यसकारण बढ्याे काठमाडौंमा कोरोना

  २०७७ असोज २३ गते १९:१९      कौशिक नवराज

संक्रमित जिल्लाबाट विभिन्न भित्रि बाटो हुँदै हजारौं व्यक्तिहरु काठमाडौं आइरहेका छन् । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छैन । ट्राभल हिस्ट्री तथा कन्ट्याक्ट हिस्ट्री नभएका बालबालिकादेखि सबै उमेरका व्यक्तिमा संक्रमण पाइएको छ । विदेशबाट चार्टर फ्ल्याइटमा आइरहेका व्यक्तिलाई अनिबार्य रुपमा क्वारेन्टाइनमा राखिएको छैन । जसले गर्दा उनीहरु घरमा पुगेपछि संक्रमित देखिएका छन् । देशको राजधानी काठमाडौं कोरोना भाइरसका कारण असुरक्षित बन्दै गएको देख्न सकिन्छ । करिब ५० लाख मानिस बसोबास रहेको काठमाडौं उपत्यकामा दिन प्रतिदिन ४ अंकका दरमा र समग्र देशको करिब ६० प्रतिशत संक्रमित यसै उपत्यकामा देखिन थाल्नुले थप चुनौति थपिन सक्ने देखिन्छ । सबैभन्दा ठूलो कुरा ४० लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा एकदम न्यून मात्रामा कोरोना टेस्ट गरिएको छ । जति धेरै परीक्षणको दायरा बढायो, त्यति धेरै संक्रमितको पहिचान हुन्छ । जति धेरै संक्रमितको पहिचान भयो संक्रमितलाई आइसोलेसनमा राखेपछि त्यति धेरै स्वास्थ्य व्यक्तिलाई कोरोना संक्रमण सर्दैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्‍वर गौतमले यसरी तीव्र गतिमा संक्रमित बढ्नुमा सडकमा निस्किने जुलुस, सभा र बजारमा देखिएको भीडलाई प्रमुख मानेका छन् । सरकारले कोरोना नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेको जनाएको छ। तर, सर्वसाधारणले न्यूनतम् स्वास्थ्य मापदण्ड पालना नगर्दा संघीय राजधानीमा कोरोना तीव्र गतिमा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताउँदै आएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा.जागेश्‍वर गौतमले राजधानीमा कोरोना संक्रमण बढ्नुमा दुई कारण बताउँदै आएका छन् ।

प्रवक्ता गौतमले काठमाडौंमा कोरोना फैलनुको अर्को कारण नेपाल-भारत सीमालाई मानेका छन् । मेची-महाकाली खुला रहेको सीमाबाट मानिसहरु निष्फिक्री आउँदा उपत्यकामा कोरोना फैलिएको स्वास्थ्य मन्त्रालयले निचोड निकालेको छ । ‘नेपाल-भारत सीमामा मानिसहरुलाई नियन्त्रण गर्न सकिएन। खुला सीमाको फाइदा उठाउँदै मानिसहरु निष्फिक्री आए । उनले कोरोना फैलिने पहिलो कारणमा राजधानीका सडकमा भएका सभा, जुलुस, भेला, सेमिनार र बैठकलाई ठानेका छन् । ‘हामीले भिड धेरै गर्यौं, जुलुस, सभा, गोष्ठी र सेमिनारका नाममा जथाभावी भिडभाड गर्दा कोरोना फैलियो’, उनले भने, ‘अझै पनि भिड रोकेनौं भने कोरोना संक्रमण झनै बढ्छ।’

काठमाडौंमा आएका मानिसलाई क्‍वारेन्टाइनमा बस्‍नु भन्दा नमान्दा यस्तो परिणाम आएको उनको दाबी छ। गौतमले अझै समय नघर्किएको पनि उल्लेख गरे। ‘अझै पनि समय घर्किएको छैन, हामी सबैले राम्रोसँग मास्क प्रयोग गरी भौतिक दूरी कायम गरेमा संक्रमण रोक्न सकिन्छ’, उनले भने, ‘कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेको छ।’ किनमेलको चहलपहल बढेको छ, चाडबाडमा जमघट गर्ने हाम्रो बानी नै भएको छ । यस पटक यो कुरामा ख्याल गरौं।’ गौतमले कोभिड-१९ रोकथामका लागि जीवनशैलीमा परिवर्तन आवश्यक रहेको बताए ।

