साहस उर्जाले निर्माण गरिरहेको सोलुखोलाको लागत बढ्ने, आईपीओ कहिले खुल्छ ?

  २०७७ असोज ६ गते १२:३१     विकासन्युज

काठमाडौं । साहस उर्जाले निर्माण गरिरहेको सोलुखोला दुधकोशी आयोजनाको लागत बढ्ने भएको छ । चालु आवकै चैतमा जलविद्युत आयोजनाको निर्माण कार्य सक्ने कम्पनीको योजना भएपनि कोरोना भाइरस र भौगाेलिक कारणले ढिलाई हुन पुगेको कम्पनीले बताएको छ । आयोजनाको निर्माण कार्य ढिला नै सम्पन्न हुने भएपनि आयोजनाको लागत पनि बढ्ने भएको हो ।

सोलुखुम्बुमा निर्माणाधिन गरिरहेको निजी क्षेत्रको अहिलेसम्मकै ठूलो ८६ मेगावट क्षमताको सोलुखोला दुधकोशी आयोजनाको निर्माण यस वर्षको चैतमा नै सक्ने दावी कम्पनीहरूले गर्दै आएको थियो । तर, अब नि त्यो समयावधिमा सक्न मुस्किल हुने भएको छ ।

आयोजनाको निर्माण कार्य ढिलाई र लागत बढ्ने भएपछि सर्वसाधारणमा बिक्री गरिने शेयरबाट पैसा संकलन नहुने हो कि भन्ने चिन्ता पनि प्रबद्र्धकहरुलाई परेको छ ।

कम्पनीका अध्यक्ष हिमप्रसाद पाठकले आयोजनाको निर्माण कार्य चैतमा सक्ने लक्ष्य भएपनि विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) र जिओलोजीको कारण काममा ढिलाई भएको बताए ।

‘हामीले तयारी गरे अनुसारको जिओलोजी त्यहाँ पाएनौं, जिओलोजीको समस्याले नै काम हुन सकेन, अर्को कोभिडको कारणले जनशक्ति, सामानहरु उपलब्ध हुन सकेन त्यही भएर काममा ढिलाई भयो,’ उनले भने ।

८६ मेगावट क्षमताको सोलुखोला जलविद्युत आयोजनाको शुरुवाती अनुमानित लागत प्रतिमेगावट १३ करोड ७९ लाख रुपैयाँ रहेको थियो तर निर्माणमा ढिलाई भएकाले लागत अरु बढ्ने देखिएको उनले बताए । उनले अब केही समय धकेलिने तर कहिलेसम्म निर्माण गरिसक्ने भन्ने विस्तारै थाहा हुने बताए ।

लागत कति बढ्छ भन्ने यकिन अझै हुन नसकेको उनको भनाई छ । साइटमा प्रोग्रेस ठिकै नै भइरहेको छ, अहिलेसम्म ५० भन्दा बढी प्रतिशत निर्माण कार्य सम्मपन्न भइसकेको छ, हुनु पर्ने सबै काम भइरहेको छ,’ उनले भने ।

उनका अनुसार आयोजनाको भुमिगत संरचना निर्माण सकिएको छ भने पावरहाउस र हेडबक्र्सको काम भइरहेको छ । शुरुमा निर्माण यति ठूलो कम्पनीमा लगानी गर्न उत्साहित आयोजना प्रबद्र्धकहरु अहिले कहिले आईपीओ खुल्छ भन्ने प्रतिक्षामा छन् । पाठकले यही वर्षभित्रै जसरी भएपनि आईपीओ निश्कासन गर्ने तयारी भएको बताए ।

‘हामी २०७७ भित्रै जसरी भएपनि आइपीओ जारी गछौं, आईपीओ जारी गर्न बिक्री प्रबन्धकको रुपमा एनआईबिएल क्यापिटल लिमिटेडसँग र क्रेडिट रेटिङका लागि इक्रा नेपालसँग सम्झौता भइसकेको छ’, उनले भने । अब काम कुन गतिमा जान्छ भन्ने निर्धारण कोभिडले तय गर्ने बताए । ६९ जिल्लाबाट झण्डै ८ हजार सेयरधनीहरुको लगानी रहेको साहस उर्जामा इन्भेष्टमेन्ट बैंकको अगुवाईमा अन्य ५ वटा बेंकहरुले लगानी गरेका छन् ।

सो कम्पनीमा अध्यक्ष पाठकको ४ करोड ७६ लाख, सञ्चालक सुशील थापाको ५ करोड ५२ लाख, र महेन्द्रकुमार गिरीको ५ करोडभन्दा बढि लगानी रहेको छ । कम्पनीमा स्थानीय तीन हजार पाँच सय भन्दा बढि जनताले पनि लगानी गरेका छन् । सिई कन्सट्रक्सनसंग निर्माण सम्झौता गरेर कामलाई निरन्तरता दिईएको छ । ८६ मेगावाट क्षमताको उक्त आयोजनाले २०७१ असोज २ मा निर्माणको अनुमति पाएको आयोजनाको कुल अनुमानित लागत ११ अर्ब ८६ करोड रूपैयाँ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.