बीमा बजार खाली छ, आफ्नो इच्छा जति छ त्यति लिन सकिन्छ-मनोज कुमार लाल कर्ण

  २०७७ साउन २२ गते १२:२०     विकासन्युज

मनोज कुमार लाल कर्ण, प्रमुख कार्यकारी अधिकृत, युनियन लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेड

२०७४ सालमा बीमा समितिबाट १० वटा जीवन बीमा कम्पनीले लाइसेन्स पाए । त्यसमध्ये एक युनियन लाइफ इन्स्यारेन्स कम्पनीले असोज ४ गते बीमा समितिबाट बीमा व्यवसाय गर्न अनुमति पाएकाे थियाे । असोज ६ गते उद्घाटन गर्याे र असोज २२ गतेदेखि कारोबार सुरु गर्याे । काराेबार गरेकाे तीन वर्षमा वार्षिक झण्डै ३ अर्ब बीमा शुल्क संकलन गरेकाे छ । शाखा, उपशाखा विस्तार, अभिकर्ता परिचालनमा पनि कम्पनी धेरै अगाडि देखिएकाे छ । प्रमुख कार्यकारी अधिकत मनाेज कुमार लाल कर्ण ९० डिग्रीकाे भर्टिकल ग्रोथकाे लक्ष्य लिएकाे बताउँछन् । कसरी सम्भव छ ? प्रस्तुत छ विकासन्युजले गरेकाे विकास वहस ।


युनियन लाइफले धेरै वर्ष पुराना कम्पनीकै हाराहारीमा बीमा शुल्क संकलन, पोलिसी बिक्री र अभिकर्ता बनाउन लागेको छ, छोटो समयमा नै यो प्रकारको प्रगति कसरी सम्भव भयो ?

मेरो काम गर्ने स्टायल नै यही हो । म जहाँ पनि एग्रेसिभ नै काम गर्छु । म जहाँ जहाँ गएको छु, त्यहाँ एग्रेसिभ्ली नै काम गरेको छु । र, यो एउटा प्रोसेस पनि हो । मैले हतार हतार काम गरेको मात्रै विजिनेस बढेको होइन । मुख्य कुरा त जीवन बीमाको बजार नै खाली छ । बजार खाली छ भने आफ्नो इच्छा जति छ, त्यति लिन सकिन्छ । वास्तवमै भन्नुहुन्छ भने हामीले जति बजार लिनुपर्ने हो, त्यति लिन सकेका पनि छैनौं । विजनेस अझै बढी हुनुपर्ने थियो ।

बजार खाली छ भनेर किन भन्नुभएको ?

अहिले पनि २५/२६ प्रतिशत नेपालीले मात्रै जीवन बीमा गरेका छन् । अर्थात ७५ प्रतिशत बजार अझै खाली छ । अर्काे कुरा, २५ प्रतिशत नेपालीले जुन बीमा गरेका भनिएको छ, त्यसमा पनि ५/६ प्रतिशत पोलिसी दोहोरिएको होला । एउटै मान्छेले ४/५ वटा पोलिसी लिएको हुन्छ । त्यसैकारण वास्तविक रुपमा हेर्ने हो भने बढीमा २० प्रतिशत नेपाली मात्रै बीमा गरेका छन् । त्यसैकारण बजार खाली छ भनेको हुँ । सबैलाई बीमा चाहिन्छ, ८० प्रतिशत मान्छेले बीमा गराएका छैनन् भने बजार खाली नभएर के हो ? केही मान्छेले जसलाई हातमुख जोर्न समस्या भएको व्यक्तिले बीमा गर्न सक्दैन भन्छन् । तर, बीमाको दृष्टिकोणबाट हेर्ने हो भने बीमा गराउन नसक्ने व्यक्ति एक जना पनि छैनन् । दुई सय, चार सय वा हजार तिरेर पनि बीमा गराउन सकिन्छ । धेरै रकम तिर्न नसक्नेलाई बीमा गर्न नसक्ने व्यक्ति भनेर किटान गर्नुभएन ।

वास्तविक रुपमा हेर्ने हो भने बढीमा २० प्रतिशत नेपाली मात्रै बीमा गरेका छन् । त्यसैकारण बजार खाली छ भनेको हुँ । सबैलाई बीमा चाहिन्छ, ८० प्रतिशत मान्छेले बीमा गराएका छैनन् भने बजार खाली नभएर के हो ?