पछिल्ला दिनमा काठमाडौंमा संक्रमित के कसरी काठमाडौंमा दिन प्रतिदिन हजार भन्दा बढिका दरमा बढ्न थालेका छन भन्ने बुझ्न पछिल्लो केहि दिन यता प्रकाशित समाचारहरु अध्ययन गरे पुग्छ ।

उदाहरण १ः
पछिल्लो दिनमा सम्पर्क विहिन संक्रमितले तनाव दिएको काठमाडौं महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख ओलिले बताए । उनका अनुसार पीसीआर परिक्षण गराउने क्रममा गलत सम्पर्क नम्बर र ठेगाना टिपाएका कारण पीसीआर पोजेटिभ रिपोर्ट खल्तिमा बोकि समुदायमै घुलमिल भइरहेको हुन सक्ने आशंका व्यक्त गरे ।

उदाहरण २:
काठमाडौंको एक कुरियरमा कार्यरत वितरक रमेश कार्की (नाम परिवर्तन)लाई कामको सिलसिलामा सामान डेलिभरी गर्ने क्रममा कोरोना पोजेटिभ देखियो । उनको रिपोर्ट आएको भनी मोवाइलमा मेसेज आयो उनले लग इन गरी हेरे । रिपोर्ट पोजेटिभ देखियो । उनका कोठामा एक बच्चा र श्रीमति सहित बस्थे उनले श्रीमतीलाई सो जानकारी गराई माइत पठाए अनि कोठामा एक्लै बस्न थाले । उनले न वल्लो, पल्लो कोठाका साथिहरुलाई यस सम्बन्धि जानकारी गराए न घरवेटी न छिमेकीलाई नै जानकारी । उनी १४ दिन होम क्वारेन्टाइनमा बसे पश्चात पुन चेक गर्दा उनको रिपोर्ट नेगेटिभ आयो र उनी पुन नियमित काममा फर्किए तर यस विचमा उनलाई रिपोर्ट आएको छ बाहेको न अन्य कुनै मेसेज आयो न कुनै कल न कुनै स्वास्थ्य कर्मीले फोन गरे न वडा कार्यालयले सम्पर्क गर्यो न प्रहरीले न उनले नै कसैलाई जानकारी गराए ।

उदाहरण ३ः
काठमाडौंमा डेरा गरी बस्ने एक व्युटि पार्लर संचालिकालाई लगातार ज्वरो आउने भएपछि उनले टेकु हस्पितलमा गइ चेक गराउँदा कोरोना संक्रमण देखियो । अब सूरु भयो कन्ट्याक ट्रेसीङको कार्य । उनको सम्पर्क र पार्लरमा आउनेको खोजी हुने क्रम थालियो । उनले सूरुमा त सहि सहि विवरण दिन थालिन तर जब उनले आफ्नो श्रीमान वैदेशिक रोजगारीमा गएको तर आफ्नो लभ अफेयर अर्कैसँग भएको एक अधवैशेको नाम लिइन् अनि ति अधवैशेको खोजी सुरु भयो । तब उनले बुझिन् यसरी लहरो तान्दा पहरो आउने देखिएपछि उनले गलत विवरण  दिएर कन्ट्याक ट्रेसिङको विवरण दिइन् । यसको पछाडि समाज र सामाजिक कारणहरु जिम्मेवार हुने उनले बताइन् ।

हालै भारतको महाराष्ट्रमा पनि यस्तै एक घटनामा एक संक्रमित महिलाको कन्ट्रयाक ट्रेसिङको विवरण गोप्य राख्नु पर्नेमा सो हुन नसकेको कारण निजको सहित अन्य परिवारको समेत डिभोर्स हुने स्थिति आएको देखिन्छ । एक संक्रमित महिलाको निजको पति वाहेक अन्य पुरुषसँग अफेयर्स रहेको, ति महिलाको श्रीमानको पनि आफ्नी पत्नि बाहेक अन्य २ महिलासँग अफेयर्स रहेको साथै ति महिलाको थप अन्य पुरुषसँग अफेयर्स रहेको विवरण कन्ट्रयाक ट्रेसिङको क्रममा फेला परेको सो विवरण गोप्य हुन पर्नेमा सार्वजनिक भए पश्चात उत्पन्न परिस्थितिलाई नजिकबाट नियालेको कारण ति पार्लर संचालिका महिलाले कन्ट्रयाक ट्रेसिङका क्रममा झुट्टा विवरण दिएकी थिइन ।

यी माथिका उदाहरणबाट स्पष्ट हुन्छ कि उपत्यकामा कोरोना संक्रमित थप हुन कसरी मलजल भै रहेको छ । यसका साथै काठमाडौं उपत्यकामा संक्रमित बढ्नुका कारणहरु बारे सविस्तार चर्चा गरिएको छ ।

