बैंकका कर्मचारीको व्यस्तता बढ्यो, फोन गर्दै भन्न थाले ‘२ प्रतिशत व्याज छुट छ, छिट्टै किस्ता हाल्दिनुस् न’

  २०७७ असार २१ गते १७:२७     विकासन्युज

काठमाडौं । असार मसान्त नजकिदै गर्दा बैंक तथा वित्तीय संस्थाका कर्मचारी ऋण लाने व्यक्तिलाई फोन गर्न व्यस्त हुन थालेका छन् । आर्थिक वर्षको अन्त्यमा किस्ता नियमित नउठे आफूहरुको व्यालेन्ससीट नै विग्रने भएकोले ऋणको किस्ता तथा व्याज उठाउन बैंकहरुले ताकेता गरेका हुन् ।

पछिल्लो केही दिनयता बैंकबाट तारन्तार फोन आउन थालेको उद्योगी व्यवसायीले बताएका छन् । चैत मसान्तमा तिर्नुपर्ने किस्ता तथा व्याज पनि असार मसान्तमा तिर्दा हुने व्यवस्था गरिएकोले अहिले बैंकहरुले किस्ता र व्याज उठाउन ताकेता गरेका हुन् ।

‘बैंकबाट फोन आएर हैरान पारिरहेको छ, किस्ता र व्याज जसरी भएपनि हाल्दिनुस् न भन्छन्, सकेसम्म त व्यवस्था गर्दैछौं, केही गरी सकिएन भने के कसो हुने हो भन्ने अनुमानै गर्न सकिएको छैन,’ एक व्यवसायीले भने ।

कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न भन्दै सरकारले चैत ११ देखि देशव्यापी रुपमा लकडाउन जारी गरेको थियो । सरकारले लकडाउन गरेपछि उद्योग, व्यवसाय, व्यापार जस्ता सवै क्षेत्र ठप्प छन् । लकडाउनमा बैंकसम्म जान समस्या भएको र बैंकलाई तिर्ने बुझाउने रकम जोहो गर्न पनि समस्या हुन सक्ने भन्दै चैत मसान्तमा तिर्नु बुझाउनु पर्ने किस्ता तथा व्याज बुझाउने म्याद बढाएर असार मसान्तसम्म पुर्याइएको छ । यसैकारण बैंक तथा वित्तीय संस्थाहरुले असार मसान्तमा ऋण तथा व्याज असुलीलाई उच्च प्राथमिकता दिएका हुन् ।

असार मसान्तमा किस्ता तथा व्याज बुझाउँदा व्याज रकममा २ प्रतिशत छुट पाउने व्यवस्था राष्ट्र बैंकले नै मिलाएको छ । राष्ट्र बैंकले यस्तो छुट रकम भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले आफ्नै स्रोतबाट व्यवस्थापन गर्नुपर्ने भनेको छ । बैंकले ऋणीलाई फोन गर्दा यही सुविधाको विज्ञापन गर्ने गरेका छन् ।

‘सर, असारसम्मको हजुरको किस्ता तथा व्याज रकम यति भएको रहेछ, असार मसान्तअघि नै यो रकम तिर्नुभयो भने यति रकम छुट पाउनु हुन्छ भन्दै बैंकबाट फोन आउँछ, तिर्न सक्ने अवस्था भयो भने त यो राहत उपभोग गर्न पाइन्छ, सकिएन भने असार मसान्तपछि बैंकहरुले कस्तो रणनीति अपनाउँछन्, त्यसैले झन जटिल अवस्था आउने हो कि भन्ने डर पनि लागिरहेको छ,’ अर्का एक व्यवसायीले भने ।

लकडाउनका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको तथा अर्थतन्त्र धराशायी भएको भन्दै सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको छ । लकडाउन खुकुलो भएपनि उद्योग प्रतिष्ठान राम्रोसँग खुल्न सकेका छैनन् । व्यापार व्यवसाय पनि खासै चल्न सकेको छैन । निजी क्षेत्रका कतिपय उद्योग प्रतिष्ठानहरुले आफ्ना कर्मचारीको तलब भत्ता तथा सेवा सुविधा कटौति गरिसकेका छन् । सामान्य अवस्थाको भन्दा आम्दानी कम भएकोले बैंकबाट ऋण लिनेहरुले ऋणको किस्ता तथा व्याज तिर्न गाह्रो भइरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.