बीमा ऐन आएर निजी क्षेत्रपनि खुल्ला गरिएको करिब ३ दशक हुन थाल्यो, यो अवधिमा पनि बीमाले समेटेको क्षेत्र २५ प्रतिशत मात्रै हुनुमा कसको कमजोरी देख्नुहुन्छ ?

यसमा समग्र बीमा क्षेत्रकै कमजोरी छ । यसको हिस्सेदार म पनि हूँला । संचार क्षेत्र पनि होला । बीमाको बारेमा संचार क्षेत्रले कुरा उठाइरहनु पथ्र्याे होला । कम्पनीहरुले बीमामा समेटिने वातावरण बनाउनु पथ्र्याे होला । सरकारले पनि प्राथमिक तहदेखिकै शिक्षामा बीमा विषय अध्यायन गर्ने गराउने प्रबन्ध मिलाउनु पर्ने थियो होला । सबैको कमजोरीका कारण आज बीमाको अवस्था यस्तो भएको हो ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनी संचालनमा आएपछि कति जना नयाँ अभिकर्ता बनाउनु भयो, कर्मचारी नयाँ कति जना र अन्य कम्पनीबाट कति जना थप्नुभयो ?

हाम्रो कम्पनीको कुरा गर्दा अन्य कम्पनीमा काम गरेर आएका कर्मचारी र अभिकर्ताको संख्या निकै कम छ । गत असार मसान्तसम्ममा हाम्रो कम्पनीका करिब ३९ हजार अभिकर्ता छन् । यी करिब सबै नयाँ अभिकर्ता हुन् । हरेक कम्पनीले प्राय नयाँ अभिकर्ता नै बनाउने गरेका छन् ।

बीमाको दृष्टिकोणबाट हेर्ने हो भने बीमा गराउन नसक्ने व्यक्ति एक जना पनि छैनन् । दुई सय, चार सय वा हजार तिरेर पनि बीमा गराउन सकिन्छ ।

तपाईंको स्वभाव त शान्त जस्तै देखिनु हुन्छ, व्यवसाय जस्तै एग्रेसिभ हुनुहुन्न ?

यो फरक कुरा हो । व्यक्तिगत जीवनमा म शान्त छु । बीमा क्षेत्रमा आउनुअघि करिब १० वर्षसम्म ट्युसन पढाएँ । त्योभन्दा अघि केही समय विद्यालयमा पढाएको पनि थिएँ । त्यसरी पढाउँदा पनि मलाई मेरा विद्यार्थीले विद्यालय तथा विश्वविद्यालय टप गर्नुपर्छ भन्ने मलाई लाग्थ्यो । तर, यो बीमा कम्पनीमा आउँदा यसलाई टप गराउँछु भन्ने मेरो दिमागमा छैन । मेरो दिमागमा के छ भने युनियन लाइफ इन्स्योरेन्स कम्पनी ९० डिग्रीको बृद्धिदर हासिल गरेर अघि बढ्नुपर्छ भन्ने छ । रकेटको स्पीडमा अघि बढ्नुपर्छ । हामीले निश्चित अवधिको लागि पाएको जीवनमा स्लोली जानु हुन्न । जे काम गरेपनि एग्रेसिभ गर्नुपर्छ । जो व्यक्ति जुन ठाउँमा छ, उसले त्यो ठाउँमा राम्रो काम गर्नुपर्छ ।

मैले यो कम्पनीमा पनि भन्ने गरेको छु कि पोलिसी बेच्ने भन्दा पनि बीमाको बारेमा बुझाउने प्रयास गरौं । हामीले हाम्रो वरिपरी भएका, आफन्त वा छिमेकीमध्ये कसैको निधन भयो र बीमा नभएको कारण सो परिवारमा आर्थिक नोक्सानी परेर समस्या उत्पन्न भयो भने त्यसको जिम्मेवार हामी सबै जना हो । जुन बीमा कम्पनीमा गरेपनि बीमा गराउनु पर्यो, हाम्रो ध्यान यतातिर हुनुपर्छ ।

गत असार मसान्तसम्म कस्तो व्यवसाय भयो ?

