रुरु हाइड्रोपावरको आईपीओमा किन लगानी गर्ने ? आशिष सुवेदीसँगको अन्तर्वार्ता

  २०७७ साउन ४ गते १८:२२     विकासन्युज

रुरु जलविद्युत परियोजनाले अब केही दिनमै साधारण सेयर निश्कासन गर्दैछ । कम्पनीले वि.स २०७१ सालदेखि ५ मेगावाटको माथिल्लो हुग्दीखोला आयोजना सञ्चालन गरी विदुत उत्पादन गर्दै आएको छ । करिब १ हजार जना प्रवद्र्धक रहेको परियोजना सरकारी-निजी-साझेदारी अवधारणामा निर्माण गरिएको हो । कम्पनीले ८ लाख १५ हजार ४ सय ११ कित्ता साधारण सेयर निश्कासन गर्न नेपाल धितोपत्र बोर्डमा असार २५ गते आवेदन दिएकाे छ। अयोजनाको वर्तमान अवस्था, निश्कासन गर्न लागेको साधारण सेयर र कम्पनीको वित्तीय अवस्थाको बारेमा कम्पनीका अध्यक्षा आशिष सुवेदीसँग विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् । 


रुरु जलविदुत परियोजनाद्वारा प्रवद्र्धित माथिल्लो हुग्दी हाइड्रोपावरको वर्तमान अवस्था कस्तो छ ?

५ मेगावाटको माथिल्लो हुग्दी जलविद्युत आयोजना वि.स.२०७१ साल चैत्रबाट विद्युत उत्पादन सुरु भएको हो । यो  परियाेजना गुल्मीको रुपाकोटमा अवस्थित छ । यसमा २ सय ५० जति स्थानीय गरी १ हजार जना प्रवद्र्धकहरु रहेका छन् । हामीले यसको राम्रोसँग प्रवद्र्धन गर्न सफल भएका छौं । हामी सबै अनुभवी टीम छौं । हामीले यसलाई सफल किसिमले बनाएका हौं । यसलाई हामीले प्रति मेगावाट १५ करोडभन्दा कम खर्च गरी निर्माण पुरा गरेका छौं । हामीले अनुमानित रकमभन्दा ७ करोड कममा आयोजना निर्माण गरेका हौं ।

यो आयोजनाको लगानी कति हो ?

हामीले प्रति मेगावाट १५ करोडभन्दा कममा निर्माण गरेका हौं । यसको कुल लागत भने ७५ करोडभन्दा पनि कम लागेको छ ।

माथिल्लो हुग्दी जलविद्युत आयोजनामा कुन बैंकको लगानी छ ?

यसमा ५ बैंकको लगानी रहेको छ । तिनीहरुमध्ये लिड बैंकको रुपमा एनएमबी बैंक रहेको छ । अन्य बैंकहरु सेन्चुरी, कुमारी, माछापुच्छ्रे, लुम्बिनी विकास बैंक रहेको छन् । हामीले किस्ता ऋण पनि समयमै तिरिहरेका नै छौं । अपरेसनल रुपमा हाम्रो एकदमै राम्रो टीम छ । टीम पनि सानो नै छ ।

तपाईहरुले प्रिमियम मूल्यमा आईपीओ निश्कासन गर्दै हुनुहुन्छ । धेरै जलविद्युत कम्पनीकाे सेयर मूल्य १०० भन्दा कम छ । केही कम्पनीकाे साधारणा सेयर बिक्री नै नभएकाे अवस्था छ । रुरुकाे सेयर किन प्रिमियम मूल्यमा ? 

हामीले ८ करोड ९६ लाख ९५ हजार २ सय २० रुपैयाँ बराबरको कूल ८ लाख १५ हजार ४ सय ११ कित्ता सेयर निष्काशन गर्दैछाैं । हामीले साधारण निश्कासनका लागि  असार २५ गते बोर्डमा आवेदन दिइसकेका छाैं । जसमध्ये परियोजनाले स्थानीयलाई ४ लाख ७ हजार ७ सय ५ कित्ता र सर्वसाधारणलाई ४ लाख ७ हजार ७ सय ६ कित्ता सेयर निष्काशन गर्न लागेकाे हाे ।

