राजाको जन्मोत्सव र संविधान दिवसकाे समानता

  २०७७ असोज ३ गते १८:५३     सम्पादकीय

शनिवार टुँडीखेलभित्र एउटा समूहले छैटौं संविधान दिवस मनाएको छ । राजाको जन्मोत्सवको झल्को सम्झाउने गरी टुँडीखेलमा गणतन्त्र दिवस र संविधान दिवस मनाउने गरिएको छ । जहाँ पञ्चायती शैलीमा विभिन्न झाँकीसहित सेना, प्रहरी, सत्तारुढ दलका भातृ संगठनहरुले विभिन्न प्रस्तुति देखाउँछन् ।

राजाको शैलीमा राष्ट्रपति, रानीको शैलीमा उपराष्टपति उपस्थिति देख्न पाइन्छ । एउटा मात्र फरक के छ भने हिजो राजारानी एउटा गाडीमा सवार हुन्थे भने अहिले राष्ट्रपति र उपराष्ट्रपति फरक फरक गाडी र सुविधामा ओहोरदोहोर गर्छन । कार्यकारी प्रमुखको रुपमा सबै प्रधानमन्त्रीले सरकारको तारिफ गाउने, प्रधानन्यायाधीश प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरु, संघिय संसदका संसदीय समितिका माननीय सभापतिहरु, सांसदहरु, संवैधानिक निकायका पदाधिकारीहरु, उच्च पदमा रहेका सरकारी कर्मचारीहरु साक्षी बसेर ताली बजाउन टुँडीखेलमा पुग्ने अभ्यास छ । उनीहरुको लागि यो ठूलो चाड हो ।

फोटो खिचेर फेसबुकमा पोष्टाउन, सत्ताको भक्तिभाव देखाउन र राजनीतिक नियुक्ती खाने लोभले मेलोमोसो मिलाउन लालाहितहरुलाई हिजो राजाको जन्मोत्सव, आज गणतन्त्र र संविधान दिवस बढो ठूलो पर्व हो । यस्ता पर्वका राज्य कोषको ८/१० करोड रुपैयाँ खर्च हुन्छ । टुँडीखेल छिर्नेहरुले त्यसको रसास्वाद पाउने नै भए । यस्तो भाग्यमानीहरु ४/५ हजार टाउके हुन्छन् । बाँकी जनताको लागि हिजोको राजाको जम्मोत्सव र आजको गणतन्त्र दिवस वा संविधान दिवसमा कुनै फरक छैन ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको जिब्रो निकै चन्चले छ । कम्तिमा २/४ सय मान्छे जम्मा गर्नु, उखान र टुक्का प्रयोग गरेर केही सान्दर्भिक र मजाकको भाषण गर्नु उनको शौख हो । जेलमा बस्दादेखि म्यारिज खेल्दासम्म र सडक आन्दोलन गर्दा सत्ता सञ्चालन गर्दासम्म उनले आफ्नौ शौख र शैली देखाईहाल्छन् । सत्य तथ्य बुझ्न नचाहाने, उखान टुक्का सुनेर रमाउने, अलिअलि गुलियो चाख्न पाएपछि, झूटो आश्वसन पाएपछि लुरुलुरु पछि लाग्नेहरुको कमी केपी ओलीको लागि न हिजो थियो, न आज छ ।

संविधान दिवसको अवसरमा शनिबार सैनिक मञ्च टुुँडिखेलमा आयोजित विशेष समारोहमा विशिष्ट व्यक्तित्व

प्रधानमन्त्री केपी ओलीले शनिवार पनि राज्यको प्रमुख निकायका प्रमुख व्यक्तिहरुको अगाडि उझिए झुट बोले । उनले भने–‘गत बर्षदेखि संविधान दिवस तथा राष्ट्रिय दिवसलाई औपचारिक सरकारी समारोहबाट घर÷घरमा चर्चा हुने राष्ट्रिय चाडकारुपमा मनाउने प्रयास ग¥यौं । जनआकांक्षा पूरा गर्न गरिएका कामको समीक्षा र त्यसको प्रगतिबारे चर्चा ग¥यौं ।’ जुन सरासर झुट हो । रहर र कहरका बीच टुँडीखेलमा ५ हजार मान्छे छिरे होलान् । नेकपाका एकतिहाई कार्यकर्ता, जो केपी ओलीको अन्धभक्त हुन्, जसको पहुँचमा टेलिभिज वा इन्टरनेटको पहुँच थियो, उनीहरुले टिभी, रेडियो र सामाजिक सञ्जालमा उनको भाषण हेरेसुने होलान् । अरु कसैको लागि पनि संविधान दिवस चासोको विषय बनेन । कम्तिमा ८० प्रतिशत नेपालीलाई संविधान दिवसको बारेमा केही थाहा पनि छैन ।

टुँडीखेलमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कुरा सत्य बोले । ‘कोभिड–१९ संक्रमण ६० हजार भन्दा बढी नेपालीलाई भएको छ । देशभित्र झण्डै चार सय र देशबाहिर विभिन्न मुलुकमा कार्यरत सयौंको संख्यामा नेपालीहरुको ज्यान गएको छ ।’ चार महिनाअघि सरकारको तर्फबाट संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ का कारण एक जना नेपालीले पनि जान गुमाउनु नपर्ने प्रतिवद्धता जनाएकी थिएन् । संसद्को संयुक्त सदनमा राष्ट्रपतिले गरेको प्रतिवद्धता पुरा हुन नसकेको कुरा प्रधानमन्त्रीले टुँडीखेलमा उभिएर भन्दा राष्ट्रपति विद्यादेवी भण्डारीलाई कत्ति पनि हिनताबोध भएन । न सरकारका अन्य कुनै जिम्मेवार पदाधिकारीको अनुहार मलिन रह्यो । त्यसैले त संविधान दिवस शक्तिकेन्द्रमा बस्नेको लागि ठूलो पर्व भएपनि सर्वसाधार मानिसमा न कुनै चासो रह्यो, न कुनै महत्व ।