कोरोना महामारीले बीमा कम्पनीकाे साधारणसभा राेकियाे, सहजीकरण गर्न दुबै नियामक तयार

  २०७७ असार २६ गते १७:५३     नविन पोखरेल

काठमाडौं । ढिलो गरेर पनि चैत मसान्तभित्र गत आर्थिक वर्षको साधारणसभा गरिसक्नु पर्ने कानुनी प्रावधान अधिकांश बीमा कम्पनीले पूरा गर्न सकेका छैनन् ।

बीमा कम्पनीहरुमा लागू गरिएको नेपाल लेखामान (एनएफआरएस) तथा लकडाउनको कारण समयमै साधारणसभा गर्न नसकिएको बीमा कम्पनीहरुले बताएका छन् ।

नेपाल बिमक संघका महासचिव तथा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री कोरोना भाइरस (कोभिड १९) संक्रमण सन्त्रासका कारण चैत मसान्तभित्रमा साधारणसभा गर्न नसकिएको बताउँछन् । सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले चेत ११ गतेदेखि देशव्यापी रुपमा लागू गरेको लकडाउन गरेको थियो ।

‘कोरोना महामारीको कारण अहिले घरबाटै कार्यालयको काम हामीले गरिरहेका छौं, यस्तो अवस्थामा घरबाट जतिसुकै काम गरेपनि कार्यालयमा बसेर काम गरेको जस्तो हुुन सकेन, त्यसको असर बीमा कम्पनीको साधारणसभामा पनि देखिएको हो’, प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले भने ।

बीमा कम्पनीहरुमा लागू भएको एनएफआरएस प्रणाली कार्यान्वयनको लागि गर्नुपर्ने आवश्यक काम तथा कोरोना भाइरस महामारीको कारण निर्धारित समयमै साधारणसभा गर्न नसकिएको उनको भनाइ छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल पनि कोरोना महामारी र एनएफआरएसका कारण नै तोकिएको समयमा साधारणसभा गर्न नसकिएको बताउँछन् ।

‘हामीले बीमा समतिले जारी गरेको निर्देशन पालन गर्ने क्रममा एक्चुरी भेट्टाउनै केही समय लाग्यो, नेपाल तथा भारत दुवैतर्फ कोरोना महामारीले सताएका कारण एक्चुरीले समयमै काम गर्न नसक्ने अवस्था भएकोले समयमै साधारणसभा गर्न सकिएन,’ प्रमुख कार्यकारी अधिकृत अर्यालले भने ।

नियामक भन्छः समस्या थाहा छ, आवश्यक समन्वय गरिदिन्छौं

बीमा क्षेत्रको नियामक निकाय बीमा समिति भने कोरोना महामारीको कारण बीमा कम्पनीहरुलाई तोकिएको समयमा साधारणसभा गर्न कठिन भएको र यो व्यवहारिक समस्या समाधान गरिदिने बताउँछ । कोरोना महामारीले असर नपारेको भए बीमा कम्पनीहरुले चैत मसान्तभित्रमै साधारणसभा गरिसक्ने अवस्था रहेको समितिको भनाइ छ ।

बीमा ऐनको प्रावधान अनुसार ढिलोमा पनि चैत मसान्तभित्र गत आर्थिक वर्षको साधारणसभा गर्न नसक्ने बीमा कम्पनीको दर्ता खारेज हुन सक्छ । कम्पनी नै अवैध हुन सक्छ । कोरोना महामारीको समयमा सहजीकरण गरिने र विद्यमान कानुनको पनि बर्खिलाप नहुने गरी उपयुक्त विधि अपनाएर समास्याको समाधान गरिने समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए ।

लाइसेन्स नै खारेज हुन सक्ने

चैत्र मसान्तसम्म अघिल्लो आर्थिक वर्षको साधारणसभा गर्न सकेनन् भने बीमा कम्पनीको लाइसेन्स फेल हुन्छ । साधारणसभा गर्न नसकेकै कारण कम्पनीहरु नविकरण हुन सक्दैनन् ।