गत असार महिनामा मात्रै ७५ करोडको प्रिमियम संकलन भयो । असार मसान्तसम्मको कुरा गर्ने हो भने २ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको छ । र, १ लाख ७० हजार पोलिसी विक्री गरेका छौं । अभिकर्ता ३९ हजार भए । १ सय ८६ वटा शाखा भएका छन् । नयाँ कम्पनीका लागि यो धेरै नै उपलब्धिमुलक काम हो । बजार हिस्सा करिब १० प्रतिशत पुग्यो ।

मेरो दिमागमा के छ भने युनियन लाइफ इन्स्योरेन्स कम्पनी ९० डिग्रीको बृद्धिदर हासिल गरेर अघि बढ्नुपर्छ भन्ने छ । रकेटको स्पीडमा अघि बढ्नुपर्छ ।

कम्पनी संचालनमा आएको ३ वर्ष पनि नपुग्दै १० प्रतिशत बजार हिस्सा पुर्याउन सकिन्छ भन्ने लागेको थियो ?

मलाई लागेको थियो । राम्रो टीम बनाएर सोही अनुसार मोटिभेट गर्न सकेको अबस्थामा यति उपलब्धी हासिल हुन्छ भन्ने मलाई लागेको थियो । यो कम्पनी सुरु हुनुअघि लाइसेन्सिङ प्रकृयामै रहेको बेलामा थापाथलीमा कार्यालय राखिएको थियो । त्यो बेला बीमा कै एकजना साथी मलाई भेट्न आउनु भएको थियो । असोज महिना लागिसकेको थियो । साथीले यो वर्ष लाइसेन्स पाउनु भयो भने कतिको व्यवसाय गर्नुहुन्छ भनेर सोध्नुभयो । मैले उहाँलाई ५० करोड रुपैयाँ जतिको गर्न सकिन्छ भनेर जवाफ दिएको थिएँ । उहाँले ‘दाइ यस्तो गफाडी कुरा नगर्नुस्, यति धेरै बीमा शुल्क ल्याउन सक्नुहुन्न’ भन्नुभयो । तर, त्यो वर्ष नै ८६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थियौं । उहाँले किन यस्तो भन्नुभएको थियो भने कुनै पनि बीमा कम्पनी खुलेको वर्ष ५० करोड रुपैयाँ बीमा शुल्क संकलन भएको थिएन । त्यसैले उहाँले शंका गर्नुभएको थियो ।

कारोबार सुरु गरेको पहिलो वर्षको ९ महिनामा नै ८६ करोड रुपैयाँ बीमा शुल्क संकलन कसरी सम्भव भयो ?

हामीले त्यही अनुसारको टीम बनाएका थियौं । एग्रेसिभ मार्केटिङ गरेका थियौं । त्यो बेला हाम्रो मात्रै होइन, अरुको पनि विजनेस बढेको थियो । सबैको बीमा शुल्क बढेको थियो । नयाँ कम्पनी आएपछि पुराना कम्पनीको पनि बीमा शुल्क बढ्यो ।

नयाँ १० वटा कम्पनीमध्ये युनियन लाइफ निकै अघि बढेको छ, यो कसरी सम्भव भयो ?

