उद्योग वाणिज्य संघ चितवनले थप्यो कोरोना बीमाको म्याद, असोजसम्मै निःशुल्क गरिदिने

  २०७७ साउन ३० गते १८:०४     विकासन्युज

भरतपुर । उद्योग वाणिज्य संघ-चितवनले आफ्ना सदस्यहरुलाई उपलब्ध गराउँदै आएको निःशुल्क कोरोना बीमा गर्ने म्याद थप गरेको छ । उद्योग वाणिज्य संघ-चितवनको आज (साउन ३० गते) को बैठकले आगामी असोज मसान्तसम्म संघको सदस्यता नवीकरण गर्ने सदस्यहरुलाई ५० हजार रुपैयाँ बराबरको निःशुल्क कोरोना बीमा गरिदिने निर्णय गरेको संघका अध्यक्ष राजु श्रेष्ठले बताए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण तिब्र गतिमा बढ्दै गएको र व्यवसायी सदस्य यसको जोखिममा रहेकोले यसको म्याद थपिएको संघका कार्यसमिति सदस्य एवम् स्वास्थ्य समितिका संयोजक सिरिस पन्तले जानकारी दिए । संघमा आवद्ध करिब ५ हजार सदस्यहरुको नै निःशुल्क बीमा गरिदिने कार्यक्रम बमोजिम असौज मसान्तसम्मको म्याद थप गरिएको पन्तले जानकारी दिए ।

उद्योग वाणिज्य संघ-चितवनले सो योजना गत असार महिना देखी लागु गरेको र एक जना व्यवसायीलाई कोरोना संक्रमणको पुष्टि भईसकेकोले बीमा रकम उपलब्ध गराउन लागिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताए ।

साथै, संघले आज एक सूचना जारी गरि विपद् व्यवस्थापन समितिको निर्णय बमोजिम एक हप्ताको लागि भरतपुर महानगरपालिकामा लकडाउन लागू गर्ने भएकोले उद्योग व्यवसाय बन्द गरि आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित रहनका लागि नेपाल सरकारद्धारा लागू गरेका स्वास्थ्य तथा सुरक्षाका उपायहरु अबलम्बन गर्न अनुरोध गरेको छ ।

संघमा आवद्ध सदस्यहरुलाई सचेत गराउनका लागि संघले विभिन्न सामाजिक सञ्जाल मार्फत जनचेतनामूलक सन्देश प्रवाह गरिरहेको समेत संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.