प्रयोगमा नरहेको सिमकार्डमा रहेको २/४ रुपैयाँ कसले खान्छ ?

  २०७७ भदौ २५ गते १३:०८     नविन पोखरेल

काठमाडौ । नचलेका सिम कार्डमा रहेको व्यालेन्स कसले लिन्छ होला होला भन्ने धेरैको चासोको विषय बनेको छ । किनकि, प्रयोगमा नआएका सिमकार्डमा रहेको थोरै थोरै व्यालेन्स पनि टेलिकम कम्पनीहरुमा धेरै जम्मा हुने गरेको छ ।

विभिन्न कारणले प्रयोगमा नरहेका सिमकार्डमा १ देखि १० रुपैयाँ मात्रै बाँकी हुदा पनि धेरै रकम जम्मा हुने गरेको आकलन गरिएको छ । सर्वसाधारणको यस्तो रकम कहाँ कसले कसरी चलाइरहेका छन् भन्ने जानकारी टेलिकप सेवा प्रदायकहरुको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणलाई पनि जानकारी छैन ।

नेपाल दूरसंचार प्राधिकरणले भने ग्राहकहरुले सिमकार्ड नचलाउदा बचेको व्यालेन्स जति भएपनि ग्राकहरुले नै फिर्ता पाउँनु पर्ने वा सरकारको राजस्वमा जानु पर्र्नेे वताएको छ । तर, यस्तो रकम अहिलेसम्म कहाँ गएको छ भन्ने जानकारी प्राधिकरणलाई पनि छैन ।

प्राधिकरण प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार कुनैपनि सेवामा उपयोग भएका ग्राहकका व्यालेन्स सेवा प्रदायकले लिनु हुँदैन ।

‘ग्राहकले नचलाएको सेवाको एक पैसा रकम पनि सेवा प्रदायकले लिनु हुँदैन, त्यो रकम सम्बन्धित ग्राहकहरुलाई नै फिर्ता गर्नु पर्छ, त्यसरी दिन सकिएन भने जति पैसा बाँकी रहेको हुन्छ, त्यो रकम सरकारको खातामा जाने व्यवस्था गर्नुपर्छ’, प्रवक्ता अर्यालले विकासन्यूजसँग भने ।

अहिले मोवाईल सेवा १ सय २४ प्रतिशत जनसंख्याको पहुँचमा पुगिसकेको छ । यसको अर्थ पहुँच पुग्दा मोवाईल प्रयोगकर्ता बढिरहेको मात्र हुन्छन् भन्ने होइन । केही ग्राहकले एकभन्दा बढी सिमकार्ड प्रयोग गर्ने र त्यसमा जम्मा भएको अलिअलि रकम सेवा प्रदायकले नै नाफाको रुपमा लिने गरेका छन् ।

कति ग्राहकले लिएको सिमकार्ड प्रयोग विहिन अवस्थाममा छन् भन्ने यकिन जानकारी प्राधिकरणले दिएको छैन । तर, सबै नेपालीले मोबाइल नबोक्ने र सबै नेपालीले बोके पनि शतप्रतिशतले मात्रै प्रयोग गरेको देखिनु पर्नेमा १ सय २४ प्रतिशतले प्रयोग गरेको तथ्यांकले देखाएकोले प्रयोग विहिन अवस्थामा रहेका सिमकार्डको संख्या ठूलो हुन सक्ने अनुमान गरिएको छ ।

नेपाल टेलिकमले दिएको जानकारी अनुसार नचलेको सिम कार्डको पैसा फ्याकेको जस्तै हो । तर, ग्राहकले फ्याकेको भनिए पनि त्यस्तो रकम सेवा प्रदायकले प्रयोग गर्न नमिल्ने नियामक निकाय दूरसंचार प्राधिकरणको भनाई विपरित उनीहरुले प्रयोग गरिरहेका छन् ।