सबै कम्पनीको आफ्नो आफ्नो रणनीति हुन्छ । आफ्नै किसिमले व्यवसाय विस्तार गरेको हुन्छ । त्यही अनुसार अरु कम्पनीले अलि विस्तारै अघि बढ्ने रणनीति बनाए होलान् । हामी एग्रेसिभ भएर अगाडि बढ्यौं ।

युनियन लाइफले छोटो समयमा नै जुन प्रकारको उपलब्धी हासिल गरेको छ, यसले संकट ल्याउने सम्भावना छ कि छैन ?

छैन । समस्या कतिबेला आउँछ भने बीमा गरेपछि कुनै विन्दुमा पुगेर रोकियो वा तल झर्न लाग्यो भने समस्या आउने हो । युनियन लाइफ अहिलेसम्म भर्टिकल ग्रोथमा गएको छ । पहिलो वर्ष ८६ करोडको बीमा शुल्क संकलन भयो । दोस्रो वर्ष २ अर्ब ४९ करोड रुपैयाँ पुग्यो । र, अहिले २ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको छ । हाम्रो ग्रोथ यो हिसावले गएको छ । हाम्रो ग्रोथ २ अर्ब ४९ करोडबाट ५ अर्ब रुपैयाँ पुगेको होइन ।

युनियन लाइफले गरेका बीमामध्ये कुन पोलिसीमा अलि बढी जोखिम छ भन्ने लाग्छ ?

कुनै पनि पोलिसीमा जोखिम बढी हुदैन । किनभने सबै पोलिसी एक्चुरीले बनाएको हुन्छ । मनीब्याक पोलिसीमा बीच बीचमा रकम फिर्ता दिनुपर्छ । यस्तो पोलिसीको बीमा शुल्क नै केही महंगो हुन्छ । अवधि पूरा भएपछि भुक्तानी पाइने इन्डोमेन्ट पोलिसीको बीमा शुल्क सस्तो हुन्छ । तर, कुनै पनि प्रडक्ट बेच्दा पोटफोलियो मिलाउनु पर्छ । हामीले पोटफोलियो मिलाएका छौं ।

मनीव्याक र इन्डाेमेन्टमध्ये बीमा कम्पनीलाई कुन पोलिसी बढी फाइदाजनक हुन्छ ?

हामीसँग करिब ३० प्रतिशत पोटफोलियो मनीव्याक छ । दुबै पोलिसीमा रकम भुक्तानी अवधिका आधारमा बीमा शुल्क तय गरिएको हुन्छ भनेर मैले अघि पनि भनिसकेको छु । यी दुई पोलिसीको तुलना नै गर्ने हो भने कम्पनीहरुका लागि मनीव्याक भन्दा इन्डोमेन्ट पोलिसी नै उत्तम हो ।

बीमा अभिकर्तालाई दिइने कमिसन बढी भएको कारण जीवन बीमाशुल्क महंगो भएको छ भन्ने गुनासो पनि आएको छ, यसमा तपाईंको धारणा के छ ?

संसारभर नै जीवन बीमा भनेको अभिकर्ताको आधारमा चल्ने हो । अभिकर्ताले कमिसन पाउने विश्वव्यापी नियम नै हो । एक्चुरीले पनि अभिकर्ताले कमिसन आउने गरी दर तय गरेको हुन्छ । अभिकर्ताले १०/१५ चोटी गएर भनेपछि बीमा गर्ने गरिएको छ । अभिकर्ता गएन, अभिकर्तालाई कमिसन दिएन भने बीमा नै हुदैन । यो व्यवसायको प्रकृति नै यस्तै हो ।

प्रत्येक्ष बीमा गर्न सकिदैन ?

बीमा कम्पनीको होर्डिङ बोर्ड देखेर बीमा गर्न आउने १ प्रतिशत पनि हुदैनन् । बीमालाई मान्छेले आवश्यकता वा अपरिहार्य हो भन्ने गरी सोचेकै छैनन् । विश्वभर नै जीवन बीमा भनेको एजेन्सी फोर्सबाट चल्ने व्यवसाय हो । सबै व्यवसायको आफ्नै प्रकृति हुन्छ । बीमाको प्रकृति नै यस्तै हो ।

दक्षिण एसियाली देशमा अभिकर्ता कमिसन दर कस्तो छ ?