रुरु हाइड्रो सञ्चालनदेखि नै राम्रैसँग चल्दै आएको छ । हामीले लगातार रुपमा लाभांश पनि बाँडिरहेका छौं । यो वर्ष १७ देखि १८ प्रतिशतसम्म लाभांश बाड्ने स्थितिमा छौं । त्यसैले अरुको र हाम्रो धेरै फरक छ । यसमा लगानीकर्ताले बुझेर, जलविद्युतको अवस्था कस्तो छ भन्ने हिसावले अध्ययन गरेर लगानी गर्यो भने राम्रो नै हुन्छ ।

इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा हामीले औषत रेटिङ ‘इक्रा एनपि आइपिओ ग्रेड ४ प्लस’ पाएका छौं । यो धेरै कम हाइड्रो पावर कम्पनीले पाउँछन् । यसले पनि हामी विश्वस्त छौं । त्यसैले हामी प्रिमियममा आएका हौं । लगानीकर्ताहरुले पनि लगानी गरेको भोलिदेखि नै रिर्टन पाउने अवस्था छ । हाम्रो विगतको पर्फमेन्स पनि राम्रै छ । सर्वसाधारणहरुले लगानी गर्छन् भन्ने कुरामा हामी विश्वस्त छौं ।

सर्वसाधारणहरुले रुरु हाइड्रोपावरमा किन लगानी गर्ने, यसका सवल पक्ष र लगानीकर्तालाई प्रतिफल दिन सक्ने आधार के छन् ?

हाम्रो पहिलो आधार भनेको हामीले सुरुदेखि नै लगानीकर्ताहरुलाई हामीले लाभांश बाँड्दै आएका छौं । प्राविधिक रुपमा हाम्रो उत्पादन एकदमै राम्रो छ । प्राविधिक रुपमा अनुभवि टीमले काम गरिरहेका छन् । निरन्तर मेन्टिनेन्सदेखि लिएर सफिसियन्ट स्पेयर पार्टहरु पनि राखेका छौं । आयोजना लामो समयसम्मका लागि अवरुद्द भएको छैन ।हाम्रोमा रिक्स छैन । ऋण आधा तिरिसकेका छौं । लगानी गरेको वर्षदेखि नै रिर्टन पाउन सक्ने स्थिति छ ।

लगानीकर्ताहरुले कति पटक लाभांश पाए ?

हामीले चार वर्ष अर्थात चार पटक लाभांश वितरण गरिसकेका छौं । चारै वर्ष १०/१० प्रतिशत लाभांश वितरण गरेका छौं । कुनै वर्ष ट्याक्स बाहेको लाभांश थियो होला कुनै वर्ष ट्याक्ससहितको दिएका थियौं ।

रुरुकाे सञ्चित कोषमा कति रकम छ ?

करिब ७ करोड रुपैयाँ हाम्रो सञ्चित कोषमा छ ।

तपाईहरु जति कित्ता सेयर निश्कासन गर्दै हुनुहुन्छ, ती सबै कित्ता सेयर बिक्रि हुन्छ भन्ने कुरामा कति विश्वस्त हुनुहुन्छ ?

हामीले ८ लाख कित्ता जति निश्कासन गर्दैछौं । त्यो भनेको धेरै ठूलो अमाउन्ट पनि होइन । जुन हिसाबको हाम्रो विगतको पर्फमेन्स छ त्यस हिसावले हामी एकदमै विश्वस्त छौं । हामीले स्थानीयका लागि भनेर ५० प्रतिशत छुट्याएका छौं । लोकल लेभलमा ४ लाख कित्ता नै बिक्री हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।

पछिल्लो समय केही हाइड्रोपावर कम्पनीहरुले सेयर निश्कासन गरेर बाँडफाँड भइसकेपछि पनि नेप्सेमा सूचिकृत भएकाे छैन, काराेबार भएकाे छैन। रुरु हाइड्रो पावरमा त्यो प्रवृति दोहोरिने सम्भावना कतिको छ ?