फितलो कन्ट्याक ट्रेसिङ

उपत्यकाका सक्रमित बढ्नुको एक प्रमुख कारण फितलो कन्ट्याक ट्रेसिङ पनि एक कारण हो । संक्रमितको सम्पर्कमा आएकाहरुको प्रभावकारी ढंगले कन्ट्याक ट्रेसिङ गर्न पर्ने साथै गलत विवरण दिएमा कारवाहीको भागि बनाउन पर्नेमा नाम मात्रै ट्रेसिङले थप संक्रमित बढाएको देखिन्छ । संक्रमितको सम्पर्कमा आएकाहरुको सहि र मिहिन ढंगले अध्ययन हुन पर्नेमा सो नदेखिएको पाइन्छ । संक्रमितले जे जे विवरण दियो सो लाई नै सत्य मानेर अगाडि बढ्दा थप समस्या देखिएको पाइन्छ । हालै मात्रै दक्षिण कोरियामा एक शिक्षकलाई कन्ट्याक ट्रेसीङका क्रममा गलत विवरण दिएको भनी ६ महिना जेल हाल्ने फैसला सुनाइयो । नेपालमा यस सम्बन्धमा कुनै व्यवस्था रहेको देखिदैन ।जे जे विवरण दिए पनि सहि गलत विवरण दिएमा क्रस चेक गर्ने कुनै प्रावधान नरहेको र गलत विवरण दिएमा कारवाहीको भागिदार बनाउन पर्नेमा सो हुन नसकेको देखिन्छ ।

अनुगमन विहिन होम क्वारेन्टाइन

उपत्यकामा संक्रमित बढ्नुको अर्को कारण हो कोरोना संक्रमित देखिएको व्यवस्थापन घरमै गर्ने नीति अर्थात घरमै वसी संक्रमणलाई जित्न पर्ने प्रावधान । यसरी घरमै बस्दा संक्रमितले अन्यलाई सार्ने जोखिम उच्च भएको तर्फ न सरोकारवाला न अन्य कसैको ध्यान यस तर्फ नै पुग्न सकेको देखिदैन । काठमाडौंमा अधिकांश मानिस डेरामा बस्ने गर्छन् । उनीहरु उपत्यका बाहिरी जिल्लाबाट रोजगारी तथा अध्ययनको सिलसिलामा एउटै कोठामा २-३ जनासम्म बसोबास गर्ने साझा सौचालय प्रयोग गर्ने देखिन्छ । यस्तो अवस्थामा कोहि संक्रमित भएमा न स्वास्थ्य मन्त्रालय न स्थानिय निकाय न प्रहरीले नै खोजविन गर्ने गरेको देखिन्छ । सबै मिडियाबाजिमा मात्रै रमाएको देख्न सकिन्छ । यसका साथै यसरी अप्रभावकारी अनुगमनले होम क्वारेन्टाइनमा बसेका संक्रमितहरु खुलमखुल्ला बाहिर निस्किने घुमफिर गर्ने गरेको कारण अन्यलाई सर्ने क्रम बढिरहेको देखिन्छ । होम क्वारेन्टाइनमा बसेकाहरुलाई न स्वास्थ्य मन्त्रालय न वडा कार्यालय न प्रहरीले एक पटक खोजविन त के एक कल फोन समेत गरेको देखिदैन । कतिपय अवस्थामा घरमा बसेका डेरावाल संक्रमित भए घरवेटिले समेत थाहा नपाउने स्थिति बनेको देख्न सकिन्छ ।

मास्कको गलत प्रयोग

मास्कको प्रयोगले मानिसको हाछ्यु र खोकीको छिटा नाक र मुखमा प्रवेश गर्नबाट रोक्ने जोन्स हप्किन्स सेन्टर फर हेल्थ सेक्युरिटीका सरुवा रोग विशेषज्ञ डा. अमेश अडल्जाले बताए । उनले भने, ‘कोरोना भाइरस मुख्य गरी खोकी र हाछ्युको छिटाबाट सर्ने गर्छ।’ मानिसले मास्कको प्रयोग सही तरिकाले गर्न नसक्नु सबैभन्दा ठुलो समस्या हो । ‘धेरै मानिसहरुले मास्क लगाए पनि मुखमा हात लैजाने र नाक चलाउने गर्छन् । जसका कारण संक्रमण फैलिन सक्ने खतरा रहन्छ’ डा. अडल्जाले भने ‘मोबाइल फोनमा कुरा गरेको बेला पनि तपाईले मास्क हटाउनु हुँदैन ।’ ह्यामिल्टनस्थित म्याक मास्टर युनिभर्सिटीका सरुवा रोग विशेषज्ञ डा मार्क लियोबले सार्स कोरोना भाइरसको संक्रमण भएको बेला मास्कका कारण श्वासप्रस्वासको माध्यमबाट स्वास्थ्यकर्मीमा हुन सक्ने संक्रमणको जोखिम करीब ८५ प्रतिशतले कम गर्न सकिएको बताएका छन् ।

