सुमार्गी कोरोना संक्रमणपछि घरमा आईसोलेशनमा बसेको छन् । यी त केही प्रतिनिधिमुलक उदाहरण मात्र हुन् । व्यवसायीहरु पनि कोभिड जोखिमबाट सुरक्षीत नभएको प्रष्ट छ । तैपनि चुनावी मैदानमा रहेको उम्मेदवार र उनीहरुका सहयोगि समर्थकहरु जोखिम लिएर मैदानमा उत्रेका छन् ।

यतिबेला महासंघले सहमतिमा नेतृत्व चयन गरेको भए धेरै राम्रो हुने थियो । तर महासंघमा सहमति नेतृत्वको सम्भावना टर्दै गएको छ । मुखमा रामनाम, खल्तीमा छुरा भने छै सहमतिको नाम जपेपछि विपक्षीलाई सिध्याउने अभियानमा महासंघको नेतृत्व लागेको छ ।

सदस्यको संख्या र राजनीतिक उदेश्य बोकेमा व्यवसायीको खेतीपाती फस्टाए पनि महासंघको भूमिका र प्रभाव खस्कदै गएको छ । मुलधारको राजनीतिमा जान नसक्ने वा हारेका, सिर्जनात्मक क्षमता नभएका, प्रतिस्पर्धी बस्तु तथा सेवा उत्पादन गर्न नसकेका, सारभूत असफल व्यवसायीहरुको राजनीति गर्ने थलोको रुपमा महासंघ परिणत हुँदै गएको छ । वर्तमान अध्यक्ष भवानी राणा नै सबैले देख्ने गतिलो उदाहरण हो ।

कोरोना महामारीको बेलामा सहमतिमा नेतृत्व चयन गरेर निजी क्षेत्रको समस्यालाई समाधान गर्न प्रभावकारी भूमिका खेल्नुपर्ने महासंघको नेतृत्व इख साध्न विष छर्दै हिडिरहेको छ । सहमतिको लागि पहल गर्नुपर्ने जिम्मेवार व्यक्तिहरु नै अलग अलत टिम बनाएर चुनावी प्रतिस्प्रर्धामा होमिएका छन् । वर्तमान अध्यक्ष, हुनेवाला अध्यक्ष, पूर्वअध्यक्षहरु निर्वाचनको बेलामा तटस्थ बस्ने, सहमतिको प्रयासमा अभिभावकीय भूमिका निर्वाह गर्ने काम गर्नुपर्ने हो । तर उनीहरु आफ्नै उम्मेदवार जसरी चुनावमा भोट माग्दै हिडेका छन् । चुनावी मञ्च सेयर गर्दै हिडेका छन् । उम्मेदवारसँगै माला र खादा लगाउन लालायित देखिएका छन् । आफू उम्मेदवार नभएपनि उम्मेदवारको भन्दा चर्को स्वरमा प्रतिस्पर्धीको आलोचना गर्न थालेका छन् । जसले सहमतिको वातावरण बनाउने भन्दा विथोल्ने भूमिका खेलेको छ ।

नेत्वत्वले सहमतिकाे प्रस्ताव ट्वीटेर सहमति हुन सक्दैन । त्यसकाे लागि वातावरण बनाउनुपर्छ । धरातलीय यथार्थलाई मनन् गर्नुपर्छ । पटक पटक चुनाव हारेका उम्मेद्वारलाई लाेभ लालच त्याग्न मनाउनुपर्छ । एउटै पदमा दाेहाेरिनेकाे अाैचित्व पुस्टि हुनुपर्छ । नयाँ कार्यसमितिले चयन गर्ने पदहरू बरिष्ठ सदस्य, काेषाध्यक्ष पदहरूकाे समझदारी गरेर जिम्मेवारी बाँडफाँड गर्न सकिन्छ । कयाै पात्रहरू करकापमा उम्मेदवार बनेका छन् । उनीहरू मिलेर जान तयार देखिन्छन् । समझदारीमा नेतृत्व चयन गर्न सकिन्छ । सबै जना प्रतिकूल परिस्थिति बुझेर जिम्मेवार ढंगले प्रस्तुन हुने हाे भने समझदारी सम्भव छ । त्यसका लागि जिम्मेवार व्यक्तिहरू साझा हितका मुद्दा समातेर अगाडि बढ्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.