अरु देशमा त हाम्रोमा भन्दा पनि बढी कमिसन छ । कतिपय देशले बीमा अवधिभरको कमिसन दिने व्यवस्था पनि गरेका छन् । हाम्रो देशमा जम्मा १० वर्षसम्म मात्रै कमिसन पाइने व्यवस्था छ । कतिपय देशमा त एक वर्षको प्रिमियम अभिकर्ता कमिसनमै जाने व्यवस्था पनि छ ।

अभिकर्ता कमिसन घटाउन सक्ने हो भने बीमा शुल्क सस्तो पर्थ्याे, घटाउन सक्ने ठाउँ देख्नुहुन्छ ?

म त त्यस्तो ठाउँ देख्दिनँ । घटाउनु पनि हुदैन । किनभने २० वर्षसम्मको लागि बीमा गरायो भने उसले पहिलो २ वर्षपछि त ५ प्रतिशतका दरले बाँकी ८ वर्षसम्म कर कटाएर कमिसन पाउने हो । तर उसले सेवा त २० वर्ष नै दिनुपर्छ । प्रत्येक्ष बीमा गर्न सकिने व्यवस्था सबै कम्पनीमा छ । तर, बीमा गराउँछु भन्दै कोही पनि आउँदैनन् ।

प्रत्येक्ष बीमा गराउन आउने व्यक्तिलाई अभिकर्ताले पाउने कमिसन छुट दिन सकिदैन ?

अभिकर्ता बीचमा चाहिन्छ नै । एजेन्ट नै भएन भने पोलिसी ल्याप्स हुने सम्भावना बढेर जान्छ । यो व्यवसायमा शतप्रतिशत प्रत्येक्ष वा शतप्रतिशत अनलाइन गरेर सम्भव हुन्न । अहिले गाउँबाट बीमा आइरहेको छ । गाउँका मान्छे मेरो आवश्यकता हो भने बीमा गर्न कहाँ जान्छन् ? यसको लागि धेरै समय लाग्छ । अहिलेसम्म जम्मा २० प्रतिशत जनतालाई मात्रै बीमा गराउन सकेका छौं । अभिकर्ताले दैनिक गएर भनेका भन्यै छन् । अहिलेसम्म बीमा भएको भनेको नै फोर्सफुल्ली हो । बीमाको बारेमा १० चोटी नभनी कसैले बीमा गर्दैन । कर्मचारी राखेर बीमा गराऊ न त भन्यो भने योभन्दा पनि बढी खर्च हुन्छ । अभिकर्तामार्फत आएको बीमामा खर्च कम छ । त्यसैले घटाउनु हुदैन, बरु बढाउनु पर्छ । बीमा अवधिभरको कमिसन पाउने व्यवस्था गर्नुपर्छ । यसो भयो भने अभिकर्ता अझ सक्रिय भएर लाग्छ ।

बीमा अभिकर्ताको कमाईं त्यही कम्पनीका सिइओको भन्दा बढी हुन्छ भन्ने चर्चा सुनिन्छ, फेरि तपाईं अभिकर्ता कमिसन अझै बढाउनु पर्छ भन्नुहुन्छ ?

विश्वमा ८० प्रतिशत मान्छेहरु विश्वविद्यालयको अध्ययनकै क्रममा सेलिङ प्रोफेसनमा आउँछन् । २० प्रतिशत मात्रै यताउता हुने हो । सेलिङ प्रोफेसनको विशेषता नै यस्तो हो कि जसले जति काम गर्न सक्छ त्यति नै कमाइ हुन्छ । जति मेहेनत गर्यो उति कमाइ हुन्छ । यस्तो कमाई तलबले होइन, कमिसनले निर्धारण गर्ने गरेको हुन्छ । अभिकर्ताहरु दिनरात, घामपानी, केही नभनी काम गरिरहेका हुन्छन् । उनीहरु दिनमा १६/१८ घण्टासम्म पनि काम गरिरहेका हुन्छन्, त्यसैले कमाउँछन् । अभिकर्ता मात्रै होइन, अन्य क्षेत्रमा पनि जसले धेरै मेहेनत गरेको हुन्छ, उसको कमाइ धेरै हुन्छ ।

यो कम्पनीको लागि तपाईं कति समय खट्नुहुन्छ ?

