भदौ २५ देखि नाडाले व्यवसाय सञ्चालन गर्ने, सरकारले अवराेध गरे बिद्रोह गर्ने

  २०७७ भदौ २२ गते १८:२४     विकासन्युज

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २५ गतेदेखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । नाडाको आज (सोमबार) बसेको पदाधिकारी बैठकले भदौ २४ गते सम्म निषेधाज्ञाको समय रहेकोले २५ गतेदेखि नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले १ सय ८० दिन सम्म सरकारको आदेश मानेर बसेको अवस्थामा अब हुने लकडाउनको पालना नगर्ने गरी सबै व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको बताए । उनले सरकारले देशको अर्थतन्त्रलाई बुझेर व्यवसाय गर्न पाउनेगरी सहजिकरण गर्नुपर्ने बताए । सरकारले त्यस्तो व्यवस्था नगरेपनि निषेधाज्ञालाई तोडेर अथवा विद्रोह गरेर भएपनि व्यवसाय सञ्चालन गर्ने बताएका छन् ।

‘सरकारले बुझेर लकडाउनलाई केही न केही सहजिकरण भन्दा पनि पुरै व्यवसाय गर्न पाउने गरी सहजिकरण गरेर अगाडि बढ्न पर्छ । यदि गरेन भनेपनि यो निषेधाज्ञा तोडिन्छ, जनताले विद्रोह गर्छन, व्यवसायीले विद्रोह गर्छन । यो कसैले पनि मान्ने वाला छैन त्यसकारण कसैले पनि नमान्ने खालको नियम ल्याउनु भनेको यो ठिक हुँदैन सरकारले बुझ्नुपर्छ ।’, उनले भने ।

उनले सरकारी कर्मचारीहरुले काम नगरेपनि तलब भत्ता आइराख्ने भएकाले कोरोना संक्रमण देखिए देखि नै लकडाउन गर्नुपर्छ भनिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । व्यवसायी र उद्योगपतिहरु बाहेक कसैले पनि लकडाउनको विरोध नगरेको पनि दुलाले बताए । घरमै बसीबसी तलब भत्ता आउने भएपछि किन लकडाउन खोल्ने भन्ने मानसिकता कर्मचारी र राजनीतिज्ञहरुमा रहेको दुलालको भनाई छ ।

‘सुरुदेखि नै हे¥यो भने सरकारी कर्मचारीहरुले कहिले पनि काममा जानुपर्छ भनेर भनेको छैन । जतिपनि सरकारी कर्मचारीहरुले के भनेका छन भने बन्द गर्नुपर्छ कोरोना फैलिन्छ घरमा बस्नुपर्छ भनेको छ । किनभने उहाँहरुले तलब बसिबसी पाउनुभएको छ । व्यवसायीहरु बाहेक खोल्नुपर्छ भन्ने मान्छे उद्योगपति बाहेक, व्यवसायी बाहेक घरमा बसेर पैसा आउने जतिपनि राजनीतिज्ञ छन्, जतिपनि नेता छन्, जतिपनि कर्मचारी छन सबै बन्द गर्नुपर्छ कोरोना सर्छ भनेको नै आवाज सुन्छौं ।’, उनले भने ।

उनले कोरोना नियन्त्रणका लागि शोक मनाएर बस्दाबस्दै भोक लाग्ने बेला भइसकेको बताए । पछिल्लो समय भारत पाकिस्तान लगायत विश्वभर लकडाउन खुलिसकेको अवस्थामा नेपालमा पनि खोल्नुको विकल्प नभएको दुलालले बताएका छन् । लकडाउन समस्याको समाधान नभएकाले सुरक्षित भएर काम गर्नु नै देशको आवश्यकता रहेको पनि उनले स्पस्ट पारे । विश्वलाई हेरेर व्यवसाय सूचारु गर्नुको विकल्प नरहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.