स्थानीय तहमा अस्पताल बनाउँदै सरकार, मंसिर १५ गते एकैसाथ शिलान्यास गर्ने

  २०७७ कार्तिक ३ गते १६:४५     विकासन्युज

काठमाडाैं । सरकारले सबै स्थानीय तहमा निर्माण गर्न लागेको अस्पताल भवनको शिलान्यास आगामी मंसिर १५ गते एकैसाथ गर्ने भएको छ । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्नका लागि सबै स्थानीय तहमा ५ देखि १५ शैया सम्मको आधारभूत अस्पताल स्थापना गर्ने नीति अनुरुप अर्थमन्त्राल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बिच एकैपटक भवन शिलान्यास गर्ने सहमति भएको हो ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको समुपस्थितिमा दुवै मन्त्रालयका पदाधिकारीबिच भएको बैठकमा यस्तो सहमति भएको अर्थमन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले बताए । सरकारले मुलुकभर एकैपटक ३ सय ७६ स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य चौकी निर्माण गर्ने महत्वाकाक्षी योजना अगाडि सारेको छ । एकीकृत योजना अन्तरगत प्रादेशीक र संघीय अस्पतालहरु समेत रहेका छन् । मन्त्रालयले १ हजार २ सय थान भेन्टिलेटर, ३ हजार ५ सय थान हाई डिफेडेन्सी यूनिट र ३ हजार थान आइसियूको प्रबन्ध गर्न बजेटको व्यवस्था गर्ने भएको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने आइसियु, एचडियु, भेन्टिलेटर लगायतका मेशिन उपकरण तत्काल खरिद गर्नेगरी तयार भएको कार्ययोजना बमोजिमको खरिद प्रक्रिया स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अगाडि बढाउने र त्यसका लागि आर्थिक स्रोतको व्यवस्थापन अर्थमन्त्रालयले मिलाउने सहमति पनि भएको छ ।

यस्तै कोभिड खोप सेवाको आपूर्ति सुनिश्चित गर्न आवश्यक कुटनीतिक र अन्य पहल अर्थमन्त्रालयले परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा अगाडि बढाउने भएको छ । यसबाहेक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को विरुद्ध विकास हुने खोप लगायतका आपतकालिन औषधिको प्रयोगलाई व्यवस्थित गर्न मौजुदा औषधि ऐनमा सामयिक संशोधन गर्ने प्रकृया अगाडि बढाउने सहमति समेत दुई मन्त्रालयबिच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.