मौद्रिक नीति पास, शुक्रबार सार्वजनिक हुने

  २०७७ साउन १ गते १८:१६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति भोलि (साउन २ गते) आउने भएको छ । राष्ट्र बैंक संचालक समितिले मौद्रिक नीति पारित गरेको छ । समितिले पारित गरिसकेपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने कानुनी व्यवस्था छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासका कारण थला परेको अर्थतन्त्र उकास्न बजेटमा राहत कार्यक्रम खासै नआएकोले उद्योगी व्यवसायीले मौद्रिक नीतिप्रति ठूलो आश गरेका छन् । उद्योगी व्यवसायीले पुनरकर्जा कोष बृद्धि गर्ने र त्यसको सीमा बढाउने, कर्जा तिर्न नसकेका ऋणीको लागि व्याज छुट तथा किस्ता र व्याज तिर्ने समय बढाउने लगायतका राहत प्याकेजको अपेक्षा मौद्रिक नीतिसँग गरिएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ल्याउन लागेको पहिलो मौद्रिक नीति पनि भएकोले यसपाली के कस्ता कार्यक्रम आउने हुन भनेर धेरैले चासोका साथ हेरेका छन् । गभर्नर अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत अपेक्षा गरिएभन्दा बढी राहत प्याकेज ल्याउने यसअघि नै सार्वजनिक घोषणा गरिसकेका छन् ।

उत्पादन बृद्धि, रोजगारी सिर्जना र ठप्प भएको आपूर्ति प्रणालीलाई त्राण दिन पनि मौद्रिक नीतिले सहयोग गर्ने अपेक्षा गरिएको छ । यस्तै, सेयर धितो कर्जाको सीमा अहिलेको ६५ प्रतिशतबाट बढाउनु पर्ने आवाज पुँजी बजारसँग सम्बन्धित सरोकारवालाले उठाएका छन् ।

कोभिड–१९ संक्रमण सन्त्रासपछि वाणिज्य बैंकहरु पनि एकापसमा मर्जर र एक्वीजीसनको लागि तयार भएका छन् । नेपाल राष्ट्र बैंकले विगतदेखि नै मर्जर गराएर वाणिज्य बैंकहरुको संख्या घटाउन चाहेको भएपनि बैंकहरु तयार नहुँदा सम्भव भएको थिएन । यसपालीको मौद्रिक नीतिले वाणिज्य बैंकहरुको मर्जरका लागि विशेष प्याकेज ल्याउने अपेक्षा बैंकर्सको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.