सिटिजन्स बैंकको लाभांश संशोधन, बोनसदर बढ्यो

  २०७७ कार्तिक २० गते १०:५९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७६/७७ को प्रस्तावित लाभांश संशोधन गरेको छ । बैंकले यसअघि प्रस्ताव गरेकाे ११ प्रतिशत लाभांश यथावत रहने गरी नगद तथा बोनस सेयरको संरचना परिवर्तन गर्ने गरी पुनः संशोधन प्रस्ताव गरेको हो ।

यससँगै बैंकले गत आवको नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर ३ प्रतिशत नगद लाभांश वितरण गर्ने गरी संशोधन प्रस्ताव गरेको छ । कार्तिक १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त संशोधन प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव अनुसार बैंकको बोनसदर वृद्धि भएको छ भने नगद लाभांशदर घटेको छ । यसअघि बैंकले कार्तिक ३ गते मात्रै चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस र ३.३० प्रतिशत नगद गरी ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

नेपाल राष्ट्र बैंकबाट जारी इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनकाे लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि अनुसार बैंकले प्रस्तावित लाभांशलाई संशोधन गरेको जानकारी गराएकाे छ ।

यससँगै बैंकको संशोधित उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा ४ प्रतिशत कम हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा सेयरधनीलाई १५ प्रतिशत लाभांश (३ प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद) वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.