हिमालयन डिष्टिलरीको सेयर अनाधिकृत रुपमा बेच्ने शाहलाई ७५ हजार र ब्रोकरलाई साढे एक लाख जरिवाना

  २०७७ असोज ७ गते १६:४५     विकासन्युज

काठमाडौं । हिमालयन डिष्टिलरीका पूर्व संचालक रहिशा शाह श्रेष्ठलाई धितोपत्र बोर्डले कारबाही गरेको छ । बोर्डले जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरित सेयर कारोबार गरेको फेला परेपछि संचालक शाह र उनको सेयर बेचिदिने ब्रोकरलाई समेत बोर्डले नगद जरिवाना तिराएर कारबाही गरेको हो ।

शाहले सूचिकृत संगठित संस्थाको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को दफा १४ को उपदफा (६) को व्यवस्था विपरीत संचालक पदबाट हटेको एक वर्ष नपुग्दै विभिन्न मितिमा हिमालयन डिष्टिलरीको सेयर बिक्री गरेको तथा उक्त सेयर कारोवारमा संलग्न धितोपत्र दलाल व्यवसायी (ब्रोकर) श्री इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाललाई कारबाही गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

बोर्डले सेयर विक्री गर्ने शाहलाई ७५ हजार तथा सेयर बेचिदिने ब्रोकरलाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

शाहको बारेमा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम २९ को उपनियम (१) को व्यवस्था बमोजिमको पूर्ण विवरण सहितको अभिलेख नराखेको बोर्डको अनुसन्धानबाट खुलेको छ । यस्तै, सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशन, २०७६ को दफा ६ को उपदफा (२) तथा दफा १० बमोजिम ग्राहक पहिचान लगायत अन्य आवश्यक जानकारी अद्यावधिक राख्नुपर्नेमा सोको पूर्ण रुपमा पालना नगरेको आरोप बोर्डको छ ।

प्रणालीमा बिक्री आदेश प्रबिष्ट गर्नुअघि उक्त कारोवार धितोपत्र सम्बन्धी ऐन, नियम, विनियम तथा निर्देशन बमोजिम गर्न मिल्ने नमिल्ने सम्बन्धमा आवश्यक सावधानी अपनाएको नदेखिएको बोर्डको भनाइ छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) मा धितोपत्र सम्बन्धी ऐन वा ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएका कुनै आदेश वा निर्देशन वा बोर्डले तोकिदिएका शर्तहरुको उल्लंघन गरेमा वा आफूले गर्नुपर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा त्यस्तो व्यक्तिलाई बोर्डले ५० हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म जरिवान गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार शाहलाई ७५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय भएको बोर्डले जानकारी दियो ।

यस्तै, धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) मा कसैले धितोपत्र सम्बन्धी ऐन वा ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम पु¥याउनु पर्ने रीत नपु¥याई धितोपत्र निष्काशन गरेमा, धितोपत्र बजार वा धितोपत्र व्यवसायीको हैसियतले धितोपत्र कारोवार संचालन गरे गराएमा त्यस्तो काम गर्ने गराउने व्यक्तिलाई बोर्डले ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार ब्रोकर कम्पनी श्री इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

बोर्डले सूचिकृत संगठित संस्थाको संचालकलाई गरेको यो नै पहिलो कारबाही हो । यस्तो कारबाही यसअघि कसैलाई पनि नगरिएको बोर्डको भनाइ छ । बोर्डले धितोपत्र सम्बन्धी कानूनको प्रबलीकरणलाई सशक्त बनाउँदै लैजाने क्रममा गरिएका यस्ता कारबाहीबाट धितोपत्र सम्बन्धी कसूरहरुको न्यूनीकरण भई दोस्रो बजार कारोवार थप स्वच्छ र पारदर्शी हुने र बजारका सम्बद्ध पक्षहरुले ऐन नियमको पालनातर्फ थप सजगता अपनाउने बोर्डको अपेक्षा रहेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.