‘कोभिड-१९ थाहा भएन, कोभिड-१०० चै युनियन लाइफमा उत्पत्ति भयो’

  २०७७ साउन २१ गते ११:५८     विकासन्युज

काठमाडौं । विश्वभर संक्रमण र सन्त्रास फैलाइरहेको कोरोना भाइरस (कोभिड-१९) को उत्पत्ति कहाँ भयो भन्ने अझै यकिन भएको छैन । सन् २०१९ को अंग्रेजी महिनामा पहिलो पटक मानिसमा संक्रमण पुष्टी भएको कोभिड-१९ को उत्पत्तिस्थललाई लिएर चीन र अमेरिका जस्ता महाशक्ति राष्ट्रबीच आरोप प्रत्यारोप नै चलेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोभिड-१९ भाइरस चीनले बनाएको भन्दै ‘चिनियाँ भाइरस’को नाम दिइरहेका छन् । चीनका उच्च सरकारी अधिकारीहरु अमेरिकी सेनाका अधिकारीहरु सैन्य तालिमका लागि चीनको वुहान प्राप्तमा आउँदा यो भाइरस ल्याएको हुन सक्ने प्रत्यारोप गरिरहेका छन् । यद्यपि, विश्व स्वास्थ्य संगठनले यो भाइरस मानव निर्मित नभइ प्राकृर्तिक भएको बताइसकेको छ ।

तर, नेपालको एउटा बीमा कम्पनी युनियन लाइफका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार लाल कर्ण भने कोभिड-१०० को उत्पत्ति आफ्नो कम्पनीमा भएको सगर्व दाबी गरिरहेका छन् । उनी गत वैशाखमा आफूले पहिलो पटक आफ्ना कर्मचारीको दिमागमा कोभिड-१०० भरिदिएको बताउँछन् ।

‘चैतमा लकडाउन भएपछि मानिसहरुको मनमा त्रासदीको भयावह अवस्था थियो । यस्तै अवस्थामा चैत २० गतेदेखि मैले अनलाइन तालिम सुरु गरेँ । अनि मैले सबैको दिमागमा कोभिड-१०० भर्दिएँ,’ सिइओ कर्णले विकासन्युजसँग भने ।

उनका अनुसार कोभिड-१९ भनेको डर, भय, त्रास सिर्जना गर्ने महामारी हो । कोभिड-१०० भनेको मास्क लगाउ, स्यानिटाइजर बोक, दुरी कायम गर र प्रफुल्लित मुद्रामा बाहिर जाऊ भन्ने हो । मानिसले पैसा कमाउनु नै कोभिड-१०० हो भनेर आफूले व्याख्या गरेको उनले स्मरण गरे । त्यसैकारण युनियन लाइफले बैशाख महिनामा सबैभन्दा बढी पोलिसी बेच्न सकेको र सबैभन्दा बढी प्रिमियम संकलन भएको उनको भनाइ छ ।

‘मैले युनियन लाइफका कर्मचारीको दिमागमा कोभिड-१०० भरेपछि बजार तरंगित भयो । युनियन लाइफले गर्न सक्छ भने हामीले किन नसक्ने भन्ने अन्य बीमा कम्पनीलाई पनि पर्यो । हामीले एकै दिमा ७ वटासम्म अनलाइन कन्फरेन्स गरेका छौं । कहिले शाखा प्रमुखलाई, कहिले प्रादेशिक प्रमुखलाई, कहिले सिनियर एजेन्सी म्यानेजरलाई, कहिले एमडीआरटी मेम्बरहरुलाई तालिम दिएका हुन्थ्यौं । त्यसपछि युनियन लाइफमा मात्रै होइन, जीवन बीमा बजारमा कोभिड-१०० आयो,’ सिइओ कर्णले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.