‘सबैभन्दा महत्वपूर्ण सन्देस थियो की कुनै पनि मास्कको लगातार सही प्रयोगले जोखिम कम गर्न सकिन्छ’ उनले भने । काठमाडौं वासिहरुले कोरोनालाई अत्यन्तै खेचाचिको रुपमा लिएको देखिन्छ । सार्वजनिक स्थानहरुमा समेत मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने ।मास्क प्रयोग गर्दा समेत नाक मुन्तिर मात्रै लगाउने । हातमा मास्क लगाउने प्रवृतिले कोरोनाको जोखिम थप बढाइरहेको देखिन्छ । सरकारले मास्क नलागाउनेलाई सय रुपैया जरीवाना गर्ने भने पनि सो प्रभावकारी हुन नसकेको देखिन्छ । यसका साथै उच्च शिक्षीत वर्गहरु समेत सार्वजनिका स्थानको साथै आफ्ना आफन्तहरु भेटिदा गफ गर्दा मास्क खोलेर गफ गर्ने प्रवृति देखिन्छ । यसरी यो मेरो साथिहरु हुन यसलाई भएको छैन होला भनी मास्क प्रयोग नगरी गफ गर्दा यसले समेत जोखिमलाई थप निम्ताइरहेको देखिन्छ ।

सार्वजनिक यातायात

उपत्यकाकालाइ थप आक्रान्त पार्ने अर्को कारण हो सार्वजनिक यातायात । उपत्यकामा चल्ने सार्वजनिक यातायात हेर्दा यस्तो लाग्छ कि यहाँ न कहिले कोरोना लागेको थियो न लाग्ने छ न कोरोनाले कोहि मरेको छ  । यस्तो गलत बुझाइले गर्दा कोरोना संक्रमित बढ्न मदत पुगेको देखिन्छ ।साविक भन्दा थप ५० प्रतिशत बढि भाडा लिने तर साविकमा भन्दा आधा मात्रै सिट क्षमतामा सार्वजनिक यातायातमा यात्रु राखि संचालन गर्नु भनेको सो हुन नसकेको साथै क्षमता भन्दा बढि यात्रु राखेको न ड्राइभर खलासिले भौतिक दुरी त परको कुरा मास्क समेत नलगाएको र स्यानिटाइजर र अन्य सुरक्षाका उपायहरु नरहेको कारण डढेलो लागे सरह संक्रमित थपिन पुगेको देखिन्छ ।सार्वजनिक यातायातमा कोचाकोच यात्रु राख्दा न ट्राफिक प्रहरीले केही गर्न सकेको न अन्य कुनै निकायले । यात्रुहरु बाध्यताबश चढ्न पुगेका छन् ।

फुटपाथ र शैलुन

बजारमा भीडभाड गर्ने, व्यक्तिगत दुरी कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षाविधिको अनुगमन र कारबाही गरिएको छैन । न्युरोड,असन,रत्नपार्क,सुन्धारा देखि कोटेश्वर सम्मका फुटपाथ हेर्दा कोरोना केही होइन भन्ने आम बुझाइ पाइन्छ । न फुटपाथमा भौतिक दुरी कायम भएको देखिन्छ न सुरक्षाका कुनै उपाय नै अवलम्बन गरिएको छ ।यसै गरी भौतिक दुरी कायम गर्न नसकिने अर्को क्षेत्र हो शैलुन व्यवसाय ।तर जीवन भन्दा रोजगारीलाई प्राथमिकता दिन पर्ने बाध्यताका कारण शैलुन व्यावसाय संचालनमा आए । जसमा न भौतिक दुरी कायम हुन सकेको पाइन्छ न शैलुन संचालकहरुले स्वास्थ्य सुरक्षाका उपायहरु मास्क र पीपीई प्रयोग गरेको देख्न सकिन्छ । यसले समेत उपत्यका जस्तो संवेदनशिल क्षेत्रका कोरोना संक्रमण बृद्वि गर्न थप मलजल गरेको देख्न सकिन्छ ।यसका साथै भट्टि पसल देखि डान्सबार जहाँ भौतिक दुरी कायम गर्न नसकिए पनि संचालनमा आएर थप जोखिम बढाएको देख्न सकिन्छ ।

