महासंघको नेतृत्व म्याद सकिएको औषधि जस्ताे, विधिविधान उल्लंघन भयाे-चन्द्र ढकाल

  २०७७ साउन ९ गते १५:०५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ नेतृत्व विहिन बनेको र विधिविधानको परिपालना हुने छोडेको बताएका छन् ।

कार्यसमितिले गरेको निर्णयलाई उल्ट्याउदै विहीबार पदाधिकारीको बैठकले बहुमतका आधारमा निर्वाचन अनिश्चित कालका लागि स्थगित गरेपछि शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै ढकालले असन्तुष्टि व्यक्त गरेका हुन् ।

संकटको वर्तमान घडीमा अध्यक्ष भवानी राणाले पद छोड्न नचाहेको र बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जिम्मेवारी लिन नचाहेको समेत उनले बताए । ‘चैतमा हुनुपर्ने साधारणसभा लकडाउनका कारण गर्न सकिएन । त्यसपछि पुरानो नेतृत्व आफ्नो जिम्मेवारीबाट पन्छिने र नयाँ नेतृत्वले जिम्मेवारी लिन नचाहने स्थिति रह्यो’ उनले भने–‘यसले गर्दा एकातर्फ यो संस्था बेवारिसे हुन सक्ने अवस्था देखियो भने अर्कोतर्फ यसमा आवद्ध लाखौं उद्योगी, व्यापारी तथा व्यावसायीले अफ्ठ्यारो परिस्थितिमा अभिभावक विहिनको अवस्था महशुस गर्नुपर्यो ।’

सरकारी लकडाउन जारी हुँदा महासंघको कार्यसमितिले साउन २६ र २७ साधारणसभा र निर्वाचनको मिति सार्वजनिक गरेको थियो । तर गत मङ्गलबारबाट लकडाउन हटाइएको छ । सरकारले लकडाउन हटाएको दुई दिनपछि पदाधिकारीको बैठकले निर्वाचन स्थगत गरेको हो ।

‘महासंघ म्याद सकिएको औषधी जस्तो हुन गयो । आवश्यकता पर्दा केही नहुने संस्थाको औचित्य के भन्ने अहिले पीडामा रहेका सबै व्यवसायीको गुनासो पनि छ’ वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले भने ।

Chandra Dhakal

Gepostet von Bikashnews.com am Freitag, 24. Juli 2020

‘साधारणसभा भएको भए त्यसले नयाँ नेतृत्व दिन्थ्यो, त्यो नेतृत्वले कोरोनाबाट प्रभावित हाम्रो उद्यम, व्यापारलाई जोगाउन सरकार, नियामक निकायहरुसँग एउटा युनाइटेड भ्वाइस लगेर जान सक्थ्यो ।’

यस्तो जटिल परिस्थितिमा हामीलाई सबल, सक्षम र डाइनामिक नेतृत्वको आवश्यकता छ भनेर आफू आवाज उठाउँदा उल्टै पदमा पुग्न हतार गरेको आरोप लगाइएकाे उनको गुनासो छ । आफू अहिले पनि उपाध्यक्ष रहेकोले चैतमा निर्वाचन भए पनि आफूले निभाउने भूमिकामा धेरै फरक नपर्ने उनले बताए ।

महासंघमा विधि विधानको पालना हुन छोडेको  समेत उनले बताए । ‘५५ वर्ष अघि स्थापना भएको हाम्रो गौरवशाली संस्थाको जुन गरिमा छ, साख छ र मर्यादा छ त्यो गरिमा, साख र मर्यादालाई जोगाउनका लागि हामीले बनाएका जुन विधिविधान छन्, ती विधिविधानको पूर्ण परिपालना गरिनुपर्छ’ उनले भने ।

‘लकडाउनकै बीचमा निर्णय गरेर हामीले साधारणसभा साउन २६ र २७ गतेका लागि तोकेका थियौं । हिजो महासंघका पदाधिकारीको आकस्मिक बैठक राखेर साधारणसभालाई अनिश्चित समयसम्मका लागि धकेल्ने काम भयो । त्यसमा मलाई केही विषय आपत्तीजनक लागेका छन्’ उनले भने ।

‘हामीले साधारणसभाको मिति कार्यसमितिको बैठकबाट निर्धारण गरेका थियौं । जबकी हामीसँग फेरी कार्यसमिति बैठक बोलाउनका लागि प्रशस्त समय थियो । कार्यसमितिको अधिकारलाई हामीले कुल्चिने काम गर्यौं । यो अत्यन्तै दुखःद कुरा हो’ उनले भने–‘यसले महासंघमा गलत प्रवृत्तिको विकास भएको छ । र मलाई स्यालले कुखुरा लग्यो भन्नेभन्दा पनि स्याल पल्कियो भन्ने कुराले बढी पिरोलेको छ ।’

‘लडकाउन सकिएसँगै जसरी उद्योगहरु, कार्यालयहरु, कर्पोरेट अफिसहरु स्वास्थ्यसम्वन्धी मापदण्डहरु लागू गरेर खोलेका छौं । मैले त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघको साधरणसभा पनि पूर्णरुपमा स्वास्थ्य सम्वन्धी मापदण्डहरु लागू गरेर सञ्चालन गरौं भन्ने राय राखेको थिएँ’ ढकालले भने–यस्तो राय राख्दा महासंघकै पदाधिकारी साथीहरुले स्वास्थ्यभन्दा महासंघ ठूलो हुन सक्दैन भनेर मलाई हतोत्साही बनाउने प्रयास गर्नुभयो ।’

‘आफ्नो सार्वजनिक जीवनमा मैले पनि स्वास्थ्यभन्दा महासंघ ठूलो हो भनेर कहिल्यै पनि धारणा राखेको छैन् । त्यस्तो म सोच्न पनि सक्दिन’ ढकालले भने–’मैले कोभिडको महामारीमा साधारणसभाको कुरा उठाउँदा स्वास्थ्यसम्बन्धी कुनै पनि कुरामा सम्झौता गर्ने कुरा गरेको छैन् ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.