‘हामीले नेपालको आर्थिक ऐन, कानुन अनुसार नै त्यो नचलेको सिमकार्डको पैसा व्यवस्थापन गर्छाैं, त्यसरी व्यवस्थापन गरेको पैसा कम्पनीले खादैनन्, आम्दानी देखाउनेभन्दा पनि राजस्वमा उक्त पैसा लानु पर्छ भन्ने हाम्रो धारणा हो, तर नेपाल लेखामान सिद्धान्त (एनएफआरएस) अनुसार आम्दानी बाध्ने गरिएको छ,’ नेपाल टेलिमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले विकासन्यूजसँग भने ।

प्रचलित कानुन अनुसार रुपमा ग्राहकले खर्च गरेको पैसा मात्र कम्पनीको आम्दानीमा देखाउन पाइने व्यवस्था छ । तर, कम्पनीहरुले भने ग्रहकको प्रयोगमा नरहेको सिमकार्डको पैसा बेग्लै शिर्षक बनाएर राख्ने गरेका छैनन् ।

बैंकमा भने ग्राहकको खातामा रहेको तर प्रयोगमा नरहेको केही रकम फिर्ता गर्न बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक सुचना नै प्रकाशित गर्ने गरेका छन् । यसरी सुचना प्रकाशित गर्दा पनि सम्बन्धित खातावाल वा उसको कानुनी हकवाला आएन भने वित्तीय साक्षारतामा खर्च गर्ने गरी नेपाल राष्ट्र बैंकमा रहेको कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ ।

सिमकार्ड डिएीक्टभेट हुँदा

टेलिकम, एनसेल जस्ता मोबाइल सेवा प्रदायकका सिमकार्ड डिएक्टिभेट हुने गरेका छन् ।

कसैले सिमकार्ड हराएको अवस्थामा पुनः सोही नम्बरको नयाँ सिम निकाल्यो भने पहिलेको सिममा रहेको पैसा नयाँ सिमकार्डमा आउँछ ।

फोन हराउँदा ग्राहकहरुलाई टेलिकम सेवा प्रदायककोमा गएर फोन हरायो भन्ने सुविधा छ । त्यसरी फोन हरायो भन्दा टेलिकम सेवा प्रदायकले त्यही हराएको नम्बर ग्राहकलाई दिन्छ । यसमा ग्राहकलाई २ वटा कुरा फाइदा हुन्छ । एउटा त जुन नम्बर हरायो त्यही नम्बर पाउँन सकिन्छ । अर्को फाइदा भनेको हराएको सिम कार्डमा रहेको व्यालेन्स जति छ, सो व्यालेन्स उक्त नम्बरको नयाँ सिमकार्ड लिदा प्राप्त हुन्छ ।

सिमकार्ड प्रयोग गरेर फाल्नेहरुले भने आफ्नो व्यालेन्स जिरो बनाएर मात्रै सिम फ्याक्ने गरेका टेलिकम सेवा प्रदायकहरु बताउँछन् । यस्तै, विदेश जाने ग्राहकहरुले विषेश गरेर एयरपोर्टबाट सबै पैसा सिध्याएर जाने गरेको अनुभव नेपाल टेलिकमसँग छ ।

आफ्नो नामकाे मात्र सिम कार्ड चलाउन अनुरोध

सरकारले सवारी साधनमा समेत आफ्नो नामको लाईसेन्स, ब्लुबुकबाट मात्र सवारी साधन चलाउन मिल्ने व्यवस्था गरेको छ । त्यस्तै, सिमकार्ड पनि ग्राहकहरुले आफ्नै नामको लिनुपर्छ । तर कतिपय अवस्थामा अर्काकोे नामको सिमकार्ड समेत ग्राहकले प्रयोग गर्नेमा टेलिकमको भनाइ छ ।

‘घरमा बुबाले सिम किनेर परिवारका अर्का सदस्यलाई चलाउन दिँदा त्यो सामान्य नै मान्न सकिएका, तर एउटा सज्जन मान्छेको सिमकार्ड अपराधिक मानसिकता भएको व्यक्तिको हातमा पुगेमा त्यसबाट विभिन्न किसिमका हानी नोक्सानी हुने सम्भावना हुन्छ, सोही कारण आफ्नो सिमकार्ड आफैले चलाउनु भनेका हौं’, नेपाल टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.