त्यस्तो काम निर्माणाधीन आयोजनाले गरेका होलान् । ती आयोजनाहरु कसरी बनेका छन् । निर्माण कार्य कहिले सकिने हो भन्ने कुरा भन्ने निश्चित पनि हुँदैन । तर, हाम्रो हकमा हामीले निर्माण गरेर पनि विदुत उत्पादन गरेका पनि ६ वर्ष भइसकेको छ ।

हामीले हामी कस्तो छौं भन्ने कुुरा प्रमाणित पनि गरिसकेका छौं । आयोजना कतिको छ भनेर सर्वसाधारणले अध्ययन गर्न सक्नु पर्छ । धेरैमा हाइड्रोपावरमा लगानी गर्यो भने डुबिन्छ कि भन्ने धारणा पनि धेरैले बनाएका छन् तर हाम्रो हकमा त्यो लागु हुँदैन । प्रोजेक्ट सँगसँगै प्रवद्र्धकहरु कस्तो छन् भन्ने कुरा पनि लगानीकर्ताले बुझ्नु पर्छ ।

हामी प्राविधिक रुपमा राम्रो भएकोले नै १५ करोडमा प्रतिमेगावाट निर्माण गर्न सफल भयौं । हामीले ७ करोड बजेट बचायौं । हामीले बदमासी गर्न चाहेनौं । हामीले त्यस्तो गरेको भए हामी अहिले लाभांश बाड्ने स्थितिमा हुँदैनथ्यौं होला । मुख्य कुरा सबै प्रवद्र्धक राम्रो र अनुभवि हुनुहुन्छ ।

आयाेजनाको ऋण भुक्तानी अवधि कति हो ?

हाम्रो जलविद्युतको भुक्तानी अवधि १२ वर्षको छ । हामीले आईपीओबाट आएको पैसाले ऋण तिर्यो भने अझ सजिलो हुन्छ भन्ने हिसावले हामी अगाडि बढाइरहेका छौं । अझ १२ वर्षभन्दा पनि १० वर्षभित्र हामी सिध्याउने सोचमा छौं । हामीले अहिले जुन हिसावले काम गरिहरको छौं, यो हिसावले हामी सक्छौं पनि ।

यसकाे उर्जा खरिद सम्झौता दर कति हो ?

हाम्रो वर्षामा ४.८० र हिउँदमा ८.४० रुपैयाँ रहेको छ । सरकारले २०७१ चैत मसान्त भित्र सक्नेलाई २० प्रतिशत थप गरी भुक्तानी दिने भनेको छ । हामी त्यसको लागि योग्य भएकोले त्यसमा हाम्रो थपिन्छ ।

अन्तिममा, आम सर्वसाधरणलाई रुरु हाइड्रपावरको सेयरमा लगानी गर्नको लागि प्रोत्साहन गर्न केही भन्न चाहनुहुन्छ ?

हाम्रो ट्र्याक रेकर्ड राम्रो छ । हाम्रो प्रवद्र्धकदेखि परियोजनाको अवस्था कस्तो छ, यसको सञ्चालन कस्तो छ भनेर सर्वसाधरणले बुझ्न जरुरी छ । हाम्रोमा त्यस्तो कुनै समस्या छैन । हाम्रो विगत रेकर्ड पनि राम्रो छ । हामीले लगातार १० प्रतिशत लाभांश वितरण गर्दै आएका छौं । हाम्रोमा लगानी गर्दा शतप्रतिशत सुरक्षित हुन्छ । प्रतिफल पनि केही समयपछि पाइन्छ । केही परियोजनाहरु नराम्रो भयो भन्दैमा सबै हाइड्रो परियोजनालाई नराम्रो भन्न मिल्दैन । हाइड्रो पावर राम्रो क्षेत्र नै हो ।

केही परियोजनाहरु विभिन्न कारणले समस्या भएको हुन सक्छन । त्यस्तो समस्या सबै परियोजनामा हुँदैन । हामीले नाकाबन्दीमा पनि निरन्तर विदुत उत्पादन र सञ्चालन गर्दै आयौं । अन्य धेरै क्षेत्र लकडाउनको समयमा समस्या देखापरे तर हाइड्रो पावरमा त्यस्तो कुनै समस्या देखा परेन । हामीले देशको अर्थतन्त्रमा प्रभाव पार्छ । हामी सबैलाई यसमा सहभागी गर्न आग्रह पनि गछौं ।

2 comments on "रुरु हाइड्रोपावरको आईपीओमा किन लगानी गर्ने ? आशिष सुवेदीसँगको अन्तर्वार्ता"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.