स्वास्थ्य र शिक्षा क्षेत्रमा जम्दै किशाेर महर्जन

  २०७७ असोज १८ गते १२:१७     विकासन्युज

किशोर महर्जन, कार्यकारी अध्यक्ष–स्टार हस्पिटल लिमिटेड

किशोर महर्जनको पुरानो परिचय हो, एक सफल बैंकर्स । सनराईज बैंक र सिभिल बैंक दुबैको संस्थापक सीईओ रहेका, लगातार ३३ वर्ष बैंकमा काम गरेका महर्जनको नाम आज पनि बैंकिङ क्षेत्रमा इज्जतका साथ लिइन्छ ।

बैंकका सीईओको छुट्टै रवाफ हुन्छ । अर्बौं रुपैयाँ सेयर पुँजी लगानी भएको हुन्छ । निक्षेपकर्ताको पैसा खरब रुपैयाँ नजिक हुन्छ । हजार/पन्ध्र सय कर्मचारी । लाखौं ग्राहक, ठूलो संख्यामा सेयरधनी । सबैको केन्द्रविन्दु भनेको सीईओ । मासिक १२/१५ लाख रुपैयाँ तलब ।

यस्तो पदमा बसेर काम गरेका मान्छे सकेसम्म सीईओ नैं बनिराख्ने प्रयास गर्छन् । जागिर छोड्नै परे खाली बस्छन् । सानोतिनो काममा आँखा जाँदैन । हैसियत पनि मिल्दैन । समाजले पनि के भन्ला भन्ने होला । त्यसैले बैंकबाट अवकाश पाएका सीईओहरु हमेसा घरभित्र सीमित हुन्छन् ।

हिमालयन बैंकमा जीएम, सनराइज बैंक र सिभिल बैंकमा सीईओ भई बैंकिङ क्षेत्रको सबै प्रकारका अनुभव हासिल गरेका किशोर महर्जन फरक रुपमा उदाउँदै छन् । पुरानो परिचय बिर्साउने गरी नयाँ परिचय बनाउँदैछन् । नयाँ उद्यमीको रुपमा उदाउँदै छन् ।

जगमा ज्यापु समाज

बैंकमा काम गर्दै गर्दा उनी ललितपुरको ज्यापु समाजमा सल्लाहाकारको भूमिकामा सक्रिय थिए । २६ वर्षअघि ललितपुर जिल्लाको ४० वटा बस्तीका महर्जन, सुहार, डंगोल, व्यन्जनकारसहित कृषि व्यवसायमा केन्द्रीत नेवारहरु संगठित भएको ज्यापु समाज अहिले ललितपुर जिल्लाको सबै वडा तहमा पुगेको छ र १ लाखभन्दा बढी सदस्य छन् । यस संस्थाको उद्देश्य ललितपुर जिल्लामा पछाडि परेको नेवार समुदायको जीवनस्तर उकास्न सहयोग गर्नु हो ।

‘ललितपुर, काठमाडौं, भक्तपुरका नेवारहरु पहिला धेरै धनी थिए । पछि उनीहरुले विभिन्न कारण २ रोपनी, ५ रोपनी गर्दै आफ्नो जग्गा बेच्दै गए । पहिला आनाको १/२ लाखमा बिक्री भएको जग्गा अहिले आनाको ५०/६० लाख भएको छ’ महर्जन भन्छन्– ‘यो सबै कुरा किन भयो भने हाम्रो समुदायमा शिक्षाको कमी भयो ।’

नेवार समुदाय अर्थात काठमाडौंको भूमिपुत्रको जीवनस्तर उकास्न, आफ्नो पुरानो अधिपत्य जमाउन शिक्षा, स्वास्थ्य र बैकिङमा प्रभुत्व जमाउनुपर्छ भन्ने निष्कर्ष ज्यापु समाजको थियो । त्यसको चाँजोपाँजो कसरी मिलाउने भन्नेमा ज्यापु समाजमा छलफल भइरहन्थ्यो । युवा पुस्तालाई उत्प्रेरित गर्ने, शिक्षा, स्वास्थ्य र बैकिङ क्षेत्रमा लगानीको सम्भावनाहरु खोजी गर्ने कार्यमा महजर्न सक्रिय थिए ।

‘नयाँ बैंकको लाइसेन्स बन्द भएको १० वर्ष भईसकेको थियो । काठमाडौंमा नयाँ हस्पिटल खोल्न पनि नदिने सरकारले निर्णय गरेको थियो’ महर्जन भन्छन्–‘यो अवस्थामा हामीले चालु अवस्थामा रहेको तर नयाँ लगानीकर्ता खोजीरहेको संस्था खोज्यौं ।’

राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको, २३ वर्षदेखि लगानीकर्तालाई लाभांश दिन नसकेको, २० करोड मात्र चुक्ता पुँजी भएको, राष्ट्र बैंकको नियम अनुसार ८० करोड पुँजी पुर्याउन नसक्ने अवस्थामा रहेको प्रोगेसिभ फाइनान्समा ज्यापु समाजका सदस्यहरुले लगानी गर्ने निर्णय भयो ।

ठीक त्यहि बेलामा महर्जन सिभिल बैंकबाट दोस्रो कार्यकाल पूरा गरी अवकाश भएका थिए । ‘तपाईंले यो फाइनान्सको अध्यक्ष भएर काम गर्नुपर्यो भनेर लगानीकर्ताहरुले भन्नुभयो । ३३ वर्षसम्म बैंकमा काम गरेर छोडेकोले मलाई फेरी बैकिङमा जाने चाहाना थिएन । धेरै साथीहरुले जोड गरेपछि मैले हुन्छ भने’ महर्जन भन्छन्– ‘मैले फाइनान्सलाई रिइन्जिनियरिङ गरेँ । २० करोडको पुँजीलाई ८० करोड बनायौं । २४ औं वर्षमा लगानीकर्तालाई लाभांश दिन सफल भयौं ।’ संकटमा रहेको संस्था सपार्न सफल भएकोमा उनी खुशी छन् । अहिले पनि उनी सो संस्थाको अध्यक्ष छन् ।

हस्पिटलमा प्रवेश

ज्यापु समाजले हस्पिटलमा पनि लगानी गर्न चाहेको थियो । महर्जनकी श्रीमती सिर्जना जोशीले स्टार हस्पिटलको प्रमोशनको काम गर्दै आएकोले स्टार हस्पिटलले नयाँ लगानीकर्ता खोजेको जानकारी थियो । हस्पिटल वार्षिक ८/९ करोड घाटामा थियो । २६ करोड रुपैयाँ संचित नोक्सान भईसकेको थियो । नगद संकटमा हस्पिटल थियो । बैंकबाट कर्जा लिन पनि नसक्ने अवस्था थियो ।

हस्पिटलका ठूला लगानीकर्तासँग महर्जनको पुरानो चिनजान पनि थियो । महर्जनले उनीहरुसँग बिजनेश डिल गरे । त्यतिबेला स्टार हस्पिटलमा ३५ करोड रुपैयाँ सेयर पुँजी थियो । बहुमत हिस्सा सेयर लिने गरी ज्यापु समाजका सदस्यहरुले ३६ करोड रुपैयाँ लगानी गर्ने विषयमा सहमति भयो । ‘पुराना लगानीकर्ताले पनि मलाई विश्वास गरे । नयाँ लगानीकर्ताले मलाई विश्वास गर्ने नै भए । एक वर्षअघि म हस्पिटलको अध्यक्ष भएँ’ महर्जनले भने ।

महर्जन दिनमा ८ घण्टा हस्पिटलमा बिताउँछन् । घरमा हुँदा पनि ४/५ घण्टा हस्पिटलको बारेमा सोच्छन्, योजना बनाउँछन् । यसबाट स्टार हस्पिटलको सञ्चालक समिति प्रभावित थियो । गत भदौमा सञ्चालक समितिले महर्जनलाई स्टार हस्पिटलको कार्यकारी अध्यक्ष बनायो ।

जब किशोर महर्जनले हस्पिटलको नेतृत्व लिए तब हस्पिटलमा सुधारले तिब्र गति लियो । ‘म यहाँ प्रवेश गर्दा फूलटाइम कन्सल्टेन्ट डाक्टर जिरो थियो । अहिले १८ जना फूलटाइम कल्सल्टेन्ट डाक्टर छन् । ५ वटा भाइब्रेन्ट डिपार्टमेन्ट छन् । १०० बेडको लाइसेन्स भए पनि ५० बेडमा चलेको थियो । म आएपछि बेढ थप्दै गयौं । फागुनसम्म हामीले धेरै राम्रो गरेका थियौं । लकडाउनपछि केही शिथिल भएको छ’ उनले भने–‘हामी नयाँ नयाँ काममा लागेका छौं । हामीलाई बैंकले सहयोग गरेका छन् । सिटिजन्स बैंक, प्रभु बैंक, महालक्ष्मी विकास बैंकले हामीलाई पूर्णरुपमा विश्वास गरेको छ ।’