१४ कम्पनीले मात्रै लिए स्वीकृति

कम्पनीहरुले साधारणसभा गर्नको लागि बीमा समितिबाट स्वीकृति लिनुपर्छ । तर, अहिलेसम्म २ वटाजीवन बीमा र १२ वटा निर्जीवन बीमा गरी जम्मा १४ कम्पनीले मात्रै समितिबाट स्वीकृति लिएका छन् । संचालनमा रहेका अरु २६ कम्पनीले भने सधारणसभा गर्न स्वीकृति समेत लिएका छैनन् ।

जीवन बीमा तर्फबाट साधारणसभाको लागि स्वीकृति लिने कम्पनीहरुमा रिलायन्स लाइफ र मेट लाइफ रहेका छन् । मेट लाइफ विदेशी कम्पनीको शाखाका रुपमा रहेको र नेपाली सेयरधनीहरु नरहेका कारण उक्त कम्पनीले साधारणसभा गर्दैन ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये नेपाल इन्स्योरेन्स, हिमालयन जनरल, प्रिमियर इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, आईएमई जनरल, लुम्बिनी जनरल, सिद्धार्थ इन्स्योरेन्स, सानिमा इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र जनरल इन्स्योरेन्सले साधारणसभा गर्नको लागि स्वीकृति लिएका छन् ।

यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनी र नेपाल पूनर्बीमा कम्पनी साधारणसभाको स्वीकृतिका लागि समितिमा निवेदन दिएका छन् ।

कम्पनी रजिष्टार भन्छः गुनासो आएको छैन

कम्पनीहरुले साधारणसभा कहिले गर्ने भन्ने व्यवस्था कम्पनी ऐनले गर्छ । कम्पनीको साधारणसभा गर्ने र सोको जानकारी कम्पनी रजिष्टारको कार्यालयलाई दिनुपर्छ ।

कोरोना महामारीको कारण कम्पनीहरुले तोकिएकै समयमा साधारणसभा गर्न नसकेको अवस्था के गर्ने भन्ने निष्कर्षमा कम्पनी रजिष्टारको कार्यालय पुगेको छैन । प्रालिको हकमा साधारणसभा गर्न कठिन नभएपनि पब्लिक कम्पनीहरुलाई साधारणसभा गर्न गाह्रो हुने कम्पनी रजिष्टारको कार्यालयले अनुभुत गरेको छ । तर अहिलेसम्म कुनै पनि प्रकारको गुनासो वा सहजीकरणको सुझाव प्राप्त नभएको कम्पनी रजिष्टार कार्यालयका सुचना अधिकारी रामप्रसाद ढकालले जानकारी दिए ।

सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेर सभा सम्मेलन र भेला गर्न रोकेको थियो । लकडाउन खुकुलो बनाउने क्रममा असार १ गतेदेखि भने बढीमा १५ जनासम्म मात्रै भेला हुन पाइने व्यवस्था गरेको छ । पब्लिक कम्पनीमा २५ जनाभन्दा बढी सेयरधनी हुनसक्ने भएकोले कम्पनीहरुलाई साधारणसभा गर्न प्राविधिक रुपमा कठिनाइ पनि छ ।

‘प्रालिको हकमा साधारणसभा गर्न त्यति कठिन नहोला, तर पब्लिक कम्पनीहरुलाई भने समस्या हुन सक्छ, अहिलेसम्म कुनै पनि प्रकारका कम्पनीले साधारणसभा गर्न अप्ठेरो परेको भनेर गुनासो वा यसो गर्नुपर्यो भन्ने सुझाव दिएका छैनन्, कम्पनीहरुबाट उपयुक्त सुझाव सहितको प्रस्ताव आयो भने हामीले माथिल्लो निकायमा पेश गरेर आवश्यक सहजीकरणको व्यवस्था मिलाउँछौं,’ सुचना अधिकारी ढकालले भने ।

One comment on "कोरोना महामारीले बीमा कम्पनीकाे साधारणसभा राेकियाे, सहजीकरण गर्न दुबै नियामक तयार"

  • Kalavai says:

    साधारण सभा गर्न नपाएका धेरैले कोरोनाको कारण नभै व्यालेन्स सिट समयमै तयार गर्न नसकेर भएको हो । नेको, प्रिमियर, लुम्बिनीले कोरोनाकै बीचमा गरे, कसैले सहजिकरण गर्न परेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.