पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्डमा काम शुरु

  २०७७ साउन २२ गते ९:४२     खेमराज गौतम

गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिवाङअन्तर्गत बागलुङ बजारबाट अक्षेते खण्डको पुनः काम शुरु भएको छ ।

लकडाउनका कारण गत चैत ११ गतेदेखि रोकिएको लोकमार्गको सदरमुकामतर्फको खण्डमा नाली निर्माण कार्यले गति लिन थालेको छ । यस खण्ड विगत लामो समयदेखि अलपत्र अवस्थामा छ । ग्रामीण क्षेत्रमा लोकमार्गको स्तरोन्नतिसहित कालोपत्रे भइसक्दासमेत काम नभएको नागरिकको तीव्र गुनासोका बीच मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतको अन्तिम चेतावनीपछि निर्माण कम्पनीले गत वर्षको असारमा काम सक्ने गरी मजदूर खटाएको थियो । कोरोना जोखिमले बीचमै काम ठप्प भएको थियो ।

अहिले यस खण्डमा निरन्तरको वर्षातका कारण बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा सडक भाँसिने, पहिरो जाने कारण यात्रुले सास्ती खेपिरेहको समयमा सदरमुकाम खण्डको १३ किलोमिटर सडक निर्माणको जिम्मा पाएको सिद्धि शाही कन्ट्रक्सनले १५० को हाराहारीमा कामदार ल्याएर दुई हप्तादेखि नाली निर्माण, मेशिनरी वाललगायतका कार्य गरिरहेको छ । लोकमार्गको बोक्सेमा निरन्तरको पहिरोले लोकमार्ग पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

करिव १५० को हाराहारीमा मजदूरले लोकमार्गको विभिन्न खण्डमा दुई हप्तादेखि सडक निर्माणमा खटिएको रोल्पा घर भएका जीवन मगरले बताए । उनले घरमै बसेर पेट पाल्नै गाह्रो भएपछि काममा निस्किएको बताउनुभयो । त्यस्तै रोल्पाकै रोहित घर्तीमगरले सामान्य सतर्कता अपनाएर काममा खटिएको जानकारी दिए ।

पहिलो चरणमा नाली निर्माणको कार्यलाई अघि बढाएको र हालसम्म झण्डै एक किलोमिटर सडक नाली निर्माण गरिसकिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका साइड इञ्जिनीयर उज्वल शर्माले जानकारी दिए । “बर्खाको समयमा लोकमार्ग एकतर्फी खुलाएर भए पनि यात्रु वारपार गराउँदै आएका छौँ”, इञ्जिनीयर शर्माले भने, “सदरमुकाम खण्डका निर्माण कार्यले तीव्रता पाउन थालेको छ, अहिले ठेकेदार कम्पनीले कामदारसहित ठूला उपकरणसमेत साइडमा झारेर काम अघि बढाएको छ ।” अहिले रातामाटादेखि भोर्लाको रुख हुँदै रेडक्रसको भवनसम्म सडक नाली निर्माण थालिएको छ । सदरमुकाम खण्डको बोक्से खाल्टोबाहेकको स्थानमा सडक चौडा पार्ने कार्य सम्पन्न भइसकेकाले नाली निर्माणपश्चात् कालोपत्रे गर्ने लोकमार्ग आयोजनाको तयारी छ ।

गत चैत ११ देखि रोकिएको लोकमार्ग वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएर क्षतविक्षत अवस्थामा छ । निर्माण कार्य शुरु गर्ने र केही समयपश्चात् निर्माण कम्पनी सम्र्पकविहीन हुने कारणले बागलुङ सदरमुकाम खण्डको २५ किलोमिटर दुर्गम भागमा कालोपत्रे भइसक्दासमेत सदरमुकाम खण्ड कालोपत्रे हुन सकेको छैन ।

निर्माण व्यवसायीलाई लोकमार्ग कालोपत्रेका लागि अन्तिम मौका प्रदान गरेको लोकमार्ग आयोजना प्रमुख आशिष थापाले जानकारी दिए । “पटक पटक धोका दिएर आयोजनाको निर्माण कार्य अलपत्र पारेको हुनाले अन्तिम अवसर दिएका थियौँ । बन्दाबन्दीका कारण समस्या भए पनि अहिले कामदार झारेर लोकमार्गको सदरमुकाम खण्ड अगाडि बढाएको छ”, उनले भने, “अब काम नगरेर भाग्ने छुट निर्माण व्यवसायीलाई छैन, अब यो वर्ष निर्माण सम्पन्न नभए निर्माण व्यवसायीलाई कारवाही गर्नुको विकल्प हुँदैन ।”

लगातारको वर्षाका कारण पहिरो गएपछि मध्यपहाडी लोकमार्गअन्तर्गत बोक्सेमा एकतर्फी मात्रै सडक सञ्चालनमा ल्याइएको छ । लोकमार्गमा पहिरो ठूलो भएको र दुइतर्फी सञ्चालनमा ल्याउदा पुनः सडक अवरुद्ध हुने जोखिम भएकाले एकतर्फी मात्रै सडक सञ्चालन गरिएको इञ्जिनीयर शर्माले जानकारी दिए । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डमा पर्ने १४० किलोमिटर सडकमध्ये अधिकांश सडक कालोपत्रे भइसक्दासमेत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटर सडक कालोपत्रे हुन नसक्दा दैनिक हजारौँ यात्रुले सास्ती खेप्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.