अब वैदेशिक रोजगारीमा गएका नेपालीलाई पनि पेन्सन

  २०७७ असोज २७ गते १४:०३     विकासन्युज

काठमाडौं । नेपाल सरकार तथा विभिन्न वित्तीय संस्थाको लगानी रहेको जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसिएल)ले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि पनि पेन्सनको योजना ल्याएको छ ।

विदेशमा दुःख गरेर कमाएको पैसा बूढेसकालमा पनि आर्थिक उपार्जन हुने काममा खर्च गर्ने सोचका साथ कम्पनीले विप्रेषण हाइड्रोको अवधारणा अगाडि सारेको हो । विदेशमा बसेर कमाएको पैसा अनावश्यक रुपमा उपभोग्य वस्तुको खरिदमा मात्रै खर्च भइरहेको छ । त्यसलाई रोक्नका लागि पनि केही न केही आर्थिक उपार्जन हुने काममा लगानी गर्ने उनको संस्कारको विकासका लागि उक्त अवधारणा विकास गरिएको हो ।

वैदेशिक रोजगारीमा गएका नागरिकलाई कम्तीमा रु पाँच लाखसम्म लगानी गर्ने वातावरण बनाइएको छ । ‘विदेशको कमाई स्वदेशमा लगानी गरौँ र आयोजनाबाट आउने प्रतिफल पेन्सनका रुपमा उपभोग गरौँ’ भन्ने ध्येयका साथ ‘रेमिट हाइड्रो’को अवधारणा अगाडि बढाइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलको भनाइ छ ।

ताप्लेजुङमा निर्माण हुने धुन्साखोला र सिम्बुवा खोला जलविद्युत् आयोजनामा रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीले ३० प्रतिशतसम्म लगानी गर्न पाउने गरी प्रस्ताव गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ती दुवै आयोजनाको निर्माण र सञ्चालनको जिम्मेवारी एचआइडिसीएललाई दिएको छ ।

सो कम्पनीले सहायक कम्पनी रेमिट हाइड्रो स्थापना गरी काम अगाडि बढाएको छ । सरकारले अगाडि बढाएको मौलिक लगानीको ढाँचा मध्येको उक्त कार्यक्रमलाई एचआइडिसीएलले संयोजन गरेको छ ।

विदेशमा बस्ने नेपालीले पठाउने विप्रेषणको लगानी गर्ने गरी ७७।५ मेगावाटको धुन्सा र ७०।३ क्षमता सिम्बुआ जलविद्युत् आयोजना निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाइएको छ । ती आयोजनालाई ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रममा समावेश गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आवमा झण्डै रु नौ खर्ब विप्रेषण भित्रिएको थियो । गत साउनमा मात्रै ९२ अर्ब विप्रेषण भित्रिएको छ ।

ती दुवै आयोजनामा विप्रेषणका अलावा बैंक तथा वित्तीय संस्था, विकास साझेदार, स्थानीय बासिन्दा र सर्वसाधारणलगायतबाट जुटाउने गरी लगानी अवधारणा तयार पारिएको छ । ती आयोजनाको विस्तृत इञ्जिनीयरिङ अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० को काम भइरहेको छ । लगानी स्वीकृतिका लागि लगानी बोर्डमा पठाइएकोे छ । ती आयोजनाको लगानी रु २१ अर्ब रहनेछ ।

कम्पनीले दीर्घकालीन लगानीका लागि पावर बण्ड जारी गर्ने लक्ष्य राखेको छ । यस्तै, जलविद्युत क्षेत्रमा लगानी गर्न चाहने वैदेशिक लगानीकर्ता एवं कम्पनीसँगको सहकार्यमा केही ठूला आयोजनाको विकासमा सहभागी भई ऋण भित्र्याउने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.