गिर्दो विश्व अर्थतन्त्र र योजना विहिन नेपाल

  २०७७ भदौ २१ गते १०:२८     विकासन्युज

कोरोना महामारीका कारण विश्वका अधिकांश देशको आर्थिक वृद्धिदर ऋणात्मक भएको छ । अहिलेसम्म प्रकाशित विवरण अनुसार नेपालको आर्थिक वृद्धिदर ऋणात्मक देखिदैन । तर यो अवस्था लामो समय टिक्नेवाला छैन । किनकी कोभिडको कारण सहरी अर्थतन्त्र चौपट भएको छ । व्यवसायीहरुको अनुसार ९० प्रतिशत उद्योगहरु बन्द वा सीमित क्षमतामा चलेका छन् । सार्वजनिक यातायात बन्दा हुँदा, रासायनिक मल बजारमा किन्न नपाइदा कृषि अर्थतन्त्र पनि प्रभावित हुने प्रष्ट देखिएको छ । समय कुर्नुमात्र पर्छ, चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ऋणात्मक बन्ने निश्चित छ ।

छिमेकी देश भारत र विश्वको सर्व शक्तिमान राष्ट्र अमेरिकाको अर्थतन्त्रमा देखिएको संकटले विश्व अर्थतन्त्रमा कस्तो असर पर्दैछ भन्ने संकेत गरिसकेको छ । भारतको अर्थतन्त्र २३.९ प्रतिशतले खुम्चिएको छ । यो इतिहासमै पहिलो पटक हो । विगत एक दशकसम्म लगातार ७/८ प्रतिशतले बढिरहेको भारतीय अर्थतन्त्र कोरोना भाइरसका कारण तीव्र यति धेरै खुम्चिएको हो । भारतको तथ्यांक मन्त्रालयका अनुसार निर्माण क्षेत्रमा ५१ प्रतिशतले घटेको छ । उत्पादन क्षेत्र ३९ र सेवा क्षेत्र ४७ प्रतिशतले घटको छ । माइनिङ क्षेत्र पनि ४१ प्रतिशतले घटेको छ ।

त्यस्तै, संयुक्त राज्य अमेरिकाको आर्थिक वृद्धिदर पनि झण्डै १० प्रतिशतले ऋणात्मक भएको छ । अमेरिकाको अर्थतन्त्र सर्वाधिक ऋणमा डुबिसकेको छ । यस वर्षको अन्त्यसम्ममा राष्ट्रिय ऋण अमेरिकाको कूल गार्हस्थ उत्पादनको ९८ प्रतिशत पुग्नेछ, र यो वस्तु तथा सेवाको कूल अंक बराबर हो । बजेट कार्यालयले सन् २०२१ मा राष्ट्रऋण कूल जिडिपीको १०० प्रतिशत पुग्ने जनाएको छ । आगामी दशकमा राष्ट्र ऋण करिब १३० खर्ब डलर पुग्नेछ । आर्थिक मन्दीका कारण राजस्वमा कमी आएको छ । व्यक्तिगत आयकरको संकलन गत वर्षको भन्दा ११ प्रतिशतले न्यून छ । कर्पोरेट राजस्व पनि ३४ प्रतिशतले घटेको छ । कोरोना भाइरस महामारीका कारण संघीय सरकारको खर्च व्यापक वृद्धि भएका कारण संयुक्त राज्य अमेरिकाको कूल बजेट घाटा ३३ खर्ब डलर पुग्न लागेको अनुमान गरिएको छ । यो स्थितिमा अमेरिका यसअघि दोस्रो विश्वयुद्धपछि मात्र पुगेको थियो ।

कोरोनाको असर जसरी अमेरिकामा देखिएको थियो, भारतमा देखिएको थियो, नेपालमा पनि त्यसरी नै फैलिदैछ । ४० हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण भईसकेको छ । चार महिनाको बन्दाबन्दीपछि आंशिक रुपमा खुलेको बजार एक महिना पनि नचल्दै निषेधाज्ञाको शिकार भएको छ । विज्ञ अर्थमन्त्री युवराज खतिवडा कोरोना महामारी पछिको ६ महिनासम्म केही पनि नगरी राजीनामा दिएर हिडेका छन् । कोराना महामारीकै बीचमा उनले प्रस्तुत गरेको बजेट सामान्य अवस्थाको भन्दा कत्ति पनि फरक आएन । सरकारको नीति तथा कार्यक्रमले एक जना नेपाली पनि कोभिडको कारण मर्नु नपर्ने झूटो प्रतिवद्धतामा सीमित रह्यो । यो संकटमा जनजीविकाको रक्षा कसरी गर्ने, आर्थिक जोखिम कसरी न्यूनिकरण गर्ने भन्ने सम्बन्धमा सरकारसँग न प्लान १ छ, न विकल्प २ छ, न विकल्प ३ छ । केही पनि छैन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मान्छे भेला गर्न, भेला गर्न नपाए नेपाल टेलिभिजनबाट लाइभ गरेर उखान टुक्का सुनाउँदै ठिक छ । अर्थमन्त्री युवराज खतिवडा ‘म जान्ने, अरु केही पनि नजान्ने’ सुत्रको मलामी गैहाले । नयाँ अर्थमन्त्री को आउने हुन् र अबको दिशा के हुने हो भन्ने अनिश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.