कोरोना केहि होइन भन्ने भ्रम

आम नागरिकमा डर तथा सतर्कता हराउँदै गएको छ । सहि तरिकाले मास्क लगाउनेको संख्या धेरै कम छ । भौतिक दुरी पटक्कै कायम भएको छैन । थुक्ने बानी उस्तै छ । हात धुने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता सुरक्षाबिधिलाई झारा तार्ने प्रवृतिको रुपमा स्थापित छ । उपत्यका वासिहरुले कोरोनालाई सामान्य रुघाखोकि सरह पनि सम्झेनन । यसको पछाडिको कारण खोज्न टाढा जानै पर्दैन । स्वयम् देशको कार्यकारी प्रमुखले नै कोरोना केहि होइन सामान्य रुघाखोकी जस्तै हो तातोपानि खाने हाछ्यु साछ्यु गरेर उडाउने वेसार पानि खाने भनेर गरेको हल्ला टिप्पणी नै उपत्यका वासिहरुको लागि कोरोना डढेलो बनेर आयो । देशको कार्यकारीले नै यसरी हल्का टिप्पणी गरेका कारण निजका कार्यकर्ता मार्फत सपोर्टमा उत्रिन साथै यसैलाई सहि ठानेर अघि बढ्नु नै गलत सावित भएको देखिन्छ । देशको निति निर्माण र कार्यान्वयनको तहमा रहनेहरुले नै भिड भाड गर्ने,पार्टी बैठक गर्ने,मास्क हातमा झुण्डाएर हिड्ने,सार्वजनिक स्थानमा मास्क प्रयोग नगर्ने प्रवृति नै उपत्यकामा कोरोना जोखिम बढाउन थप सिद्व हुन पुगेको देखिन्छ । स्वास्थ्य मन्त्रालय गुणस्तरहीन थोरै सामग्री किनेर अर्बौंका बिल बनाउन व्यस्त छ । सरकारलाई कोरोना संक्रमण रोकथामबारे सोंच्नेसम्म फुर्सद छैन । नेपालीहरुले हिमालको चिसो र मिनरल मिश्रित पानि, शुद्व खाना खाएका कारण इम्युन पावर उच्च रहेको भनी अप्रमाणित तर्क गर्नु नै नेपालीहरुमा कोरोना केही होइन यसलाई सजिलै परास्त गर्न सकिन्छ भन्ने आम बुझाइका कारण उपत्यका जस्तो घना बस्ति भएको स्थानमा दैनिक नयाँ नयाँ रेकर्ड बनाउदै कोरोना बढिरहेको देख्न सकिन्छ ।

इम्युनीटी पावर

इम्युनीटी पावरको कारण समेत कोरोना संक्रमणको जोखिम बढेको पाउन सकिन्छ । कुनै एक व्यक्तिमा कोरोना लाग्यो यदि उसको इम्युन पावर राम्रो रहेको अवस्थामा उसलाई कोरोनाले केही गर्न नसक्ने हुन्छ तर उक्त व्यक्तिमा शरिरमा भएको तर उसलाई असर गर्न नसकिरहेको भाइरस अन्य व्यक्तिमा सर्न सक्ने र उक्त सरेको भाइरले कुनै इम्युन पावर कमजोर भएको व्यक्तिमा असर गर्न सक्ने देखिन्छ । यसको उदाहरणको रुपमा एकै घरका श्रीमानमा संक्रमण देखिदा श्रीमतीमा नदेखिनु साथै आमामा देखिदा छोरा छोरीमा नदेखिनुको पछाडि इम्युन पावरको कारण हुन सक्छ । कोरोनाले जहिले पनि कमजोर इम्युन पावर भएका व्यक्तिलाई सताउने भएको कारण चुरोट रक्सि खाएर कलेजो कमजोर भएका व्यक्तिहरुमा अन्य इम्युन पावर राम्रो भएका मानिसहरुबाट सर्ने जोखिम उच्च रहेको तर उच्च इम्युन पावर भएका व्यक्तिको शरीरमा कोरोना भाइरस हुन सक्ने तर त्यसले उसलाई कुनै असर गर्न नसकेपनि अन्य व्यक्तिमा सर्न सर्ने देखिएको अवस्था अनुसन्धानहरुले देखाएको छ । उपत्यकामा कम परिक्षणको कारण यसरी संक्रमण फैलिरहेको एक कारण यो पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.