दिगो आर्थिक विकासका लागि जर्मनसहित तीन बैंकबीच सहकार्य, साना व्यवसायीलाई सुविधा

  २०७७ कार्तिक २४ गते १७:४६     विकासन्युज

काठमाडौं । जर्मन सरकारको सहयोगमा सेडरा आईआई (सस्टिनेबल इकोनोमिक डेभलपमेन्ट इन रुरल एण्ड अर्ब्यान एरियाज्) प्रोजेक्टका लागि सिद्धार्थ बैंक, नेपाल राष्ट्र बैंक र केएफडब्लु डेभलपमेन्ट बैंकबीच हालै एक त्रिपक्षीय सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम र नेपाल राष्ट्र बैंकका तर्फबाट लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख डा. प्रकाश कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यस प्रोजेक्ट नेपाल सरकार, अर्थ मन्त्रालय र जर्मन सरकारको समन्वय एवं जर्मन वित्तीय विकास निगमको सहयोगमा भएको हो । जसमा नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक मार्फत वाणिज्य बैंकमध्येबाट सिद्धार्थ बैंक र जर्मन सरकारको तर्फबाट केएफडब्लु डेभलपमेन्ट बैंकद्धारा कार्यान्वयन गर्ने गरी नेपालको ग्रामीण तथा अर्धशहरी क्षेत्रको दिगो आर्थिक विकासका लागि लघु तथा साना व्यवसायीहरुलाई प्रत्यक्ष कर्जा सुविधा र तालिम, परामर्श लगायत आवश्यक प्राविधिक सेवाहरु प्रदान गर्नेछ ।

यस परियोजना अन्तर्गत जर्मन आर्थिक सहयोग कार्यान्वयन गर्दै बैंकले ग्राहकलाई विभिन्न सेवा सुविधाहरु प्रदान गर्नेछ । जसमार्फत लघु, साना तथा मझौला उद्यम वित्तीयका लागि दुई लाख रुपैयाँदेखि ४० लाख रुपैयाँसम्मको कर्जा सुविधा पाउने छन् । कर्जा अवधि १० वर्षसम्मको हुने छ । र, लघु, साना तथा मझौला उद्यमीहरुलाई सिपमुलक तालिम, परामर्श एवं अन्य प्राविधिक सहयोग पनि गर्ने बैंकले जनाएको छ ।

यस योजनाले ग्रामीण तथा अर्धशहरी क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरुलाई उद्यमशिलता विकासको लागि आवधिक कर्जाका साथै सिपमुलक तालिम प्रदान गर्ने बैंकको मुख्य उद्देश्य रहेको छ ।

विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गलाई वित्तीय सेवा प्रदान गर्ने बैंकको मुख्य प्राथमिकता रहेकाले यस सम्झौताले सिद्धार्थ बैंक र के.एफ.डब्लु डेभलपमेन्ट बैंक बिचको सहकार्य अझ सुदृढ बनाउने र नेपालको लघु, साना तथा मझौला उद्यम वर्गहरुको विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.