निर्मला पन्तको बलात्कारमा संलग्नलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको छः गृहमन्त्री बादल

  २०७७ असोज १४ गते १७:५३     विकासन्युज

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारमा संलग्नलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताएका छन् । संसदका राज्य व्यवस्था समितिमा भएको छलफलमा गृहमन्त्री थापाले पन्तको बलात्कारमा संलग्नलाई कारवाही गर्न ढिलाइ भएको स्वीकार गर्दै अपराधिलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताएका हुन् ।

घटनामा संलग्नलाई कानूनी कठ्घरामा ल्याउन प्रहरी प्रशासन सफल हुने विश्वास गृहमन्त्री थापाले गरे । थापाले बझाङकी सम्झना कामी लगायतमाथि भएको बलात्कार तथा हत्याका आरोपीलाई कानूनी दायरामा ल्याउन सरकारले कडा कदम चालेको पनि बताएका छन् । सम्झानाको असोज ७ गते बलात्कारपछि हत्या गरिएको घटनाका आरोपितलाई प्रहरीले पक्राउ गरेको पनि उनले जानकारी गराए।

मन्त्री थापाले बलात्कारका घटना रोक्न अधिकतम प्रयत्न भएपनि पछिल्लो समय हरेक दिन ६/७ जना बलात्कृत हुने गरेको तथ्याङ्क रहेको बताए। पछिल्लो समय बालिका र महिलामाथि हुने बलात्कारका घटना बढेकाले कानूलाई अझ कडाई गर्नुपर्ने आवाज उठिरहेको बेला गृहमन्त्री थापाले घटना रोक्न निष्ठापूर्वक प्रयत्न भइरहेको बताउँदै उनले भने, ‘‘झन्डै ६–७ जना प्रत्येक दिन देशमा हाम्रा दिदी–बहिनी, छोरीहरू बलात्कृत भइरहेका छन् । यसलाई रोक्न निष्ठापूर्वक प्रयत्न गरिरहेका छौं । कानुनमा अझ कडाइ गर्नुपर्ने हो कि भन्ने भइरहेको छ । हामीले बनाएका कानुन पर्याप्त छैनन् कि भन्ने प्रश्न उठेको छ ।’’

थापाले नेपालमा पछिल्लो समय बलात्कारका घटनाहरु बढीरहेको भएपनि विश्वका अन्य देशहरुको तुलनामा अवस्था चिन्तजनक नभएको बताएका छन् । विश्वका २ सय भन्दा बढी देशको तथ्याङ्क विश्लेषण गर्दा नेपाल यस्ता घटनामा धेरै पछाडी रहेको बताएका छन्।

‘‘झण्ढै सवा २०० कन्ट्रीहरुको अवस्था विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने स्थिति पनि होइन । सरकारको तर्फबाट न्यूनीकरणमा प्रयासहरु भएका छन् र हाम्रो स्थान पछाडिबाट हेर्दा सवा दुई सवा भित्र हामी टप १५ मा छौं । अमेरिका पनि टप १० भित्र पर्छ । त्यहाँ बलात्कार घटना प्रतिमिनेट ७ वटा हुने गर्छ कुरा आएको छ । तर पनि हामीले हाम्रो अवस्था बदल्न जरुरी रहेको छ । यस्ता घटना रोक्न सरकारले आफ्नो तर्फबाट अधिकतम प्रयास गरिरहेको छ ।’’, उनले भने ।

बैठकमा नेपाली प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला पन्तको बलात्कार र हत्याको निष्कर्षमा छिटो पुग्ने गरी काम भइरहेको बताए । घटनाको अनुसन्धान गर्नका लागि प्रहरी प्रधान कार्यालयबाट नै अधिकृत पठाइएको उल्ले गर्दै उनले निर्मला पन्तको अनुसन्धानमा खटिएका अधिकृत अहिले बझाङको सम्झना कामीको बलात्कार तथा हत्याको अनुसन्धान गर्नका लागि सहयोगीको रूपमा पनि खटिएको बताए । पन्तको घटनापछि प्रहरीको छबिमा नै धब्बा लागेको भन्दै उनले घटना पार लगाउन नसके सदाका लागि त्यो धब्बा हुनेछ भन्नेमा आफुहरु सचेत रहेको बताएका छन् ।

‘‘निर्मला पन्तको केसमा औपचारिक र अनौपचारिक रुपमा अनुसन्धान भइरहेको छ । प्रधान कार्यालयबाट नै हामीले अनुसन्धानका लागि अधिकृत पठाएका छौं । घटनाको अहिले रिभ्यू गरिरहेको अवस्थामा छौं । त्यो केसमा यातना दिएको भनेर प्रहरीलाई सामान्य जिल्ला अदालतबाट यातना नदिएको भनेर सफाइ दिएको अवस्था छ । त्यो सफाइले अलिकति तत्कालिन अवस्थामा हामस्ीले गरेको अनुसन्धानमा त्यो कुरा होइन भन्ने कुरा अदालतले स्वीकार गरेको भएर विगतको कुरा सही थियो भन्ने भयो । त्यसलाई छिट्टै टुंगोमा पुर्याने गरी काम भइरहेको छ । निर्मला प्रकरणले नेपाल प्रहरीको इमेजको गतिमा योगदान भन्ने की के भन्ने जुन गरेको थियो त्यो धब्बा थियो । यो घटनामा हामीले पनि पार लगाउन नसके सदाका लागि धब्बा हुनेछ भन्नेमा सचेत रहेका छौँ । छिटो निष्कर्षमा पुग्ने गरी काम गरिरहेका छौँ ।’’

उनले पछिल्लो समय बालिकामाथि हुने यौन दुव्र्यवहारका घटना बढिरहेको बताएका छन् । बझाङमा सम्झनाको बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका राजेन्द्र बोहराले आफ्नो अपराध स्वीकार गरेको पनि उनले बताए । बोहराले गत साउनमा पनि बलात्कार गरेको घटना बाहिर आएकाले अहिले दुईवटा बलात्कार र एउटा कर्तव्य ज्यान अभियोगमा मुद्धा दायर गरी अनुसन्धान भइरहेको उनले बताए। पहिलेको घटनालाई मिलापत्र गराउनेहरुलाई समेत प्रतिवादीको रुपमा लैजाने तयारी भइरहेको उनले जानकारी गराए ।

‘‘सम्झना कामीको घटनामा प्रहरीले पक्राउ गरेका व्यक्तिले अपराध स्वीकारेको अवस्था छ । पहिलेको मिलापत्रमा गरेकालाई पनि प्रतिवादी बनाउने गरी मुद्धामा लैजाने तयारी गरेका छौं । मिलापत्रमा पीडितको दाजु पनि बसेको हुनाले अहिलेको अवस्थामा जाहेरवाला हुने र पछि प्रतिवादीको रुपमा लैजाने गरी अगाडी बढ्दै छौं ।
सप्तरीको घटनामा पनि पञ्चायती गरेर पीडितलाई सजाय गरेको अवस्था रहेको देखिएको छ । त्यो पीडता सहन नसकेर उसले आत्महत्या गरेको भन्ने प्रहरी अनुसन्धानले देखाएको उनले जानकारी गराए ।

रोकथामका लागि प्रहरीले आफ्नो तर्फबाट कार्यक्रम गरिरहेको उनले बताए । समाजले फौजदारी अभियोगमा मिलपत्र गर्ने पराम्पराले यस्ता घटनाहरुलाई मलजल गरेको बुझाइ प्रहरीको रहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.