कामपाले तीन विद्युतीय शवदाह निर्माण गर्दै, लागत एक करोड २० लाख रूपैयाँ

  २०७७ असोज २६ गते १६:४०     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्रमा थप तीन विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा नम्बर-१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर उद्यान’ शिलान्यास गर्दै अब छिट्टै कामपाकोे करीब १५ करोड रुपैयाँ अनुदानमा पाशुपत क्षेत्रमा शवदागृह निर्माण अघि बढाउने जानकारी दिए ।

उनका अनुसार केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरी निर्माण थालनी हुने छ ।

कोषका सदस्य सचिव डा प्रदीप ढकालले कामपाले पनि विद्युतीय शवदाह यन्त्र र गृह निर्माणका लागि गरेको पहल सकारात्मक भएको प्रतिक्रिया दिए । कामपा शहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले कोभिड–१९ का कारण सम्झौतामा केही ढिलाइ भएको र अब केही दिनभित्रै सम्झौता गरी प्रक्रिया अघि बढाइने जानकारी दिए । उनका अनुसार कोषसँग पटकपटक छलफल गरी सम्झौताको अन्तिम चरणमा पुगिएको छ ।

९ रोपनी क्षेत्रफलमा उद्यान

कुलेश्वर उद्यान नौ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको हो । करीब एक करोड २० लाख रूपैयाँको लगानीमा निर्माण हुन लागेको वडा नं १४ का वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिए । कामपाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न २० लाख रुपैयाँदेखि ६ करोड रुपैयाँसम्मका तीसभन्दा बढी उद्यान निर्माणको योजना अघि सारेको छ ।

प्रमुख शाक्य अहिले काठमाडौं उपत्यकामा कोभिड-१९ को सङ्क्रमण नियन्त्रण बाहिर जान सक्ने खतरा बढेकाले तीनै तहका सरकार र जनता मिलेर नियन्त्रण प्रयासमा लाग्न जरुरी रहेकामा जोड दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.