महर्जन दिनमा ८ घण्टा हस्पिटलमा बिताउँछन् । घरमा हुँदा पनि ४/५ घण्टा हस्पिटलको बारेमा सोच्छन्, योजना बनाउँछन् । यसबाट स्टार हस्पिटलको सञ्चालक समिति प्रभावित थियो । गत भदौमा सञ्चालक समितिले महर्जनलाई स्टार हस्पिटलको कार्यकारी अध्यक्ष बनायो ।

अब किशोर महर्जनको परिचय परिवर्तन हुँदै गयो । बैंकर्सबाट उद्यमी बन्दै गए । उनी १०० बेड क्षमताको हस्पतालको कार्यकारी अध्यक्ष ।

बैंकर्स र उद्यमी भन्दा धेरै फरक पर्छ । महर्जनको बुझाई पनि त्यस्तै छ । ‘पहिला म बैंकको कुर्सीमा यता बस्थें । ग्राहक मलाई नमस्कार भन्दै छिर्नुहुन्थ्यो । उतापट्टी बस्नुहुन्थ्यो । व्यवसायीहरु ५–१० लाखदेखि ४०–५० करोड रुपैयाँ कर्जाको माग गर्नुहुन्थ्यो । बैंकका कर्मचारीहरुले रिपोर्ट बनाउँथे । मैले तपाईलाई यति कर्जा दिन सकिन्छ, त्यति व्याज लाग्छ भनेर मैले निर्णय सुनाउँथे । त्यस्तै, अलि धेरै पैसावाल आएर बढी व्याजदर माग्नुहुन्थ्यो । यति दिन सक्छु, यति दिन सक्दिन भनेर मैले निर्णय गर्दथे’ महर्जन भन्छन्–‘अहिले उल्टो भएको छ । म बैंकर्सलाई भेट्दा नमस्कार वा गुडमर्निङ वा गुडआफ्टरनुन् भन्छु । बैंकर्सको टेबुलको विपरित कुर्सीमा बस्छु । मेरो प्रस्ताव पेस गर्छु । मैले कर्जा छिटो स्वीकृत गरिदिनु भन्छु । बैंकर्सले हेर्छ । यो यो कागज ल्याउनुहोस् भन्छ । पछि तपाईलाई यति कर्जा दिन सकिन्छ, यति व्याज लाग्छ, सर्तहरु यी हुन्छन्, धितो यो यो चाहिन्छ भन्छ । मैले नेगोसिएट गर्छु । अलि व्याज घटाउन भन्छु ।’

पूर्व बैंकर्स र वर्तमान उद्यमी किशोर महर्जन भन्छन्–‘मलाई खुशी लाग्छ, बैंकर्सहरु कुरा बुझ्छन् । योङ बैंकर्सहरुले मलाई चिन्छन् । मेरो रेपुटेशनले पनि होला, बैंकहरुले राम्रो रेस्पोन्स गरेका छन् । मैले बनाएको प्रस्ताव भनेपछि बैंकहरुले हेर्ने दृष्टिकोण नै फरक छ । मेरो प्रस्तावमा बैंकर्सले प्रश्न गर्ने ठाउँ पनि कम हुन्छ ।’

व्यवसायमा उतार चढाव हुन्छ । कहिले नाफा त कहिले नोक्सान । योजना अनुसार अगाडि बढ्न सकिदैन । महर्जनलाई यस्तै भयो । कोभिडको कारण फागुनको तुलनामा चैतमा ४० प्रतिशत आम्दानी घट्यो, बैशाखमा अर्को ६० प्रतिशत गिरावट आयो । हस्पिटलको नगद प्रवाह ३० प्रतिशतमा झर्यो । उनलाई थप कर्जा आवश्यक भयो ।

बैंकहरुको बिजनेश चरित्र निर्मम हुन्छ । बैंकहरुले व्यवसाय सप्रेकालाई कर्जा दिने हुन् । खस्कँदो व्यवसायीलाई कर्जा दिन मान्दैनन् । उल्टै व्यवसाय बिग्रन थाल्यो भने बैंकहरु धितो जफत गरेर कर्जा असुल्न प्रयास गर्छन् । तर किशोर महर्जनलाई त्यस्तो विपत परेन । नगद प्रवाह ७० प्रतिशतले घटेको अवस्थामा पनि बैंकबाट कर्जा लिन सफल भए । ‘मैले थप कर्जाको लागि बैंकसँग पटक पटक छलफल गरे । संकटको बेलामा पनि बैंकबाट थप कर्जा लिन सफल भएँ’ उनी भन्छन् ‘अहिले ५० करोड कर्जा छ । बैंकहरुले मलाई राम्रो सहयोग गरेका छन् ।’