मैले विहान ७ बजेदेखि राती १० बजेसम्म यही कम्पनीको लागि समय दिएको छु ।

यो कम्पनीका कर्मचारी कति समय काम गर्छन् ?

शाखा कार्यालयहरुमा गएर हेर्नुभयो भने विहान ८ बजेदेखि राती १० वजेसम्म हाम्रा कर्मचारीहरु कम्पनीका लागि खटिरहेका पाउनु हुन्छ ।

तपाईंको कम्पनीमा कर्मचारी टर्नओभर कत्तिको छ ?

सुरुसुरुमा कर्मचारी आउने, जाने क्रम अलि बढी नै थियो । पछिल्लो एक वर्षयता त्य क्रम रोकिएको छ । अरु कम्पनीहरुबाट धेरै कर्मचारी ल्याएका पनि छैनौं । हामीले कलेज पढ्दै गरेका र विद्यालय पढाउँदै गरेका शिक्षक बढी ल्याएका छौं । नयाँ कर्मचारीले बढी व्यवसाय ल्याएका छन् । बैंक, सहकारी र शिक्षण पेशाबाट आएका कर्मचारीले बढी व्यवसाय ल्याएका छन् ।

पुरानोको तुलनामा नयाँ कर्मचारीले बढी विजनेस ल्याउन सक्नुको कारण के होला ?

यसको मुख्य कारण भनेको हाम्रो तालिम नै हो । हाम्रो मोटिभेसन नै हो । चैतमा लकडाउन भएपछि मानिसहरुको मनमा त्रासदीको भयावह अवस्था थियो । यस्तै अवस्थामा चैत २० गतेदेखि मैले अनलाइन तालिम सुरु गरेँ । अनि मैले सबैको दिमागमा कोभिड–१०० भर्दिएँ । कोभिड–१९ भनेको डर, भय, त्रास सिर्जना गर्ने महामारी हो । कोभिड–१०० भनेको मास्क लगाउ, स्यानिटाइजर बोक, दुरी कायम गर र प्रफुल्लित मुद्रामा बाहिर जाऊ भन्ने हो । पैसा कमाऊ त्यो कोभिड–१०० हो भनेँ । त्यसैकारण युनियन लाइफले बैशाख महिनामा सबैभन्दा बढी पोलिसी बेच्यो । सबैभन्दा बढी प्रिमियम संकलन भयो ।

अनि बजार तरंगित भयो । युनियन लाइफले गर्न सक्छ भने हामीले किन नसक्ने भन्ने अन्य बीमा कम्पनीलाई पनि पर्यो । हामीले एकै दिमा ७ वटासम्म अनलाइन कन्फरेन्स गरेका छौं । कहिले शाखा प्रमुखलाई, कहिले प्रादेशिक प्रमुखलाई, कहिले सिनियर एजेन्सी म्यानेजरलाई, कहिले एमडीआरटी मेम्बरहरुलाई तालिम दिएका हुन्थ्यौं । त्यसपछि युनियन लाइफमा मात्रै होइन, जीवन बीमा बजारमा कोभिड–१०० आयो ।

कुन क्षेत्रबाट बढी बीमा आएको छ ?

शहर तथा ग्रामीण दुबै क्षेत्रबाट बीमा आएको छ । प्रादेशिक रुपमा हेर्दा जनसंख्याको आधारमा करिब उस्तै बीमा आएको देखिन्छ । बीमा भनेको जनसंख्या, आम्दानी तथा सचेतना जस्ता कुराले निर्धारण गर्ने भएकोले १ देखि सुदूरपश्चिम प्रदेशसम्ममा जे जति व्यवसाय आएको छ, त्यो करिब उस्तै देखिन्छ ।

युनियन लाइफको गत आर्थिक वर्षको व्यवसायबाट तपाईं सन्तुष्ट हुनुहुन्छ ?