बैंकका सामु ऋणिको इमान उनले जोगाएका छन् । संकटको बेलामा पनि व्याज र सावाको किस्ता नियमित तिर्दै आएका छन् । ‘हामीले बैंकमा प्रतिवद्धता गरेअनुसार सावा व्याज पनि तिरेका छौं । गत असार मसान्तमा पनि हामी जस्तो संचित नोक्सानमा भएको संस्थाले पनि व्याज र सावा दुबै बुझायौं’ महर्जनले भने ।

कोभिडको असर

फागुनसम्म हस्पिटलको बेड अकुपेन्सी बढ्दै थियो । हस्पिटल थप बेड राख्दै थियो । कोभिडपछि बेड अकुपेन्सी ८/१० प्रतिशतमा झर्यो ।

चैत महिनामा किशोर महर्जनले पीसीआर टेस्ट थाल्ने योजना बनाए । टेष्टका ल्याबका सामानहरु ल्याए । सरकारसँग पीसीआर टेष्टको लागि अनुमति मागे तर सरकारबाट स्वीकृत लिन सकेनन् । उनलाई समयले साथ दियो । कोडिभका बिरामी बढ्दै गए । सरकारी ल्याव प्रयाप्त भएन । त्यसपछि सरकारले निजी क्षेत्रलाई पीसीआर टेष्ट गर्न अनुमति दिँदा स्टार हस्पिटल पहिलो बन्यो । सरकारी निर्णय लगत्तै स्टार हस्पिटलले कोडिभ टेष्ट र उपचार शुरु गर्यो । स्वास्थ्य मन्त्रालयको प्रेस व्रिफिङमा स्टार अस्पिटलको नाम नियमित आउन थाल्यो । ‘अहिले हामीले धेरै क्षेत्रबाट विश्वास जितेका छौं । सबै कुटनीतिक नियोगले स्टार हस्पिटलमा पीसीआर टेष्ट गर्छन् । ११ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले पीसीआर टेष्ट रिपोर्ट स्टार हस्पिटलकै रिपोर्ट माग्छन् । चिनियाँ दूतावासले विज्ञप्ती नै जारी गरेर स्टाफ तथा नागरिकहरुलाई पीसीआर टेष्ट गर्दा स्टार हस्पिटलमा गर्नु भनेका छन् । अनलाईन रिपोटिङ सिस्टम बनाएका छौं । यति धेरै क्षेत्रले हामीलाई विश्वास गरेपछि हामीले व्याकअपको लागि ह्याम्स हस्पिटलसँग साझेदारी गरेका छौं । राम्रो वा नराम्रो समाचारहरु दैनिक रुपमा आईरहेका छन् ।

‘एकातिर कोभिड उपचार हुने हस्पिटलको रुपमा चर्चा भयो । कोभिडको शंका लागेको बिरामी आउने क्रम बढ्यो । तर अन्य बिरामीको संख्या ह्वात्तै घट्यो’ महर्जनले अनुभव सुनाए ।

सरकारले पीसीआर शुल्क २ हजार रुपैयाँ तोकेकोमा महर्जन असन्तुष्ट छन् । ‘हामीले ल्याव स्थापनामा खर्च गरेको छौं, ल्यावबाट हुने संक्रमणको जोखिम कम गर्न धेरै खर्च गरेका छौं । प्रविधिमा खर्च गरेका छौं । जनशक्तिमा खर्च छ । ५० औं करोड कर्जाको व्याज तिर्नुपर्छ । १४ जना बायोटेक्निसियनले दुई सिफ्टमा काम गरेका हुन्छन् । स्वाव कलेक्सनमा १२ जना खटेका छन् । हामीले होम सर्भिस पनि दिएका छौं । हामीले २६ जनालाई यहि बस्ने, खाने सुविधा दिएका छौं । ३० हजार तलब भएको कर्मचारीले झण्डै २५ हजार भत्ता पाउँछ । जोखिम भत्ता अलग्गै दिन्छौं । हरेक सिफ्टमा पीपीई सेट फेर्नुपर्छ । दैनिक ८०/९० पीपीई सेट खर्च हुन्छ । भइजर, मोजा, पन्जा, स्यानिटाइजर । मासिक ६०० भन्दा बढी पीसीआर टेष्ट आफ्नै कर्मचारीको लागि गर्नुपर्छ । कर्मचारी बिरामी परेमा फूल केयर, ट्रिटमेन्ट अफिसको खर्चमा हुन्छ । खर्च कति कति ’ महर्जन भन्छन्– ‘यत्रो खर्च हामीले कहाँबाट ल्याउने । सरकारले गुणस्तर नहर्ने, मूल्य मात्र हेर्ने ।’

सरकारले भेरियवल कष्ट मात्र हेरेको, फिक्स कष्ट हेर्दै नहेरेको उनको भनाई छ । आफूले सबै प्रकारको कष्टलाई प्रष्ट पार्दै सरकारलाई जानकारी दिएको उनले बताए । दैनिक ४०० टेष्ट गर्दा पनि त्यसको लागि ३ हजार हुने उनले बताए ।

‘दैनिक ६०० भन्दा टेष्ट भयो भने २००० हजार रुपैयाँमा पुग्छ । तर दैनिक २/३ सय टेष्ट गर्दा घाटा हुने उनले बताए । ‘पहिलो सरकारले स्वाव संकलन गरेर ल्याव टेष्ट गर्दा ५ हजार ५०० तोकेको थियो । सोहि अनुसार हामीले बैंक लोन लिएर पूर्वाधार बनायौं । प्रविधिमा लगानी गर्यौं । काउन्टर विस्तार गर्यौं । स्टाफ राख्यौं । अहिले स्वाव संकलन पनि आफैले गर्नुपर्ने र मूल्य पनि २००० मा झार्ने कार्यले हामी काम गर्न नसक्ने अवस्थामा पुगेको छौं’ महजर्नले भने– ‘हाम्रो लागत नै ३३/३४ सय रुपैयाँमा छ ।’
नेपालको आर्थिक विकास नहुनुमा सरकारी नीति अस्थीर अपारदर्शी हुनु भएको निष्कर्ष उनले सुनाए । कोभिड बीमा पोलिसामा भएको चेन्ज वा पीसीआर टेष्ट शुल्कमा भएको चेन्जले ठूलो समस्या भएको उनले बताए ।

१५ प्रतिशत सेयर पब्लिकलाई

स्टार हस्पिटल शुरु मै पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो । ३०० भन्दा बढी सेयरधनी थिए । सर्वसाधारणलाई सेयर निष्काशन गर्ने सोच थियो । तर नोक्सानमा भएकोले सेयर निष्काशन गर्न सकेन । अहिले करिब ४ हजार सेयरधनी भएका छन् । ‘अहिले हस्पिटल नाफामा छ । ३ वर्षमा हामी संचित नाफामा जानेछौं । त्यसपछि १५ प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्ने सोच छ’ उत्साहित हुँदै महर्जनले भने ।

‘जारी पुँजी १ अर्ब रुपैयाँ छ । चुक्ता पुँजी ६२ करोड छ । बोनस सेयरबाट पुँजी ८५ करोड पुर्याउने र १५ करोडको सेयर निष्काशन गर्ने मेरो सोच छ’ उनी भन्छन्–अहिले प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ छ, त्यतिबेलासम्म कम्तिमा प्रतिसेयर नेटवर्थ १७५/१८० रुपैयाँ पुर्याउन सकिन्छ ।’ सानेपा जस्तो महत्वपूर्ण स्थानमा ५ रोपनी जग्गामा बनेको हस्पिटल भवनको पुनर्मूल्याङ्कन गर्दा हस्पिटलको नेटवर्थ धेरै माथि जाने उनको भनाई छ ।

‘यो जग्गाको मूल्य करिब १ अर्ब रुपैयाँ पर्छ । भवन बनाउन ६०/६५ करोड लाग्ला । यस्तो सम्पत्ति जोड्न जो कोहीलाई धेरै गाह्रो हुन्छ’ उनी भन्छन्–‘हामी चक्रपथबाट ५/६ किलोमिटर बाहिर ठूलो हस्पिटल बनाउँछौं । यसलाई सिटी हस्पिटल बनाउने छौं ।’

र, शिक्षामा पनि

हस्पिटलको १०० प्रतिशत सेयरमा मोडर्न टेक्निक कलेज छ । स्टार एकेडेमी छ । अर्को इनोभेटिभ कलेज किनेको छ । कलेजमा पढाउने विभिन्न विषय थप्ने सोच छ । हस्पिटल व्यवस्थापन विषय नेपालमा पढाई नहुने भएकोले यसको लागि छुट्टै कोर्ष बनाएर पढाउने उनको सोच छ । साथै, नुवाकोटमा ५० बेडको स्टार नुवाकोट हस्पिटल सञ्चालनमा ल्याएको छ । ‘हामीसँग भएका कलेजहरुको क्षमता विस्तार गर्छौ । केही नयाँ स्थानमा पनि संयुक्त लगानीमा हस्पिटल खोल्ने प्रस्तावहरु आएका छन् । त्यसमा हामीले होमवर्क गर्दैछौं’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.