म सन्तुष्ट छु । असार महिनामा मात्रै हामीले ७५ करोडको प्रिमियम ल्यायौं । व्यक्तिगत बीमामा व्याकडेटिङ गर्न नपाउने भनेर बीमा समितिले निर्देशन जारी गर्यो । यो निर्देशन बीमा कम्पनीहरुका लागि बरदान सावित भयो । डबल बीमा गरिएको छ भने २ वर्षपछि र सिंगल बीमा गरिएको छ भने एक वर्षपछिदेखि नै ऋण लिन पाइने व्यवस्थाले बिमित र कम्पनी दुबै पक्षलाई फाइदा भयो । तर, गत आर्थिक वर्षमा कोभिड–१९ नआएको भए हामीहरुको विजनेस योभन्दा निकै धेरै हुन्थ्यो । कोभिड–१९ नआएको भए हामी गत आर्थिक वर्षसम्ममा ५ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गर्ने थियौं । म सन्तुष्ट छु भन्नुको अर्थ कोभिड–१९ को बेलामा जे जस्तो व्यवसाय भयो, त्यो राम्रो हो मात्रै भनेको हूँ । आइसीयुमा भएको विरामीले ३ चम्चा खाना खानु भनेको राम्रो हो । खुसीको कुरा हो । तर एउटा स्वस्थ मानिसले ३ चम्चा खाना खायो भनेर खुसी हुन सकिदैन ।

युनियन लाइफले कहिलसम्म मार्केट लिड गर्छ ?

 

म मार्केट लिड गर्नेतिर दौडेकै छैन । यो मार्केट लिड गर्नेगरी अघि बढ्नुपर्छ भन्ने मेरो इन्टेन्सन पनि छैन । युनियन लाइफ हरेक घरमा जानुपर्छ । बीमा बजारको बृद्धि हो । हरेक जनजनले हरेक घरले बीमा गर्यो भने १५ वर्षपछि त सबै नागरिक लखपति हुन्छन् । अनि नेपाल पनि गरिब राष्ट्र बनिरहदैन ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनीप्रति समकक्षी कम्पनीहरुले अलि बढी आलोचनात्मक दृष्टिकोण राख्छन्, किन होला ?

कुनै बेला सबैभन्दा बढी आलोचना विश्वविद्यालयका प्रोफेसरको हुन्छ, प्राथमिक विद्यालयका शिक्षकको कम हुन्छ । बजारम एग्रेसिभ्ली गएपछि आलोचना हुनु स्वभाविक नै हो । त्यो आलोचना मेरो लागि बरदान हो । अरुले आलोचना गरेकै कारण म राम्रो ट्रयाकमा हिड्न वाध्य हुन्छु ।

यो कम्पनीको आइपीओ कहिले आउँछ ?

यसमा केही प्राविधिक समस्याहरु छन् । यो कम्पनीले असोजदेखि कारोबार सुरु गरेको थियो । अर्काे वर्षको कात्तिकमा कम्पनीको साधारणसभा भयो । त्यसपछि आइपीओको लागि पठायौं । तर, धितोपत्र बोर्डले कारोबार गरेको एक वर्ष पूरा भएको हुनुपर्छ भन्यो । बोर्डको यस्तो भनाइपछि अर्काे वर्ष कुनुपर्ने वाध्यता आयो । अब एक्चुरी भ्यालुएसन भएर बीमा समिति पठाउने र स्वीकृति पाएपछि एजीएम गरेर आइपीओमा जाने हाम्रो योजना छ । क्रेडिट रेटिङको काम भइरहेको छ । यो आर्थिक वर्षको अन्त्यसम्ममा आइपिओ आइसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.